• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

मदन भण्डारी स्मृति पार्क ओझेलमा



रत्ननगर । जननेता मदन भण्डारीको शव भेटिएपछि बस्तीतर्फ निकालेर राखेको चौरलाई अहिले मदन भण्डारी स्मृति पार्कका रुपमा विकास गर्ने खोजिएको छ ।

पार्क निर्माण गर्न गतवर्ष मदन भण्डारी स्मृति पार्क निर्माण उपभोक्ता समिति गठन भएको थियो । तर, यहाँको काम भने सोचे जस्तो अघि बढ्न सकेको छैन ।

विसं २०५० जेठ ३ गते आजकै दिन चितवनको दासढुङ्गा जीप दुर्घटनामा तत्कालीन नेकपा ९एमाले०का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । कास्कीको पोखरामा भएको जिल्ला अधिवेशन सकेर फर्किने क्रममा जीप दुर्घटना भएको थियो । दुर्घटनामा निधन भएका नेता आश्रितको शव जीपभित्रै भेटिएको थियो भने महासचिव भण्डारीको शव करीब ३० किलोमिटर टाढा गाजीपुरमा भेटिएको थियो ।

विस २०५३ मा स्थानीय विकास मन्त्रालयबाट रु दुई लाख ५० हजार विनियोजन भएपछि स्मृति पार्क निर्माणको काम अघि बढेको मदन भण्डारी स्मृति पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गौरस तमाङले जानकारी दिनुभयो ।

विनियोजन बजेटबाट वर पिपलको चौतारो, कङ्क्रिटको छाता र नारायणी नदीको छेउमा सिँढी बनाइएको छ । मदन भण्डारी फाउण्डेशनका तत्कालीन अध्यक्षको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले गाजीपुरमा मदन भण्डारीको अर्धकदको शालिक राख्ने ठाउँ शिलान्यास गर्नुभएको थियो । सो शालिक अझैसम्म स्तम्भ बनाइएको छैन । शालिक उपभोक्ता समितिका अध्यक्ष तामाङको घरमा थन्किएको छ ।

पार्क निर्माणस्थलमा मदन भण्डारी स्मृति भवन निर्माण भइसकेको छ भने पर्यटन मन्त्रालयको रु ७५ लाखको सहयोगमा दृश्यावलोकन स्तम्भ निर्माण हुँदैछ । त्यस्तै पार्कलाई जोड्न भौतिक पूर्वाधार मन्त्रालयबाट रु एक करोड बजेट विनियोजन गरिएको छ । मदन–आश्रितको निधन भएको २६ वर्षपछि दासढुङ्गा र गाजीपुरलाई जोडेर एकीकृत विकास गर्ने योजना अघि सारिएको छ ।

मदन भण्डारी फाउण्डेशन चितवनको सक्रियतामा दासढुङ्गाको विकास गर्न खोजिएको भए पनि गाजीपुरमा जग्गा अभाव देखिएको छ । पूर्वतर्फ रहेको चितवन राष्ट्रिय निकुञ्जको पोष्टलाई अर्को ठाउँमा स्थान्तरण गरी पार्कको गुरुयोजना निर्माण गर्ने योजना भए पनि सैनिक पोष्ट त्यहाँबाट सर्ने नदेखिएपछि पार्कको विकासलाई अगाडि बढाउन समस्या देखिएको छ ।

अध्यक्ष तामाङले देश अहिले जननेता भण्डारीकै बाटोमा अगाडि बढिरहेकाले उहाँको सम्मानका लागि गाजीपुरलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । जननेता भण्डारीको शव भेटाउनु भएका हेमबहादुर थापा मगरले गाजीपुरलाई नमूना बस्तीका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

गाजीपुर ऐतिहासिक ठाउँ भएकाले यसको विकासतर्फ सबैको ध्यान जानुपर्नेमा उहाँको जोड छ ।