• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

खानेपानीको मुहान हेर्न गएका दुई जनाको जङ्गलमा शव फेला, कुकुर पनि मृतावस्थामा भेटियो



फाइल तस्बिर

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको मृतावस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षले दिएको जानकारीअनुसार खानेपानी मर्मतका लागि गएको दुवै जनाको आज बिहान मृतावस्थामा शव फेला परेको बताए ।


सो वडाका वडाध्यक्ष दूधराज अध्यक्ष तामाङका अनुसार मृत फेला पर्नेमा सोही वडाका अन्दाजी ५० वर्षीय सञ्चर सिं लामा र ४० वर्षीय नरबहादुर लामा रहेका छन् । उनीहरुसँगै गएका एक कुकुर पनि सोही ठाउँमा मृतावस्थामा भेटिएको जनाइएको छ ।

तामाङका अनुसार गाउँमा उपभोग गर्दै आएका खानेपानीको धारामा पानी नआएपछि मुहानतर्फ हेर्न भनि बुधबार दुवै जना घरबाट निस्केको र बेलुका घर नआएपछि घरपरिवार र गाउँले मिलेर खोज्ने क्रममा तीन दिनपछि आज बिहान भाङ्गेटारको जङ्गलमा मृतावस्थामा फेला पारेको हो ।

मृतकको शरीर केही जलेको जस्तो देखिएको र एक जनाको आँखा फुटेको र अर्कोको कपडा च्यातिएको अवस्थामा रहेको छ ।

घटनाको जानकारी आएपछि घटनास्थलतर्फ प्रहरीको टोली पठाइसकेको भए पनि घटनास्थल नपुगेको कारण विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।