महिला हिंसाविरुद्धको १६ दिने अभियान : पछिल्ला पाँच वर्षमा महिलामाथि भएका हिंसाका १८ हजार ४२३ उजुरी प्रहरीमा पुगेका छन्, सबैभन्दा धेरै हुने घरेलु हिंसाका घटना त प्रहरीमा नगण्य मात्र दर्ता हुन्छन्, बलात्कारका घटना सबैभन्दा बढी छन्, तर अधिकांश घटना ठूलाबडाले मिलापत्रका नाममा गाउँमै दबाउँछन् भने प्रहरीसम्म पुगेका घटनामा पनि गतिलो अनुसन्धान हुँदैन
घटना १ : घरभित्रै सौतेला बाबुबाट बलात्कृत छोरी न्यायको पर्खाइमा
शारीरिक रूपमा अशक्त ललितपुरकी १६ वर्षीया समृद्धि शर्मा (परिवर्तित नाम)लाई सौतेला बुबाले अगाध माया देखाउँथे । छोरीप्रति श्रीमान्को प्रेम देखेर आमा सरस्वती (परिवर्तित नाम) दंग थिइन् । तर, गत चैतको पहिलो साता जब छोरी समृद्धि उनै सौतेला बुबाबाट पटक–पटक बलात्कृत भएको रहस्य थाहा पाइन्, उनी छाँगाबाट खसेझैँ भइन् । लगनखेलमा कफीसप चलाएर परिवार पाल्ने सरस्वती पसलमा छँदा श्रीमान् र छोरी घरमै हुन्थे । त्यही मौका छोपेर सौतेला बुबाले समृद्धिलाई बलात्कार गर्थे । आमाको जाहेरीपछि सौतेला बुबालाई प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतमा राखेको छ ।
घटना २ : श्रीमानकै साथीले दिल्ली पुर्याएर कोठीमा बेचिदिए
नुवाकोट दुप्चेश्वरकी २१ वर्षीया बबिना श्रेष्ठ (परिवर्तित नाम)लाई श्रीमान् रक्सी पिएर यातना दिइरहन्थे । श्रीमान्का साथी नुवाकोट दुप्चेश्वर–६ का जान्द्रे भनिने रामबहादुर तामाङ उनीहरूको पारिवारिक कलहबारे जानकार थिए । श्रीमान्ले नै जान्द्रेसँग बबिनालाई चिनजान गराएका थिए । त्यसको फाइदा उठाउँदै जान्दे्रले बबिनालाई राम्रो जागिरको प्रलोभन देखाए । फकिएकी बबिना घर छाडेर उनैसँग काठमाडौं हिँड्न राजी भइन् । केही समय काठमाडौंको जमलस्थित एक पुस्तक पसलमा काम लगाइदिए । बबिनाको पूरै मन जितेपछि उनले थप धन कमाउने प्रलोभन देखाएर भारतको दिल्ली पुर्याए । ०७४ साउनको अन्तिम साता उनलाई जिबीरोडको ५९ नम्बर कोठीमा एक लाख रुपैयाँमा बेचिएको थियो । चार वर्षपछि परिवारको सहयोगमा उद्धार भएर नेपाल फर्किएकी उनले गत १७ वैशाखमा प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले जान्दे्रलाई पक्राउ गरेको छ । तर, बबिनाले न्याय अझै पाइसकेकी छैनन् ।
घटना ३ : बोक्सीको आरोपमा श्रीमान् र झाँक्रीबाट चरम यातना
गत १८ भदौको साँझ ललितपुर, लुभुकी ३३ वर्षीया सुष्मा श्रेष्ठलाई अचानक पेट दुख्यो । श्रीमान् जितेन्द्र महर्जनले अस्पताल लैजानुको साटो भूतप्रेत लागेको भन्दै ठूलो भ¥याङस्थित झाँक्रीकहाँ लगे । झाँक्रीले सुष्माको शरीरमा बोक्सी उत्रिएको बताए । झाँक्री र श्रीमान् मिलेर उनलाई कोठामा थुने र शरीरमा तातोपानी खन्याए । मान्छे र कुकुरको मलमूत्र ल्याएर मुखमा कोच्याए । दुई दिनसम्मको यातनाबाट उम्किएकी सुष्मा माइती घर पुगिन् । बोक्सीको आरोपमा श्रीमान्बाटै यातना भोग्नुपरेको तथ्य बल्ल बाहिरियो । घटनामा जितेन्द्रसहित ललितपुर लुुभुकै दीपेन तामाङ भनिने दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे सहभागी थिए । प्रहरीले चारैजनालाई पक्राउ गर्यो । तर, पििडतले अझै न्याय पाएकी छैनन् ।
घटना ४ : पहिलो श्रीमानले गाउँमा बेचे, दोस्रोले दिल्लीमा
नुवाकोट दुप्चेश्वरकी ३४ वर्षीया सम्झना तामाङ (नाम परिवर्तन)ले दुईपटक विवाह गरिन् । तर, दुवै विवाह उनका लागि अभिशाप बन्यो । पहिलो विवाह उनले दुप्चेश्वरकै नवीन तामाङसँग गरिन् । पाँच सन्तान जन्मे । त्यसपछि नवीन र सम्झनाबीच खटपट हुन थाल्यो । उनीहरूको झगडामा दुप्चेश्वरकै पासाङ शेर्पा प्रवेश गरे । सम्झनालाई सुखले पाल्ने आश्वासन दिँदै फकाउन थाले । नवीनले एक लाख ६० हजार ‘जारी रकम’ लिएर पासाङलाई बेचिदिए । बेचिएको थाहा नपाएकी सम्झनाले पासाङबाट सुख पाउने आशा गरेकी थिइन् । तर, पासाङले पनि सम्झनालाई ०७२ मा दिल्ली पुर्याएर बेचिदिए । भारतीय प्रहरी र क्याटलिस्ट नामक गैरसरकारी संस्थाको सहयोगमा गत ३१ जेठमा नेपाल फर्केकी उनी शक्ति समूहको संरक्षणमा न्यायको पर्खाइमा छिन् ।
… …
महिलामाथि हुने जघन्य अपराधका घटना हरेक वर्ष बढिरहेका छन् । घरभित्रै पनि महिला असुरक्षित बनिरहेको तथ्यले झन् डरलाग्दो चित्र देखाउँछ । पछिल्ला पाँच वर्षमा महिला हिंसाका १८ हजार चार सय २३ घटना प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये बलात्कारका उजुरी मात्रै १३ हजार १७ छन्, जुन समग्र उजुरीको ७०.६५ प्रतिशत हो । ०७३/७४ देखि ०७७/७८ सम्म जबर्जस्ती करणीतर्फ नौ हजार पाँच सय ३० र जबर्जस्ती करणी उद्योगतर्फ तीन हजार चार सय ८७ उजुरी दर्ता भएको प्रहरी तथ्यांक छ ।
महिला हिंसाका घटनाका पीडितले न्याय पाउने सम्भावना निकै कम हुन्छ : मोहना अन्सारी, महिला अधिकारकर्मी
देशभर महिला हिंसाका जति घटना हुन्छन्, त्यसमध्ये निकै कम मात्रै प्रहरीकहाँ पुग्छन् । प्रहरीले घटनाको अनुसन्धान गर्छ । तर, पीडितलाई त्यसवेलासम्म विविध माध्यमबाट दबाबमा पारिएको हुन्छ । कतिपय मुद्दा प्रहरी कार्यालयबाटै मिलापत्रमा टुंग्याइन्छन् । दर्ता भए पनि प्रहरीकै तजबिजमा हुने गर्छ । मुद्दा सरकारी वकिल कार्यालय हुँदै अदालतसम्म बल्लतल्ल पुग्छ । थुनछेक बहसका क्रममा अधिकांश मुद्दाका पीडित पुनः दबाबमा पारिन्छन् । यस्तो अवस्थामा पीडितले न्याय पाउने सम्भावना अत्यन्तै कम हुन्छ । अहिलेसम्मको मेरो अनुभवले त्यही भन्छ ।
प्रहरीकाअनुसार दैनिक औसत ६ महिला तथा बालिका बलात्कृत हुने गरेका छन् । तर, बलात्कारजस्तो जघन्य अपराधका घटनामा संलग्नलाई समेत सहजै कारबाही हुँदैन, न्याय माग्न आन्दोलनमा उत्रिनुपर्ने अवस्था छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि परिवार, स्थानीय र अधिकारकर्मीले लामो आन्दोलन गरे । तर, प्रहरीले अझै दोषी पत्ता लगाउन सकेको छैन ।
राज्यका संरचनामा महिलाको प्रतिनिधित्व सुदृढ बन्दै गए पनि महिलाविरुद्धका हिंसामा कमी नआउनु बलात्कार र हत्यापछि पीडक कानुनसँग नडराउनु नै मुख्य कारक रहेको बताउँछिन्, समाजशास्त्री मीना उप्रेती । ‘बलात्कारपछि हत्या गर्ने घटना बढ्दै गएका छन् । पीडक पहिचान भइसकेपछि पनि कारबाहीको दायरामा आउँदैन । बलात्कार र हत्याजस्ता जघन्य अपराध पनि राजनीतिक दबाबमा क्षम्य हुन थालेपछि हिंसाका घटनाले प्रश्रय पाएका छन्,’ उनले भनिन् ।
बलात्कारपछि बहुविवाहका घटना धेरै छन् । यो अवधिमा देशभर तीन हजार ६ सय ५२ बहुविवाहका घटना भएका छन्, जुन कुल घटनाको १९.८२ प्रतिशत हो । जबकि, कानुनले पहिलो श्रीमतीसँग छोडपत्र गरेपछि मात्रै अर्को विवाह गर्न पाउने अधिकार दिएको छ । तर, एउटासँग घरबार हुँदाहुँदै अर्की श्रीमती भिœयाउनेको संख्या उल्लेख्य रहेको तथ्यांकले देखाउँछ । महिला हिंसाको तेस्रो नम्बरमा बेचबिखनका घटना छन् । पाँच वर्षमा महिला बेचबिखनका एक हजार ६८ घटना प्रहरीमा दर्ता भएका छन् । यो कुल घटनाको ५.७९ प्रतिशत हो ।
बालविवाहका घटना तीन सय २६ वटा दर्ता भएका छन् । खासगरी तराई क्षेत्रमा बालविवाह बढी हुने गरेको छ । कानुनले २० वर्ष नपुगी विवाह गर्न बर्जित गरेको छ । पाँच वर्षमा बोक्सी आरोपमा महिलामाथि भएको जघन्य अपराधका दुई सय १० उजुरी दर्ता भएका छन् । अप्राकृतिक मैथुनका एक सय ३२ र यौन दुर्व्यहारका ८ उजुरी दर्ता भएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवर महिला हिंसासम्बन्धी अपराध प्रत्येक दिन बढ्दै गएको बताउँछन् । यसमा पनि यौनजन्य अपराध धेरै भएको उनको भनाइ छ । ‘महिला हिंसासम्बन्धी अपराध दैनिकजसो बढेको पाइएको छ । त्यसमा पनि यौनजन्य अपराधका घटना धेरै भएको देखिन्छ,’ उनले भने । पहिले हिंसा भए पनि प्रहरीसम्म कमै उजुरी पुग्थे । अहिले जनतामा आएको चेतना र प्रहरी सक्रियताका कारण उजुरी बढेको कुँवरको भनाई छ ।
गाउँघरमै दबाबमा गुपचुप पारिएकाबाहेक प्रहरीसम्म आइपुगेका बलात्कारका घटनाको तथ्यांकले यौनजन्य हिंसा हरेक वर्ष बढेको देखाउँछ । ०७३/७४ मा देशभर एक हजार ६ सय ६८ बलात्कारका घटना भएकामा ०७४/७५ मा दुई हजार दुई सय सात घटना प्रहरीमा दर्ता भएका थिए । ०७५/७६ मा अझै बढेर तीन हजार २४ घटना दर्ता भएका छन् । ०७६÷७७ मा दुई हजार आठ सय ३१ उजुरी दर्ता भएकामा ०७७/७८ मा तीन हजार दुई सय ८४ घटनाको उजुरी परेका छन् । प्रहरी तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिनाको अवधिमा मात्रै झन्डै एक हजार बलात्कारका मुद्दा दर्ता भइसकेका छन् ।
पहिले घटना दबाएर राखिन्थ्यो, अहिले अधिकांशले कानुनी उपचार खोज्छन् : एसएसपी वसन्त कुँवर, प्रवक्ता, नेपाल प्रहरी
महिला हिंसासम्बन्धी अपराध दैनिकजसो बढेको छ । पहिले पनि हिंसा हुन्थ्यो, तर दबाएर राखिन्थ्यो । प्रहरीको सक्रियता र जनतामा आएको चेतनाका कारण अहिले अधिकांशले कानुनी उपचार खोज्न थालेका छन् । घटना सतहमा आएइरहेका छन् ।
बालविवाह र बहुविवाहका घटना पनि बढेका छन् । ०७७/७८ देखि हालसम्म नौ सय ४४ बहुविवाह र ९६ वटा बालविवाहका घटना भएका छन् । यो अवधिमा ८० महिलामाथि बोक्सीको आरोपमा हिंसा भएको छ । ४५ जनाले अवैध गर्भपतन गर्नुपरेको छ भने ४३ जना जातीय छुवाछुत र तीन सय २६ बालिका यौन दुव्र्यवहारमा परेका छन् ।
प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन विभिन्न कार्यक्रम गरी लैंगिक हिंसाविरुद्धकोे अभियान विश्वभर मनाइँदै आएको छ । ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान यसपटक पनि सुरु भएको छ । तर, नेपालमा महिला हिंसाको ग्राफ प्रत्येक वर्ष उकालो लागिरहेको प्रहरी तथ्यांकले देखाउँछ । महिलाविरुद्ध विद्यालय, कार्यस्थल, सार्वजनिक स्थल र परिवारभित्रै दैनिक हिंसाका घटना भइरहेका छन् ।
हिंसाका घटनामा दोषीलाई कारबाही र कानुन कार्यान्वयनका लागि सरकारमाथि दबाब बढिरहे पनि अनुसन्धान र अपराधी पहिचानमा लाग्ने समयले पीडितलाई थप कष्ट दिने महिला अधिकारकर्मीहरू बताउँछन् । ‘महिला हिंसाबारे समाजको दृष्टिकोण संवेदनहीन बन्दै गएकोजस्तो देखिन्छ । जस्तै, कुनै हिंसापीडितको तस्बिर वा तथ्य सामाजिक सञ्जालमा राख्दा सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया धेरै आइरहेका हुन्छन् । बलात्कारपछि हत्याजस्ता घटनामा समाजको संवेदना मात्र रहन्छ, तर हरेक दिन त्यही प्रकृतिका घटना दोहोरिँदासमेत न्यायिक पक्ष जिम्मेवारीबाट चुकेको छ,’ समाजशास्त्री उप्रेतीले भनिन् ।
बलात्कारबाहेक धेरैजसो हिंसाका घटना कार्यस्थल र परिवारभित्रै हुने गरेको पछिल्ला अध्ययनले देखाएका छन् । हिंसामा परेका बालिकाहरू त्यसबारे कसरी र कसलाई व्यक्त गर्ने भन्ने ज्ञान नहुँदासमेत थप पीडित बन्ने गरेको बताउँछिन् मनोविद् करुणा कुँवर । ‘कुन व्यवहार हिंसा हो भन्ने नै कतिपयलाई थाहा भइरहेको हुँदैन । यति मात्र नभई पछिल्लो समय शिक्षित, आर्थिक र सामाजिक क्षेत्रमा पहुँच भएका, जागिरे र आत्मनिर्भर महिला नै हिंसाबाट पीडित छन् । अहिले हिंसा आधुनिक बन्दै गएको छ । न्यायिक निकायले समेत यौनिकतालाई जोडेर गरिने हिंसालाई मात्र प्राथमिकतामा राख्ने भएकाले अन्य प्रकृतिका हिंसा झन् बढिरहेका छन्,’ उनले भनिन् ।
महिला हिंसाको ग्राफ हरेक वर्ष बढ्दै
आव ०७३/७४ मा देशभर एक हजार ६ सय ६८ बलात्कारका घटना भएकामा आव ०७७/७८ मा तीन हजार दुई सय ८४ घटना प्रहरीमा दर्ता भएका छन् । पछिल्ला पाँच वर्षमा बोक्सी आरोपमा मात्रै दुई सय १० महिलामाथि जघन्य अपराध भएको छ ।
तीन महिनामै घरेलु हिंसाका साढे चार हजार उजुरी
महिलामाथि सबैभन्दा धेरै घरेलु हिंसा हुने गरेको छ । तर, घरेलु हिंसाका उजुरी नगण्य मात्रै प्रहरीमा दर्ता हुन्छन् । प्रहरीले पीडकलाई सामान्य सचेत गराएर मिलापत्र गरी पठाउने गर्छ । घरेलु हिंसामा कारबाही फितलो भएकाले पनि घटना धेरै हुने अधिकारकर्मीहरूको भनाइ छ । चालू आवको असोजसम्मको तीन महिनामा मात्रै घरेलु हिंसाका चार हजार सात सय ३२ उजुरी प्रहरीमा पुगेका छन् । आव ०७७/७८ मा यस्ता १४ हजार दुई सय ३२ उजुरी परेको प्रहरी तथ्यांक छ । त्यस्तै, ०७६/७७ मा ११ हजार सात सय ३८ उजुरी परेका थिए । – नयाँपत्रिका दैनिकमा समाचार छ