काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निम्ता नगरेकोमा खासै मतलब नदिएको पाकिस्तानले बताएको छ । भारतीय प्रधानमन्त्रीले राजनीति गर्न पाकिस्तानी समकक्षीलाई आमन्त्रण गर्न नसकेको पनि पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले दाबी गरेका छन् । मोदीले भारतीय प्रधानमन्त्रीको रूपमा बिहीवार शपथ लिँदै छन् । मोदीको शपथग्रहण बिहीबार साँझ हुँदै छ ।
मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।
स्रोतका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले व्यस्तताका कारण उपस्थित हुन असमर्थ हुने जानकारी गराएकी छन् ।
बंगलादेशबाट राष्ट्रपति अब्दुल हमिद कार्यक्रममा सहभागी हुने बताइएको छ । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शपथग्रहणमा आउने निश्चित गरिसकेका छन् । शपथग्रहणमा बिमस्टेक सदस्य राष्ट्रबाहेक किर्गिस्तान र मोरिससलाई पनि निम्तो पठाइएको छ ।
यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो । त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए । तर यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ ।
जित हासिल गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदीलाई टेलिफोनमार्फत बधाई दिएका थिए । प्रधानमन्त्री खानले वधाई दिएपछि २ देशबीचको सम्बन्धमा थप सुधारका संकेत देखिएको थियो । तर भारतले बिमस्टेक सदस्य राष्ट्रहरुलाई निम्ता दिने नाममा सार्क संगठनको अस्तित्वलाई नै ओझेलमा पार्ने किसिमले तयारी गरेको छ । पाकिस्तान सार्क सदस्य राष्ट्र भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन ।
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण १८ औं शिखर सम्मेलन सम्पन्न भएयता सार्क शिखर सम्मेलन हुन सकेको छैन । यसअघि १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने तयारी गरिए पनि भारतले अस्वीकार गरेपछि स्थगित भएको थियो ।
यता मोदीको पहिलो विदेश भ्रमण माल्दिभ्स रहने कूटनीतिक स्रोतहरूले जनाएका छन् ।यस भन्दा पहिलो जित तथा सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बन्दा मोदीले पहिलो विदेश भ्रमणका लागि भुटान छानेका थिए ।
मोदीले सम्भवतः जेठ २४ गते माल्दिभ्सको भ्रमण गर्ने कूटनीतिक स्रोत तथा माल्दिभ्सका सञ्चारमाध्यमले जनाएका छन् ।
परराष्ट्रमन्त्री सुषमा स्वराजले गत मार्च महिनामा माल्दिभ्स भ्रमण गरेकी थिइन् । राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह माल्दिभ्सको सत्तामा आएपछि भारतले गरेको पूर्ण द्विपक्षीय भ्रमण त्यही थियो ।
।
भारत र माल्दिभ्सबीचको सम्बन्ध तत्कालीन राष्ट्रपति अब्दुल्ला यामीनले संकटकाल लगाएपछि बिग्रेको थियो ।सोलिह यामीनलाई राष्ट्रपति निर्वाचनमा गत नोभेम्बर महिनामा हराएर राष्ट्रपति बनेका हुन् ।