काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सशस्त्र गतिविध सञ्चालन गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जनसेना र जनसरकार गठन गरेको सरकारलाई जानकारी रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा विशेष महत्वको विषयमा बोल्दै गृहमन्त्री थापाले काठमाडौंमा भएको श्रृङ्खलावद्ध बम विस्फोटबारे संसदलाई जनकारी दिने क्रममा यो सूचना दिएका हुन् ।
उनले भने, ‘जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन् । जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेका छन् । यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा नामको पार्टी पनि गठन गरेका छन् ।’
पछिल्लो वर्षहरुमा गैरकानुनी गतिविधि गर्दै आएको विप्लव समूहले अहिले मुख्य निशाना उपत्यकालाई बनाएको गृहमन्त्री बादलले बताए ।
उनले अब वार्तामार्फत नै सो समूहलाई नियन्त्रण गरेर मूलधारमा ल्याउँदै समस्या समाधान गरिने जनाए । यसका लागि पहल भइरहेको समेत उनको दाबी थियो ।
उनले आइतबार काठमाडौंमा भएका बम विस्फोटनमा नागरिकको मृत्यु नभएको समेत बताए । घटनामा चारजनाको मृत्यु भएको जानकारी आफूसँग रहेको भन्दै ती सबै विप्लव समूहसँगै सम्बद्ध कार्यकर्ता रहेको बताए ।
मुलधारमा ल्याउन सरकार प्रतिवद्ध
गृहमन्त्री थापाले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए ।
‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।’
विप्लव समूहको बन्द शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको उनले बताए ।