काठमाडौँ । सरकारले चन्द नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्धित घोषणा गरेसँगै प्रहरीले देशव्यापी सुरक्षा सतर्कता बढाएको छ । प्रहरी स्रोतका अनुसार दुर्गम भेगका प्रहरीचौकीमा आक्रमण हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन निर्देशन दिएको छ ।
त्यस्तै, राजधानी र देशका सबैजसो मुख्य सहरमा गस्ती, चेकजाँच र प्रहरी परिचालन बढाइएको छ ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार सादा पोसाकका प्रहरीको परिचालन बढाइएको छ भने सूचना संकलनलाई तीव्रता दिइएको छ । प्रहरीले चन्द समूह सम्बद्धहरूको सूची तयार पार्ने, प्रत्यक्ष संग्लनलाई पक्राउ गर्ने र सदाशय राख्नेमाथि निगरानी गर्ने नीति लिएको छ ।
कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार संवेदनशील स्थानमा निगरानी, नियमित जाँच र सरप्राइज जाँच सुरु गरिएको र गस्ती बढाइएको बताए । उनले भने, ‘काठमाडौं छिर्ने र बाहिरिने नाकामा जाँच र सादा पोसाकका प्रहरी परिचालन बढाइएको छ ।’