• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति

समानान्तर प्रतिवेदन बुझ्न अध्यक्ष ओलीले दिएनन् समय



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबारको सचिवालय बैठकले संगठनात्मक एकीकरण कार्यदल भंग गरेपछि समानान्तर प्रतिवेदन बुझाउने योजना बनाएका कार्यदलका बहुमत सदस्यलाई शनिबार अध्यक्ष केपी ओलीले समय नै दिएनन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समानान्तर प्रतिवेदन बुझ्न आलटाल गरेका हुन् ।

‘शनिबारका लागि समय मागिएको थियो, तर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष व्यस्त बन्नुभएकाले प्रतिवेदन बुझाउन सकिएन,’ कार्यदलका सदस्य लेखराज भट्टले भने, ‘उहाँले समय दिनुभयो भने आइतबार बुझाउँछौँ ।’

केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले कार्यदलको समय थप नगरेपछि असन्तुष्ट बहुमत सदस्यहरूले संयोजक रामबहादुर थापा बादलले बुझाएको प्रतिवेदनको अर्को समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका हुन् । उनीहरूले कार्यदल संयोजक थापा, अर्का सदस्य विष्णु पौडेल र अध्यक्ष केपी ओलीले कार्यदललाई काम गर्नै नदिएर काम गर्न नसकेको आरोप लगाउँदै कार्यदल भंग गरेको आरोप लगाएका छन् ।

नौ सदस्यीय कार्यदलमा थापा र पौडेलसहित योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, शंकर पोखरेल, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र रघुवीर महासेठ सदस्य थिए । शुक्रबारको सचिवालय बैठकले कार्यदल विघटन गरेर पार्टी एकीकरणको बाँकी काम सचिवालयबाटै गर्ने निर्णय गरेको थियो । समानान्तर प्रतिवेदन योगेश भट्टराई, वर्षमान पुन, लेखराज भट्ट, बेदुराम भुसाल र सुरेन्द्र पाण्डेले तयार पारेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।