२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लुट्न सके लुट कान्छा…!’, राजधानीकै अधिकांश सडक क्षतिग्रस्त



अ+ अ-

काठमाडौं । ‘लुट्न सके लुट कान्छा ‘। !’ हामीले आफ्नो परिचय दिने बित्तिकै किराना पसलका साहुजी बद्री अधिकारीले यो गीतबाट कुराकानी सुरु गरे । ग्रान्डी हुँदै टोखा रोड जाने उनको पसलअगाडिको बाटोमा खानेपानी र ढलको पाइप फुटी लगभग ७ देखि १० मिटर पानी जमेर तलाउ बनेको महिनौं बितिसक्यो ।

बाटो हुँदै गुड्ने गाडीले उनको पसलभित्र पुग्ने गरी हिलो छ्याप्छन् । ढल मिसिएको पानीका कारण दुर्गन्ध पनि त्यत्तिकै फैलिएको छ । तर, यसबारे सम्बन्धित निकाय मौन छ । ‘हामी ५० हजारका पसल थाप्नेका कुरा कसले सुन्ने रु’ आक्रोस व्यक्त गर्दै उनले प्रश्न गरे, ‘हिलो र दुर्गन्धका कारण व्यापार नै बन्द हुने अवस्थामा पुगेको छ । यसबारे सम्बन्धित सबै निकायमा ध्यानाकर्षण गराएको पनि धेरै समय भयो तर कसैले कहीँबाट पनि यसमा ध्यान दिएनन् । अब त आस गर्न छाडिसक्यौं ।’

यो क्षेत्र टोखा नगरपालिकाअन्र्तगत पर्दछ । नगरपालिका यो सडकखण्ड सडक विभाग मातहतमा पर्छ भन्दै पन्छिन खोज्छ । यो सडकखण्डमा धेरैपटक समस्या आइसकेको छ । नगरपालिकाले पटक पटक मर्मतसम्भार पनि गर्दै आएको छ । तर, समस्या जस्ताको त्यस्तै छ । यो सडक भएर अहिले पनि हिँडडुल गर्न समस्या छ । यो सडकलाई पक्की बनाउन तथा सडक निर्माण गरी ढल मर्मतका लागि काठमाडौं महानगरपालिकाले १ करोडमाथिको बजेट व्यवस्था गरेर आवश्यक प्रक्रिया अगाडि बढाइसकेको महानगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । उनका अनुसार नगरपालिकासँग तत्काल धुलोधुवाँ नियन्त्रण गर्न त्यस्ता योजना छैन । बाटो मर्मत, निर्माण र विस्तारका काम भने भइरहेको उनले बताइन् । तर पनि कतिपय स्थानमा वर्षौंदेखि सडक निर्माण कार्य अलपत्र अवस्थामा छाडिएका छन् । टोखा नगरपालिकाले सडक निर्माण कार्यलाई विभिन्न भागमा विभाजन गरी ४ देखि १० मिटरसम्मका सडकको मापदण्ड बनाएर काम गरिरहेको छ । यस नगरपालिकाअन्तर्गत वडा नम्बर २, ३, ६, ९, ४ लगायतमा सडकको समस्या छ ।

– छैनन् धुलोधुवाँ नियन्त्रणका योजना
– विस्तार, मर्मत र निर्माण नै अलपत्र
– सडकमा छैनन् फुटपाथ र सडकबत्ती
– असरल्ल फोहोर र ढल खोलामा मिसाइन्छ

‘दुई वर्षभन्दा बढी बितिसक्यो, यो सडकको अवस्था दुरुह छ, हिलो र धुलोको सास्तीको कुरा नगरौं १’ नेपालटारमा टेलर पसल सञ्चालन गरेका ओसी अत्तरको गुनासो छ । मुख्य सडक छाड्नेबित्तिकै सुरु हुने यस क्षेत्रका अधिकांश सडकको हालत लगभग उस्तै छ । तारकेश्वर नगरपालिकाअन्तर्गत पर्ने यस क्षेत्रमा वर्षौंदेखि उप्किएका र उप्काइएका कालोपत्रे सडकको अवस्था पनि लगभग उस्तै छ । नगरपालिकाका अनुसार यो सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । रिङरोडबाहिरका नगरपालिकामा अझै पक्की सडक पुगेका छैनन् । भएका समेत विस्तारका नाममा भत्काइएका छन् र वर्षौंदेखि अलपत्र छन् । यसबाट स्थानीयवासी, यात्रु र सवारी चालकसमेत मर्कामा पर्ने गरेका छन् । तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहराका अनुसार नगरपालिकाले बाटो विस्तार गर्ने योजना अगाडि सारेको छ र सोही अनुरूप काम पनि भइरहेको छ । धुलो धुवाँ नियन्त्रणका लागि तत्काल केही गर्न सक्ने अवस्था छैन । नगरपालिकाले प्रदेश सरकारको सहकार्यकमा धुलो हटाउने ब्रुमर ल्याउन प्रयास गरिरहेको उनले बताए । तर, यसका लागि सडकको अवस्था ब्रुमर लगाइहाल्न मिल्ने बनिसकेको छैन । वडा नम्बर १, २, ३, ८, ९, ११, १६ र १७ मा अधिकांश सडक कच्ची रहेका छन् ।

लोलाङ, फुटुङ, काभ्रेस्थली, गोलढुंगा, टोखा, सितापाइला, रामकोट, शेषमती, पैंयाटारको दूरवस्था
विभिन्न समस्याबाट जेलिएका राजधानीवासीलाई त्यसबाट मुक्ति दिलाउनका लागि सम्बन्धित निकायलाई जवाफदेही बनाउने उद्देश्यले राजधानीले सुरु गरेको ‘निगरानी’ प्रभावकारी बन्दै गएको छ । चक्रपथ क्षेत्रभन्दा बाहिरका समस्यालाई समेत उजागर गरिदिन स्थानीयवासीले गरेको आग्रहलाई स्वीकार गर्दै हामीले रिङरोड बाहिरको जनकेन्द्रित समस्यालाई यस शृंखलामा उजागर गरेका छौं । यसै विषयलाई लिएर हामीले लोलाङ, फुटुङ, काभ्रेस्थली, गोलढुंगा, टोखा सितापाइला, रामकोट, शेषमती, पैंयाटारलगायत पछिल्लो समय सहरीकरणका कारण तीव्र बस्ती विस्तार भइरहेका विभिन्न स्थानको स्थलगत निगरानी गरेका थियौं । ती सबै स्थानको अवस्था भद्रगोल रहँदा पनि सम्बन्धित निकाय भने मौन भएको पाइयो ।,

विभिन्न सेवा सुविधाका कारण सम्पन्न मानिने काठमाडौंको चक्रपथभित्रलाई मात्र राजधानी मान्ने मनोविज्ञान धेरैमा छ । पछिल्लो समय यस क्षेत्रमा बढ्दै गएको घना बस्तीका कारण यी क्षेत्रमा बस्ती विस्तारको क्रम तीव्र बन्दै गएको छ । रिङरोडपारिका नगरपालिकाको अवस्था कुनै दुर्गम भेगको भन्दा कम छैन । निर्माण र मर्मतकै चरणमा रहेका यस सडकमा थुपारिएका निर्माण सामग्री पनि ठूलो समस्याका रूपमा देखिएको छ । काला र धमिला भएर ढल मिसिएका खोला बगिरहेका हुन्छन् । सडकमा खाल्डाखुल्डी अनगिन्ती छन् । सामान्य घामपानीसमेतले जनजीवनमा व्यापक असर पार्दछ । खोलाका छेउमा फोहोर फालिएका छन् भने बिजुलीका पोलछेउमा पनि फोहोर थुपारिएका भेटिन्छन् । मानौं त्यहाँ फोहोर व्यवस्थापन गर्ने कुनै निकाय नै छैनन् ।

सामान्य पूर्वाधार अभाव

चक्रपथबाहिरका सडकको अवस्था अत्यन्तै नाजुक छ । हामीले अनुगमन क्रममा अधिकांश सडक साँघुरा र जीर्ण अवस्थामा पायौं । निर्माणकै चरणमा रहेका सडकमा बुङबुङ्ती धुलो उडिरहेका हुन्छन् । यी क्षेत्रमा पानी पर्ने बेलाको हालत अझ दुरुह छ । चक्रपथबाहिर आक्रामक रूपमा विस्तार भइरहेको बस्ती विस्तारका कारण घर निर्माण, प्लटिङ र नदी नियन्त्रण तथा ढल निकासका काम भइरहेका छन् । यी क्षेत्रका खोलानालाका बालुवा अवैध रूपमा निकालिएको स्थानीयवासीको आरोप छ । जति बनेका छन्, त्यसमा पनि न्यूनतम पूर्वाधारको अभाव देखिन्छ । सडक बत्ती, फुटपाथ, व्यवस्थित ढललगाायतका समस्या टड्कारो देखिन्छ ।

खोलामै ढल र असरल्ल फोहोर

नयाँ बस्ती विस्तारका क्रममा समेत यस क्षेत्रमा सुधार गर्न सकिने तथा वातावरणीय पक्षलाई ध्यान नदिएको देखिन्छ । यही क्षेत्र भएर बग्ने विष्णुमती, साङलाखोला, महादेवखोलालगाायतका खोलामा छेउछाउ फोहोर फालिएका छन् । ढल व्यवस्थापनका क्रममा ढल खोलामा नै मिसाइएको छ । जसका कारण दुर्गन्ध फैलिएको छ । बस्ती बढ्दै जाँदा थपिने चुनौतीका कारण समेत समस्या पर्ने देखिन्छ । राजधानी दैनिकमा खबर छ ।