१८ माघ २०८१, शुक्रबार
,
Latest
अध्यक्ष राउतको आरोपः संसदको साँचो सरकारसँग हुँदो रहेछ, सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ उपसभापति वाग्लेद्वारा संसदीय छानबिन समिति गठनको माग भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत् आपूर्ति दिन सुरु मुलुकमा आशा र विश्वास जगाउन आवश्यकः अध्यक्ष राई दुई तिहाईको सरकार छ भन्दैमा मनलाग्दी गर्न पाइँदैनः वरिष्ठ उपाध्यक्ष पाण्डे भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध संयुक्त प्रदर्शन माईतीघरमा आवासीय चिकित्सकहरुको प्रदर्शन शनिबार तीन इजरायली बन्धक रिहा हुँदै गायिका एलिना चौहानबाट सम्वन्ध विच्छेद मुद्दा दर्ता भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागेको छः अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षमा बलात्कारका १३ हजार घटना



अ+ अ-

महिला हिंसाविरुद्धको १६ दिने अभियान : पछिल्ला पाँच वर्षमा महिलामाथि भएका हिंसाका १८ हजार ४२३ उजुरी प्रहरीमा पुगेका छन्, सबैभन्दा धेरै हुने घरेलु हिंसाका घटना त प्रहरीमा नगण्य मात्र दर्ता हुन्छन्, बलात्कारका घटना सबैभन्दा बढी छन्, तर अधिकांश घटना ठूलाबडाले मिलापत्रका नाममा गाउँमै दबाउँछन् भने प्रहरीसम्म पुगेका घटनामा पनि गतिलो अनुसन्धान हुँदैन 

घटना १ : घरभित्रै सौतेला बाबुबाट बलात्कृत छोरी न्यायको पर्खाइमा

शारीरिक रूपमा अशक्त ललितपुरकी १६ वर्षीया समृद्धि शर्मा (परिवर्तित नाम)लाई सौतेला बुबाले अगाध माया देखाउँथे । छोरीप्रति श्रीमान्को प्रेम देखेर आमा सरस्वती (परिवर्तित नाम) दंग थिइन् । तर, गत चैतको पहिलो साता जब छोरी समृद्धि उनै सौतेला बुबाबाट पटक–पटक बलात्कृत भएको रहस्य थाहा पाइन्, उनी छाँगाबाट खसेझैँ भइन् । लगनखेलमा कफीसप चलाएर परिवार पाल्ने सरस्वती पसलमा छँदा श्रीमान् र छोरी घरमै हुन्थे । त्यही मौका छोपेर सौतेला बुबाले समृद्धिलाई बलात्कार गर्थे । आमाको जाहेरीपछि सौतेला बुबालाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेको छ । 

घटना २ : श्रीमानकै साथीले दिल्ली पुर्‍याएर कोठीमा बेचिदिए 

नुवाकोट दुप्चेश्वरकी २१ वर्षीया बबिना श्रेष्ठ (परिवर्तित नाम)लाई श्रीमान् रक्सी पिएर यातना दिइरहन्थे । श्रीमान्का साथी नुवाकोट दुप्चेश्वर–६ का जान्द्रे भनिने रामबहादुर तामाङ उनीहरूको पारिवारिक कलहबारे जानकार थिए । श्रीमान्ले नै जान्द्रेसँग बबिनालाई चिनजान गराएका थिए । त्यसको फाइदा उठाउँदै जान्दे्रले बबिनालाई राम्रो जागिरको प्रलोभन देखाए । फकिएकी बबिना घर छाडेर उनैसँग काठमाडौं हिँड्न राजी भइन् । केही समय काठमाडौंको जमलस्थित एक पुस्तक पसलमा काम लगाइदिए । बबिनाको पूरै मन जितेपछि उनले थप धन कमाउने प्रलोभन देखाएर भारतको दिल्ली पुर्‍याए । ०७४ साउनको अन्तिम साता उनलाई जिबीरोडको ५९ नम्बर कोठीमा एक लाख रुपैयाँमा बेचिएको थियो । चार वर्षपछि परिवारको सहयोगमा उद्धार भएर नेपाल फर्किएकी उनले गत १७ वैशाखमा प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले जान्दे्रलाई पक्राउ गरेको छ । तर, बबिनाले न्याय अझै पाइसकेकी छैनन् ।

घटना ३ : बोक्सीको आरोपमा श्रीमान् र झाँक्रीबाट चरम यातना

गत १८ भदौको साँझ ललितपुर, लुभुकी ३३ वर्षीया सुष्मा श्रेष्ठलाई अचानक पेट दुख्यो । श्रीमान् जितेन्द्र महर्जनले अस्पताल लैजानुको साटो भूतप्रेत लागेको भन्दै ठूलो भ¥याङस्थित झाँक्रीकहाँ लगे । झाँक्रीले सुष्माको शरीरमा बोक्सी उत्रिएको बताए । झाँक्री र श्रीमान् मिलेर उनलाई कोठामा थुने र शरीरमा तातोपानी खन्याए । मान्छे र कुकुरको मलमूत्र ल्याएर मुखमा कोच्याए । दुई दिनसम्मको यातनाबाट उम्किएकी सुष्मा माइती घर पुगिन् । बोक्सीको आरोपमा श्रीमान्बाटै यातना भोग्नुपरेको तथ्य बल्ल बाहिरियो । घटनामा जितेन्द्रसहित ललितपुर लुुभुकै दीपेन तामाङ भनिने दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे सहभागी थिए । प्रहरीले चारैजनालाई पक्राउ गर्‍यो । तर, पििडतले अझै न्याय पाएकी छैनन् ।

घटना ४  : पहिलो श्रीमानले गाउँमा बेचे, दोस्रोले दिल्लीमा 

नुवाकोट दुप्चेश्वरकी ३४ वर्षीया सम्झना तामाङ (नाम परिवर्तन)ले दुईपटक विवाह गरिन् । तर, दुवै विवाह उनका लागि अभिशाप बन्यो । पहिलो विवाह उनले दुप्चेश्वरकै नवीन तामाङसँग गरिन् । पाँच सन्तान जन्मे । त्यसपछि नवीन र सम्झनाबीच खटपट हुन थाल्यो । उनीहरूको झगडामा दुप्चेश्वरकै पासाङ शेर्पा प्रवेश गरे । सम्झनालाई सुखले पाल्ने आश्वासन दिँदै फकाउन थाले । नवीनले एक लाख ६० हजार ‘जारी रकम’ लिएर पासाङलाई बेचिदिए । बेचिएको थाहा नपाएकी सम्झनाले पासाङबाट सुख पाउने आशा गरेकी थिइन् । तर, पासाङले पनि सम्झनालाई ०७२ मा दिल्ली पुर्‍याएर बेचिदिए । भारतीय प्रहरी र क्याटलिस्ट नामक गैरसरकारी संस्थाको सहयोगमा गत ३१ जेठमा नेपाल फर्केकी उनी शक्ति समूहको संरक्षणमा न्यायको पर्खाइमा छिन् । 

…                                                              …

महिलामाथि हुने जघन्य अपराधका घटना हरेक वर्ष बढिरहेका छन् । घरभित्रै पनि महिला असुरक्षित बनिरहेको तथ्यले झन् डरलाग्दो चित्र देखाउँछ । पछिल्ला पाँच वर्षमा महिला हिंसाका १८ हजार चार सय २३ घटना प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये बलात्कारका उजुरी मात्रै १३ हजार १७ छन्, जुन समग्र उजुरीको ७०.६५ प्रतिशत हो । ०७३/७४ देखि ०७७/७८ सम्म जबर्जस्ती करणीतर्फ नौ हजार पाँच सय ३० र जबर्जस्ती करणी उद्योगतर्फ तीन हजार चार सय ८७ उजुरी दर्ता भएको प्रहरी तथ्यांक छ ।

महिला हिंसाका घटनाका पीडितले न्याय पाउने सम्भावना निकै कम हुन्छ  : मोहना अन्सारी, महिला अधिकारकर्मी 

देशभर महिला हिंसाका जति घटना हुन्छन्, त्यसमध्ये निकै कम मात्रै प्रहरीकहाँ पुग्छन् । प्रहरीले घटनाको अनुसन्धान गर्छ । तर, पीडितलाई त्यसवेलासम्म विविध माध्यमबाट दबाबमा पारिएको हुन्छ । कतिपय मुद्दा प्रहरी कार्यालयबाटै मिलापत्रमा टुंग्याइन्छन् । दर्ता भए पनि प्रहरीकै तजबिजमा हुने गर्छ । मुद्दा सरकारी वकिल कार्यालय हुँदै अदालतसम्म बल्लतल्ल पुग्छ । थुनछेक बहसका क्रममा अधिकांश मुद्दाका पीडित पुनः दबाबमा पारिन्छन् । यस्तो अवस्थामा पीडितले न्याय पाउने सम्भावना अत्यन्तै कम हुन्छ । अहिलेसम्मको मेरो अनुभवले त्यही भन्छ ।

प्रहरीकाअनुसार दैनिक औसत ६ महिला तथा बालिका बलात्कृत हुने गरेका छन् । तर, बलात्कारजस्तो जघन्य अपराधका घटनामा संलग्नलाई समेत सहजै कारबाही हुँदैन, न्याय माग्न आन्दोलनमा उत्रिनुपर्ने अवस्था छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि परिवार, स्थानीय र अधिकारकर्मीले लामो आन्दोलन गरे । तर, प्रहरीले अझै दोषी पत्ता लगाउन सकेको छैन । 

राज्यका संरचनामा महिलाको प्रतिनिधित्व सुदृढ बन्दै गए पनि महिलाविरुद्धका हिंसामा कमी नआउनु बलात्कार र हत्यापछि पीडक कानुनसँग नडराउनु नै मुख्य कारक रहेको बताउँछिन्, समाजशास्त्री मीना उप्रेती । ‘बलात्कारपछि हत्या गर्ने घटना बढ्दै गएका छन् । पीडक पहिचान भइसकेपछि पनि कारबाहीको दायरामा आउँदैन । बलात्कार र हत्याजस्ता जघन्य अपराध पनि राजनीतिक दबाबमा क्षम्य हुन थालेपछि हिंसाका घटनाले प्रश्रय पाएका छन्,’ उनले भनिन् ।

बलात्कारपछि बहुविवाहका घटना धेरै छन् । यो अवधिमा देशभर तीन हजार ६ सय ५२ बहुविवाहका घटना भएका छन्, जुन कुल घटनाको १९.८२ प्रतिशत हो । जबकि, कानुनले पहिलो श्रीमतीसँग छोडपत्र गरेपछि मात्रै अर्को विवाह गर्न पाउने अधिकार दिएको छ । तर, एउटासँग घरबार हुँदाहुँदै अर्की श्रीमती भिœयाउनेको संख्या उल्लेख्य रहेको तथ्यांकले देखाउँछ । महिला हिंसाको तेस्रो नम्बरमा बेचबिखनका घटना छन् । पाँच वर्षमा महिला बेचबिखनका एक हजार ६८ घटना प्रहरीमा दर्ता भएका छन् । यो कुल घटनाको ५.७९ प्रतिशत हो । 

बालविवाहका घटना तीन सय २६ वटा दर्ता भएका छन् । खासगरी तराई क्षेत्रमा बालविवाह बढी हुने गरेको छ । कानुनले २० वर्ष नपुगी विवाह गर्न बर्जित गरेको छ । पाँच वर्षमा बोक्सी आरोपमा महिलामाथि भएको जघन्य अपराधका दुई सय १० उजुरी दर्ता भएका छन् । अप्राकृतिक मैथुनका एक सय ३२ र यौन दुर्व्यहारका ८ उजुरी दर्ता भएका छन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवर महिला हिंसासम्बन्धी अपराध प्रत्येक दिन बढ्दै गएको बताउँछन् । यसमा पनि यौनजन्य अपराध धेरै भएको उनको भनाइ छ । ‘महिला हिंसासम्बन्धी अपराध दैनिकजसो बढेको पाइएको छ । त्यसमा पनि यौनजन्य अपराधका घटना धेरै भएको देखिन्छ,’ उनले भने । पहिले हिंसा भए पनि प्रहरीसम्म कमै उजुरी पुग्थे । अहिले जनतामा आएको चेतना र प्रहरी सक्रियताका कारण उजुरी बढेको कुँवरको भनाई छ । 

गाउँघरमै दबाबमा गुपचुप पारिएकाबाहेक प्रहरीसम्म आइपुगेका बलात्कारका घटनाको तथ्यांकले यौनजन्य हिंसा हरेक वर्ष बढेको देखाउँछ । ०७३/७४ मा देशभर एक हजार ६ सय ६८ बलात्कारका घटना भएकामा ०७४/७५ मा दुई हजार दुई सय सात घटना प्रहरीमा दर्ता भएका थिए । ०७५/७६ मा अझै बढेर तीन हजार २४ घटना दर्ता भएका छन् । ०७६÷७७ मा दुई हजार आठ सय ३१ उजुरी दर्ता भएकामा ०७७/७८ मा तीन हजार दुई सय ८४ घटनाको उजुरी परेका छन् । प्रहरी तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिनाको अवधिमा मात्रै झन्डै एक हजार बलात्कारका मुद्दा दर्ता भइसकेका छन् । 

पहिले घटना दबाएर राखिन्थ्यो, अहिले अधिकांशले कानुनी उपचार खोज्छन् : एसएसपी वसन्त कुँवर, प्रवक्ता, नेपाल प्रहरी

 

महिला हिंसासम्बन्धी अपराध दैनिकजसो बढेको छ । पहिले पनि हिंसा हुन्थ्यो, तर दबाएर राखिन्थ्यो । प्रहरीको सक्रियता र जनतामा आएको चेतनाका कारण अहिले अधिकांशले कानुनी उपचार खोज्न थालेका छन् । घटना सतहमा आएइरहेका छन् ।

बालविवाह र बहुविवाहका घटना पनि बढेका छन् । ०७७/७८ देखि हालसम्म नौ सय ४४ बहुविवाह र ९६ वटा बालविवाहका घटना भएका छन् । यो अवधिमा ८० महिलामाथि बोक्सीको आरोपमा हिंसा भएको छ । ४५ जनाले अवैध गर्भपतन गर्नुपरेको छ भने ४३ जना जातीय छुवाछुत र तीन सय २६ बालिका यौन दुव्र्यवहारमा परेका छन् । 

प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन विभिन्न कार्यक्रम गरी लैंगिक हिंसाविरुद्धकोे अभियान विश्वभर मनाइँदै आएको छ । ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान यसपटक पनि सुरु भएको छ । तर, नेपालमा महिला हिंसाको ग्राफ प्रत्येक वर्ष उकालो लागिरहेको प्रहरी तथ्यांकले देखाउँछ । महिलाविरुद्ध विद्यालय, कार्यस्थल, सार्वजनिक स्थल र परिवारभित्रै दैनिक हिंसाका घटना भइरहेका छन् ।

हिंसाका घटनामा दोषीलाई कारबाही र कानुन कार्यान्वयनका लागि सरकारमाथि दबाब बढिरहे पनि अनुसन्धान र अपराधी पहिचानमा लाग्ने समयले पीडितलाई थप कष्ट दिने महिला अधिकारकर्मीहरू बताउँछन् । ‘महिला हिंसाबारे समाजको दृष्टिकोण संवेदनहीन बन्दै गएकोजस्तो देखिन्छ । जस्तै, कुनै हिंसापीडितको तस्बिर वा तथ्य सामाजिक सञ्जालमा राख्दा सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया धेरै आइरहेका हुन्छन् । बलात्कारपछि हत्याजस्ता घटनामा समाजको संवेदना मात्र रहन्छ, तर हरेक दिन त्यही प्रकृतिका घटना दोहोरिँदासमेत न्यायिक पक्ष जिम्मेवारीबाट चुकेको छ,’ समाजशास्त्री उप्रेतीले भनिन् । 

बलात्कारबाहेक धेरैजसो हिंसाका घटना कार्यस्थल र परिवारभित्रै हुने गरेको पछिल्ला अध्ययनले देखाएका छन् । हिंसामा परेका बालिकाहरू त्यसबारे कसरी र कसलाई व्यक्त गर्ने भन्ने ज्ञान नहुँदासमेत थप पीडित बन्ने गरेको बताउँछिन् मनोविद् करुणा कुँवर । ‘कुन व्यवहार हिंसा हो भन्ने नै कतिपयलाई थाहा भइरहेको हुँदैन । यति मात्र नभई पछिल्लो समय शिक्षित, आर्थिक र सामाजिक क्षेत्रमा पहुँच भएका, जागिरे र आत्मनिर्भर महिला नै हिंसाबाट पीडित छन् । अहिले हिंसा आधुनिक बन्दै गएको छ । न्यायिक निकायले समेत यौनिकतालाई जोडेर गरिने हिंसालाई मात्र प्राथमिकतामा राख्ने भएकाले अन्य प्रकृतिका हिंसा झन् बढिरहेका छन्,’ उनले भनिन् ।

महिला हिंसाको ग्राफ हरेक वर्ष बढ्दै 

आव ०७३/७४ मा देशभर एक हजार ६ सय ६८ बलात्कारका घटना भएकामा आव ०७७/७८ मा तीन हजार दुई सय ८४ घटना प्रहरीमा दर्ता भएका छन् । पछिल्ला पाँच वर्षमा बोक्सी आरोपमा मात्रै दुई सय १० महिलामाथि जघन्य अपराध भएको छ ।

तीन महिनामै घरेलु हिंसाका साढे चार हजार उजुरी

महिलामाथि सबैभन्दा धेरै घरेलु हिंसा हुने गरेको छ । तर, घरेलु हिंसाका उजुरी नगण्य मात्रै प्रहरीमा दर्ता हुन्छन् । प्रहरीले पीडकलाई सामान्य सचेत गराएर मिलापत्र गरी पठाउने गर्छ । घरेलु हिंसामा कारबाही फितलो भएकाले पनि घटना धेरै हुने अधिकारकर्मीहरूको भनाइ छ । चालू आवको असोजसम्मको तीन महिनामा मात्रै घरेलु हिंसाका चार हजार सात सय ३२ उजुरी प्रहरीमा पुगेका छन् । आव ०७७/७८ मा यस्ता १४ हजार दुई सय ३२ उजुरी परेको प्रहरी तथ्यांक छ । त्यस्तै, ०७६/७७ मा ११ हजार सात सय ३८ उजुरी परेका थिए । – नयाँपत्रिका दैनिकमा समाचार छ