काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएकोले खारेज गर्न माग गर्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको हो । नेविसंघ आबद्ध विद्यार्थीहरुले पुतलीसडक हुँदै बागबजारसम्म प्रर्दशन गरेका थिए ।
सरकारले विश्वविद्यालय, प्रेसलगायतका संस्थाहरुमाथि हस्तक्षेप हुने गरी ल्याइएका सबै विधेयकहरु फिर्ता गर्नुपर्ने प्रेस, महंगी नियन्त्रण र सरकारले अधिनायकवादको अनत्य गर्नुपर्ने माग सहित प्रर्दशन गरेका थिए ।
नेविसंघका नेता मोतीलाल भण्डारीले न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर कम्युनिस्ट नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप समेत लगाए । उनले अधिनायकवादको अन्त्य नगरे सरकारविरुद्ध सडकमा कडा रुपमा उत्रिने चेतावनी समेत दिए ।
नेविसंघले मुलुकलाई शान्ति सुरक्षा दिन नसकेको, महंगी नियन्त्रण गर्न नसकेको, निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्दै आएको छ ।