काठमाडौं । स्पेनका पूर्व स्टार एवं बार्सिलोनाका खेलाडी जाभी हर्नान्डेजले सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । जाभीले करिअरको दोस्रो इनिङ्स सुरु गर्दा उनलाई अब प्रशिक्षकको रुपमा देख्न पाइने भएको छ ।
३९ बर्षीय जाभीले गत २० बैशाख बिहिबार राति यस सिजनको अन्त्यसँगै सबै खाले खेलबाट आफुले सन्यास लिने बताएका थिए । जाभी हाल कतारको अल साद क्लबबाट खेलिरहेका छन् । जाभी सन् २०१५ मा कतारी क्लबमा अनुबन्ध भएका थिए ।
खेलाडीको रुपमा यस सिजन मेरो अन्तिम हुनेछ । २१ बर्ष खेल्दा मैले जे जस्तो गरें । राम्रै गरें, जस्तो लाग्छ । अब नयाँ पुस्तालाई पनि मैदान छाड्न आवश्यक छ,’ जाभीले भने । उनले खेलाडी जीवनपछि आफु प्रशिक्षकको रुपमा फुटबल विकासमा सक्रिय रुपले लागि पर्ने पनि बताए ।
तर, जाभीले कुनै न कुनै दिन आफू बार्सिलोनाको प्रशिक्षक बन्ने बताए । ‘तर, म कुनै न कुनै दिन बार्सिलानाको टोली सम्हाल्न पुग्नेछु,’ जाभीले थपे ।
जाभीले जारी सिजन बार्सिलोनाले खराब प्रदर्शन गरेकै कारण च्यामिपयन्स लिगमा पराजय भोगेको बताए । ‘लिभरपुलविरुद्ध दोस्रो लेगमा बार्सिलोनाका सबै खेलाडीको प्रदर्शन बिर्सनलायक थियो । त्यो खेल म सम्झिन चाहन्नँ,’ उनले भने, ‘लिभरपुल त्यो शानदार जितको हकदार थियो ।’
जाभी बार्सिलोनाका लागि सवार्धिक खेल खेल्ने खेलाडी पनि हुन् । पूर्व कप्तान समेत रहेका उनले बार्सिलोनाको सिनियर टोलीबाट ५०५ खेल खेल्दै ५८ गोल गरेका छन् । अल सादबाट ८२ खेल खेलेका उनले २१ गेल गरेका छन् ।
सन् २००० देखि २०१४ समम स्पेनको राष्ट्रिय टोलीका खम्बा रहेका जाभीले देशका लागि एक सय ३३ खेलमा १३ गोल गरेका छन् । उनले सन् २०१४ को विश्वकप पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।