१४ आश्विन २०८१, सोमबार
,
Latest
कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोसेफिन बेकर : एक नर्तक र जासुसको असाधारण कथा



अ+ अ-

मङ्गलबार अर्थात यही मङ्सिर १४ गते जोसेफिन बेकरको सम्झनामा पेरिसमा एक सम्मान समारोहको आयोजना गरियो । भोल्तेयरदेखि लिएर भिक्टर ह्युगो र मेरी क्युरीदेखि लिएर जिन ज्याक रुसोजस्ता फ्रान्सेली संस्कृतिको गौरवशाली महान परम्पराहरुलाई संरक्षित गरिएको स्थानमा सो कार्यक्रम गरिएको थियो । 

बेकरभन्दा पहिला अहिलेसम्म यस्तो सम्मान मात्र पाँच महिलालाई प्राप्त भएको छ । साथै एक अश्वेत महिलाको नाममा यस्तो सम्मान दिएको यो पहिलो पटक हो । 

बेकर मूलरुपमा अमेरिकी थिइन् । आज पनि उनलाई उनको उत्तेजक र सम्मोहक नृत्य प्रदर्शनका हिसाबले चिनिन्छ । नृत्यमा उनी व्यावहारिकरुपमा नग्न देखिन्थिन् । यस्तोमा उनको नाम फ्रान्सको सबैभन्दा धेरै सम्मानित र श्रेष्ठ नायकहरुमा कसरी समावेश गरियो ? 

बेकरको पूरा र वास्तविक नाम फ्रेडा जोसेफिन म्याकडोनाल्ड थियो । अहिले पनि उनको नाम २०औँ शताब्दीको पूर्वाद्धको सबैभन्दा प्रसिद्ध सांस्कृतिक आइकनमध्येको एक हो । बेकर एक नर्तक मात्र थिइनन् । द्वितीय विश्वयुद्धको समयमा उनी एक नायिकाका रुपमा आइन् र त्यसपछि उनको व्यक्तित्वको अर्को रूप संसारले नागरिक अधिकार कार्यकर्ताको रूपमा देख्यो ।

आफ्नो सम्पूर्ण जीवनमा बेकरले विभिन्न प्रकारका चुनौतीहरुको सामना गरिन् र ती चुनौतीलाई पार लगाइन् । सांस्कृतिक चुनौतीदेखि लिएर जातीय विभेदको चुनौती… हरेक चुनौतीलाई उनले डटेर सामना गरिन् । 

गरिबीदेखि सेलिब्रेटी बन्दासम्मको यात्रा 

बेकरको जन्म ३ जुन १९०६ मा सेन्ट लुइस, मिसौरीमा भएको थियो। उनको बाल्यकाल समस्यामा बित्यो । उनका पिता ड्रम बजाउने काम गर्थे । जतिबेला बेकर अत्यन्त सानी थिइन् उनको पिताले आफ्नो परिवार छोडिदिए । त्यसपछि उनकी आमा (जो आधा अश्वेत थिइन्) ले आफ्ना बालबच्चा पाल्नका लागि कपडा धुने काम गर्न थालिन् । 

परिवारको परिस्थिति यस्तो थियो कि सानी बेकरले आठ वर्षको उमेरमा काम गर्नुपर्यो । यस क्रममा उनले धेरै दुःख पाइन् । १४ वर्षकी हुँदा उनी विवाहित भइन् र दुई पटक अलग भइन्। उनले आफ्नो दोस्रो पतिबाट आफ्नो नामसँग जोडिएको उपनाम ‘बेकर’ थर पाइन्।

किशोरावस्थामा उनको अवस्था यति दयनीय थियो कि उनी सडकमा बाँच्न बाध्य भइन्। भोक मेटाउन उनी फोहोरमै फ्याँकिएको खानेकुरामा भर परिन् ।

एक पटक उनले उनी सेन्ट लुइसको सडकमा रहेको र अत्यन्त चिसो भएको बताएकी थिइन् । उनीसँग चिसोसँग बच्नका लागि कुनै साधन थिएन त्यसैले उनले नृत्य गर्न थालिन् । तर उनीसँग प्रतिभा र केही अनौठो पनि थियो, जादु जस्तै । जसका कारण उनी पहिलो पटक वाउडेभिल समूहमा सामेल भइन् । त्यसपछि एउटा नृत्य समूहको हिस्सा बनिन् । सो समूहको नाम द डिक्सी स्टेपर्स थियो । यही नृत्य समूहका कारण उनी सन् १९१९ मा न्यूयोर्क जान प्रेरित भइन् ।

त्यसपछि उनको जीवनमा एउटा महत्वपूर्ण मोड आयो । उनको भेट नयाँ प्रतिभाहरुलाई अवसर दिने एक व्यक्तिसँग भयो जो एक म्यागेजिन शोका लागि कलाकारहरु खोजिरहेका थिए । पेरिसमा या पहिलो शो थियो जुन विशेषगरी अश्वेत मानिसहरुसँग गर्न लागिएको थियो । बेकर हरेक महिना एक हजार डलर पाउने वाचा लिएर फ्रान्स आइपुगिन् । यहाँबाट उनको जीवन सधैँ सधैँका लागि परिवर्तन भयो । 

द बनाना डान्स

सन् १९२६ अप्रिलको एक दिन बेकरले विख्यात फोलिस बर्जेरमा प्रदर्शन गरिन् । त्यो समय उनको उमेर १९ वर्षको मात्र थियो । त्यहाँ उनको अनौठो प्रदर्शनले जनतालाई चकित पारेको थियो । 

बेकरले मोती मात्र लगाएकी थिइन् । ब्रा र केराबाट बनाइएको स्कर्टमा चमकिलो पत्थर लगाइएको थियो । आफ्नो उत्तेजक नृत्यले उनले मानिसहरुको होश नै उडाइदिइन् । सो नृत्य प्रदर्शनको उद्घाटन कार्यक्रममा बेकरले त्यस रात १२ वटा स्ट्यान्डिङ ओभेसन प्राप्त गरिन् । बनाना डान्सले उनलाई रातारात सेलिब्रेटी बनाइदिएको थियो ।

उनले थिएटरमा अभिनय र नृत्य मात्र गरिन् । चार वटा फिल्म पनि गरिन् । उनी "मरमेड ऑफ द ट्रॉपिक्स" (1927), ज़ूज़ौ (1934), प्रिंसेस टैम टैम (1935) र फॉसे अलर्ट (1940)  मा देखा परिन्। त्यतिबेला अश्वेत कलाकार फिल्ममा आउनु सामान्य कुरा थिएन ।

क्यालिफोर्निया विश्वविद्यालयको अफ्रिकी र अफ्रिकन–अमेरिकन अध्ययन अनुसन्धान केन्द्रका निर्देशक, जीवनीकार बेनेटा जुल्स रोजेटले भनिन्, ‘उनले जे हासिल गरेकी थिइन्, यदि उनी अमेरिकामा बसेकी भए, उनले अश्वेत महिलाका रुपमा उनले त्यो हासिल  गर्ने थिइनन् ।’ रोजेटका अनुसार बेकरको बारेमा सबैभन्दा महत्त्वपूर्ण कुरा यो थियो कि उनले कहिल्यै सोचिनन् कि उनको लागि केही असम्भव छ।

बहादुर बेकर

बेकर स्टेजमा वा आफ्नो प्रदर्शनका समयमा निडर र बहादुर मात्र हुँदिनथिइन्, उनी आफ्नो जीवनमा पनि त्यति नै बहादुर थिइन् । धेरै मानिस उनलाई फेसन आइकनका रुपमा सम्झिन्छन् तर धेरै मानिस उनलाई अर्को कारणले पनि सम्झिन्छन् । फ्रान्सको राजधानीको खुला सडकहरुमा जब उनी घरपालुवा जनावरसँग हिँड्थिन, अरुको ध्यान तिनीहरुमा रोकिन्थ्यो । उनको साथमा घरपालुवा चितुवा पनि थियो ।

द्वितीय विश्वयुद्धमा जासुसी

दोस्रो विश्वयुद्ध सुरु भएपछि बेकरले आफ्ना महँगा वेशभूषालाई त्यागिदिइन् र सैन्य पोशाक लगाइन् । लामो समयसम्म चलेको सङ्घर्षका क्रममा उनले फ्रेन्च एयरफोर्स विमेन अक्जिलरीमा सेकेन्ड लेफ्टिनेन्टका रुपमा काम गरिन् । तर जसै उनी निडर थिइन्, उनले आफ्नो प्रसिद्धिको फाइदा उठाएर जासुसी पनि गरिन् । 

आफ्नो सम्पर्क र प्राप्त हुने निमन्त्रणाको फाइदा उठाउँदै उनले दुश्मन सेनाका गतिविधिहरुको बारेमा जानकारी हासिल गरिन् । उनको यो योगदानका लागि उनलाई चाल्र्स दि गर्लद्वारा लेजन अफ अनर र मेडल अफ रेसिस्टेन्सबाट सम्मानित गरिएको थियो । 

नागरिक अधिकारका लागि आवाज

बेकरले नागरिक अधिकारका लागि पनि काम गरिन् । तत्कालीन महान्यायाधिवक्ता रोबर्ट केनेडीको सहयोगमा सन् १९६३ मा अमेरिका फर्केपछि उनले नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किङसँग वासिङ्टनको प्रसिद्ध मार्चमा पनि भाग लिएकी थिइन् ।

सैन्य पोशाक लगाएकी उनी एक मात्र महिला थिइन् जसले जनतालाई सम्बोधन गरेकी थिइन् । 

अन्तिम समय 

आफ्नो समयमा विश्वको सबैभन्दा धनी अश्वेत महिला बनेकी बेकर जीवनको अन्तिम वर्षतिर टाट पल्टेकी थिइन् ।
सन् १९७५ मा हृदयाघातका कारण उनको निधन भयो । उनको अन्त्येष्टिका क्रममा सैनिक सम्मानका साथ बिदाइ गरिएको थियो । 
साभार : बिबिसी हिन्दी