• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती…

देउवा अचानक सिंगापुर जानुको रहस्य !



काठमाडौं । छिमेकी मुलुक भारतमा नरेन्द्र मोदी भारी बहुमतका साथ पुनः प्रधानमन्त्री बन्ने सुनिश्चित हुनासाथ प्रमुख प्रतिपक्षीदलका नेता शेरबहादुर देउवा सिंगापुर भ्रमणमा प्रस्थान गर्नुलाई धेरैले संयोगका रूपमा लिएका छैनन् । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति देउवा स्वास्थ्य उपचारका लागि भन्दै बिहीबार अचानक सिंगापुर प्रस्थान गरेका हुन् । यस अघि सभापति देउवाको विदेश भ्रमण तय हुँदा नेपाली कांग्रेसले हप्तौं अघि मिडिया मार्फत जानकारी गराउँथ्यो । विदाईका लागि विमानस्थलमा कार्यकर्ताहरू खचाखच हुन्थे । तर, यसपटक भने उपसभापति बिमलेन्द्र निधि कार्यवाहक सभापति भएको विज्ञप्ती केन्द्रीय कार्यालयले जारी गरेपछि मात्रै सभापति देउवा सिंगापुर भ्रमणमा गएको जानकारी कांग्रेसका अरू नेताहरूले पाए । १० महिनाको अवधिमा देउवा दोस्रो पटक सिंगापुर भ्रमणमा गएका छन् ।

यस अघि उनी साउनको अन्तिम साता सिंगापुर भ्रमणमा गएका थिए । उनी सिंगापुर भ्रमणमा हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दोभालसँग भेटघाट गरेको समाचारलाई नेपाली कांग्रेसले पुष्टि गरेको थियो । त्यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाह पनि एक महिना लामो भ्रमणका क्रममा थाइल्यान्ड र सिंगापुर पुगेका थिए । त्यसक्रममा पूर्वराजा शाह र कांग्रेस सभापति देउवाले भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार दोभालको रोहबरमा भेटेको समाचार आएको थियो । तर, पूर्वराजा शाहसँग भएको देउवाको भेटघाटलाई भने त्यतिवेला नेपाली कांग्रेसले खण्डन ग¥यो । यसपटक पनि पूर्वराजा शाह एक महिना लामो बसाइका लागि सपरिवार गत साता थाइल्यान्ड प्रस्थान गरेका छन् । देउवाको यो भ्रमण पनि गत साउनको जस्तै पूर्वराजा शाहसँग भेटवार्ताका लागि केन्द्रित रहेको समाचार स्रोतले जनाएको छ । पूर्वराजा शाह र कांग्रेस सभापति देउवाको सम्भावित भेटघाटमा भारतीय प्रधानमन्त्री मोदीका विशेष दूत पनि सामेल हुने समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार केही दिनभित्रै सत्तारुढ नेकपाका माथिल्लोस्तरका कुनै नेतालाई पनि सिंगापुर भ्रमण गराउने तारतम्य मिलाइएको छ । गत साउनमा भएको यस्तै भेटवार्तामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका अध्यक्ष पशुपति समसेर राणा पनि सिंगापुर पुगेका थिए ।

नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका प्रोफेसर सुखदेव मुनी धेरै जसो सिंगापुर बस्ने गर्छन् । २०६२–०६३ को जनआन्दोलनमा सहयोगी भूमिका निर्वाह गरेका मुनी संविधानसभाद्वारा जारी संविधान प्रति भने खुसी छैनन् । कुनै हालतमा पनि संविधान तुहाउनु पर्ने भन्दै उनले मधेशीदलको आन्दोलनको समर्थनमा विज्ञाप्ति मात्रै निकालेनन् नाकाबन्दीका लागि आफ्ना प्रधानमन्त्री मोदीलाई आग्रह समेत गरेका थिए । समाचार स्रोतका अनुसार संविधान जारी भए यता प्रोफेसर मुनी राजतन्त्र पुनर्वाहालीको पक्षमा जुटेका छन् ।

प्रमुख प्रतिपक्षीदलका नेता देउवा हिन्दू अधिराज्य पुनर्वाहालीको एजेन्डामा पुग्छन् कि , पुग्दैनन् ? भारतीय प्रधानमन्त्री मोदीले सहयोग गर्दैमा र देउवाले चाँहदैमा नेपालमा प्रतिगमन सम्भव होला र ? भन्ने प्रश्न पनि राजनीतिक वृत्तमा उठ्ने गरेका छन् । तर, नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेताहरू समेत देउवा प्रतिगामी कित्तामा उभिएलान भनेर पत्याउन तयार छैनन् । एक नेताले भने–‘२०४६ सालको जनआन्दोलनद्वारा स्थापित संसदीय प्रजातन्त्रलाई दरबारमा लगेर बुझाएकै कारण देउवा फेरी पनि प्रतिगमनको मतियार बन्छन् कि , भन्ने शंका गरिएको हुनपर्छ । तर, त्यो कित्तामा उभिए भने देउवा संकटमा पर्छन् । देउवा र पूर्वराजा शाहबीच नजिको पारिवारिक नाता सम्बन्ध रहेका कारण पनि अनेक प्रतिगमनको लाञ्छाना लगाउने गरिएको बताउँदै उनले भने–‘ राजनीतिमा दाजु–भाइ तथा बाबु–छोराकै अलग अलग कित्ता हुन्छ , आरजु राणा त रत्न शाहकी सहोदर बहिनी होइनन् काकाकी छोरी हुन् ।’ आजको सौर्य दैनिकमा समाचार छ ।