५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरमा दुई परिवारका नौ जनाको हत्या



अ+ अ-

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गर्नुभयो । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ ।

प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीसमेत घटनास्थलमा पुग्न लागेको पौडेलले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय रविबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ ।