काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले अब पनि बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउन नसक्ने बताएका छन् ।
राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताएका छन् ।
नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने सपनाको छेउमा पनि पुग्न नसकिने स्पष्ट गरे ।
नेत्रविक्रम चन्द समूहलाई लक्ष्य गर्दै उनले भने, अब पनि बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन् । कम्युनिष्टको बर्को ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानुनबमोजिम नियन्त्रण गर्छ । यसमा पार्टी पङ्क्ति स्पष्ट भए हुन्छ ।