६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिउँसै झापामा जङ्गली हात्तीको आतंक, डेढ सय विद्यार्थी विद्यालयमै थुनिए



अ+ अ-

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिका–५ मा मानव वस्तीको बीचमा बच्चासहित जङ्गली हात्तीको बथान दिउँसै आएपछि त्रास फैलिएको छ । भारततिरबाट आएका छ वटा हात्ती आज बिहानदेखि सो वडास्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन् ।

हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ । हात्ती दिउँसो बास बस्ने र राति आहारका लागि सक्रिय हुने गर्दछ ।

हात्तीबाट मानव वस्ती र विद्यालयमा क्षति नपुगोस् भनेर डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णु घिमिरेको नेतृत्वमा वन कार्यालयको टोली हात्ती रुग्न खटिएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै टोली विद्यालय र बस्तीको सुरक्षाका लागि परिचालन गरिएको छ ।

करीब ३०० मिटरको दूरीमा रहेको श्री आधारभूत विद्यालयमा पढिरहेका डेढ सय विद्यार्थीलाई विद्यालय हाताबाहिर ननिस्कन र गाउँलेलाई हात्तीसँग नजिस्किन आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले बताए । हात्ती हेर्न सर्वसाधारणको भीड बढ्दै गएको र कुनै कारणवश हात्तीको बथान त्यहाँबाट बिच्किएमा बस्ती र विद्यालयमा पस्ने जोखिम भएको हुँदा सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले बताए ।

झापामा भारतबाट बर्खायाममा आहाराको खोजीमा सयौँको बथानमा जङ्गली हात्ती बाहुनडाँगी हुँदै नेपाल पस्ने गर्छन् । हात्तीले दिनहुँ बालीनाली खाएर क्षति पु¥याउने गरेको छ भने हालसम्ममा हिंस्रक आक्रमणमा परेर दर्जनौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।