काठमाडौंं । जापानको राजधानी टोकियोको दक्षिणमा रहेको शहर कावासाकीमा चक्कुधारी एक व्यक्तिले मङ्गलबार बिहान एक १२ वर्षीया स्कुले छात्रा र एक पुरुषको हत्या गरेका छन् । चक्कु आक्रमणमा धेरै बालबालिका समेत एक दर्जनभन्दा बढी व्यक्तिलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
सडकमा जथाभावी चक्कु हिर्काउँदै हिँडेका ती व्यक्तिले अन्त्यमा आफैँलाई चक्कु हानी आत्महत्या गरेका थिए ।
टोकियोको दक्षिणतर्फ रहेको कावासाकी शहरमा यस्तो आपराधिक घटना यसअघि बिरलै देखिएको थियो । चक्कु प्रहार गर्ने व्यक्तिको मनसाय भने स्पष्ट हुन सकेको छैन ।
निप्पोन मेडिकल स्कुल मुसाशी कोसुगी हस्पिटलका उपनिर्देशक कियोशी मात्सुडाले १२ वर्षीया एक स्कुले बालिका र अर्का ३९ वर्षीय एक पुरुषको उपचारकै क्रममा मृत्यु भएको बताउनुभयो ।
करिब ५० वर्षका आक्रमणकारीको पनि मृत्यु भएको छ । अस्पतालका अनुसार आक्रमणबाट कम्तीमा १६ जना घाइते भएका छन् ।
जापानी प्रधानमन्त्री सिन्जो अबेले ‘घटनाप्रति दुःख व्यक्त गर्दै आफूलाई निकै रिस उठेको’ बताए । ‘यो निकै दुःखदायी घटना हो,’ उनले भने, ‘ममृतकहरूप्रति समवेदना प्रकट गर्दै घाइतको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’
स्थानीय व्यक्तिहरूले मृतकफ्रति शोक व्यक्त गर्दै आत्रमणस्थलमा पुष्पगुच्छा राखेका छन् । जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
जापानमा मानसिक रोगीहरूको उपचार केन्द्रमा सन् २०१६मा फूर्व कर्मचारीले चक्कुआक्रमण गरी १९ जनाको ज्यान लिएका थिए । आक्रमणका बेला उनले ‘मानसिक रोगीलाई आफूले अन्त्य गर्न चाहेको’ बताएका थिए । सन् २००१ मा ओसाकाको एक प्राथमिक विद्यालयमा गरिएको आक्रमणमा ८ विद्यार्थीको मृत्यु भएको थियो ।