१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको कीर्तिमानी ८००औं गोल, म्यानचेस्टर युनाइटेड विजयी



अ+ अ-

फुटबल खेलका विश्वप्रसिद्ध खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो नाममा फेरि अर्को कीर्तिमान राखेका छन् ।

हाल म्यान्चेस्टर युनाइटेडका फर्वार्ड रोनाल्डोले बिहीबार इङलिस प्रिमियर लिगमा आर्सनल विरुद्ध २ गोल गरेर देश र क्लबका लागि ८००औं गोलको कोशेढुंगा पार गरेका छन् ।
 
बिहीबार राति भएको खेलमा आर्सनललाई युनाइटेडले संघर्षपूर्ण रुपमा ३–२ ले हराएको थियो । यो जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लेको छ । केही हप्तादेखि कमजोर प्रदर्शन गरेर एकपछि अर्को खेल हार्दै आएको युनाइटेडले पछिल्ला दुई खेलमा जित निकालेको छ ।

टिमका प्रमुख प्रशिक्षक ओले गुनार सोल्सारलाई बर्खास्त गरेको युनाइटेडले हालै मात्र च्याम्पियन्स लिगको खेलमा विजयी भएर अन्तिम १६ मा स्थान बनाएको छ भने लिगमा निकै प्रभावशाली खेल प्रस्तुत गरिरहेको आर्सनललाई पराजित गरेको छ ।

तर शुरुआती अग्रता आर्सनलले लिएको थियो । आर्सनलका लागि इमिल स्मिथ रोकोले १३ औं मिनेटमै गोल गरेका थिए । तर ब्रुनो फर्नान्डेजले ४४औ मिनेटमा म्यानचेस्टरका लागि बराबरी गोल फर्काए । रोनाल्डोले लगत्तै ५२ औं मिनेटमा युनाइटेडका लागि दोस्रो गोल गरे ।

तर मार्टिन ओडगार्डले ५४औं मिनेटमा गरेको गोलले आर्सनल खेलमा फेरि फर्केको थियो । खेल सकिन २० मिनेट अगाडि ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गरे र टिमको जित निश्चित गरे । यो जितपछि म्यानचेस्टरको २१ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ ।

बिहीबारकै अर्को खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २–० ले हरायो ।