काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा बुधबार टुँडिखेलमा आयोजित कार्यक्रममा ‘वलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका पत्रपत्रमा समाहित छन्’ प्रधानमन्त्री ओलीले भने ।
गणतन्त्र दिवसले गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वाचित गरेको, आमजनताले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन पनि अभिप्रेरित गर्ने उनले बताए ।
उनले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको जनाए । ‘हाम्रो ध्येय गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध केन्द्रित छ । गरिबी र लोकतान्त्रिक गणतन्त्रसँगसँगै रहन सक्दैनन् ।
त्यसैले सुशासन र विकास आज हाम्रा प्राथमिकता हुन्,’ प्रधानमन्त्रीले, ‘त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।’ उनले गणतान्त्रिक व्यवस्थालाई पारिभाषित गर्दै ‘गणतन्त्र केबल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रूपान्तरणको व्यवस्था’ भएको बताएका छन् ।
प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारजस्ता विषयहरुमा खासै बोलेका छैनन् । बरु उनले जननिर्वाचित संस्थाहरुको मर्यादामा बढ्ता जोड दिएका छन् । प्रधानमन्त्रीले भने, ‘गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गरिनुपर्छ ।’
प्रधानमन्त्रीले संस्थाहरुको मर्यादाका साथै देशको विकास र आर्थिक समृद्धिलाई जोड दिइएको छ । प्रधानमन्त्रीले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्ने काममा अनुदित गर्न रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रम ल्याएको र उत्पादन वृद्धिमा जोड दिएको बताएका छन् ।
प्रधानमन्त्रीको भनाइ छ, ‘मैले भन्दै आएको छु- गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन, समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो । ‘सर्वजन हितायः सर्वजन सुखायः’ हाम्रो गणतन्त्रको आत्मातत्व हो । त्यसैले जनताको अनुहार मलीन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।’