१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतबाट तारेखमा छुटेपछि फेरि भ्रष्टाचारमै



अ+ अ-

काठमाडौं । भ्रष्टाचार प्रकरणमा रंगेहात पक्राउ परेका कर्मचारीलाई अदालतले सफाइ दिने र साधारण तारेखमा छाड्ने गर्दा उनीहरू पुनः भ्रष्टाचारमै फर्किने गरेका छन् ।

धनीलाई थाहै नदिई नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरेपछि पक्राउ परेका मालपोत कार्यालय चाबहिलका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठले अदालतबाट उन्मुक्ति पाएपछि फेरि भ्रष्टाचार सुरु गरेका छन् । जिल्ला अदालतको आदेशमा साधारण तारेखमा छुटेपछि पुरानै कार्यालयमा फर्किएका श्रेष्ठ सेवाग्राहीसँग घुस लिँदालिँदै २३ जेठमा पक्राउ परेका हुन् ।

अनियमिततासम्बन्धी एउटा मुद्दामा अदालतबाट छुटेपछि जागिरमा जोडिएर फेरि भ्रष्टाचारमा मुछिने चन्द्रबहादुर श्रेष्ठ एक्ला कर्मचारी होइनन् । काभ्रेमा सहायक वन अधिकृत रहँदा २० हजार घुससहित रंगेहात पक्राउ परे पनि विशेष र सर्वोच्च अदालतबाट सफाइ पाएका प्रह्लादप्रसाद धिताल पनि पुनः भ्रष्टाचार प्रकरणमै पक्राउ परेका छन् । मकवानपुरको जिल्ला वन अधिकृत ९डिएफओ० रहँदा ब्रह्म सामुदायिक वनका रूख अवैध रूपमा काटेर बिक्री गरी भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।

सुब्बा चन्द्रबहादुर श्रेष्ठः धनीलाई छलेर ४० आना जग्गा बेचिदिए, पक्राउ परे पनि अदालतको आदेशमा छुटे, फेरि मालपोत फर्केर घुस धन्दा चलाएपछि पक्राउ
धनीलाई थाहै नदिई नक्कली लालपुर्जा बनाएर बुढानीलकण्ठको ४० आना जग्गा बिक्री गरेको आरोपमा मालपोत कार्यालय चाबहिलका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठसहितका कर्मचारी गत भदौमा पक्राउ परे । महानगरीय प्रहरी वृत्त गौशालाले उनीहरूविरुद्ध संगठित अपराध र ठगी मुद्दामा मुद्दा चलायो । चन्दनलाल कायस्थको सो जग्गा उनलाई थाहै नदिई बिक्री गर्दा उनको संलग्नताको प्रशस्त आधार देखिएकाले नै प्रहरीले दुई महिना थुनामा राखेर अनुसन्धान ग¥यो । त्यसपछि अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगले एक महिना थुनामा राखेर अनुसन्धान गर्‍यो ।

तर, काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि उनी पुनः चाबहिल मालपोतमै काममा फर्किए । साधारण तारेखमा छुटेपछि जागिरमा फर्किन पाउने प्रावधान छ । उनी पुनः खुलेआम घुसखोरीमा उत्रिए । एउटा फाइल खोज्नसमेत घुसविना नचल्ने भए । २३ जेठमा गोकर्णेश्वर–४ का सेवाग्राही आफ्नो जग्गाको मिसिलको प्रमाणित प्रतिलिपि लिन मालपोत पुग्दा दुई हजार नदिए मिसिल नखोज्ने चुनौती श्रेष्ठले दिए । हैरान भएपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेर घुस दिए । घुस लिएलगत्तै कार्यालयबाटै श्रेष्ठ पक्राउ परेका छन् ।

अदालतले साधारण तारेखमा छाडेपछि उनको हौसला बढेको अख्तियारका एक अधिकारी बताउँछन् । ‘सायद अदालतले नछाडेको भए चाबहिल मालपोतमा उनको घुसखोरीले निरन्तरता पाउने थिएन,’ ती अधिकारीले भने, ‘अझ पक्राउ परेर छुटेका कर्मचारी सोही मालपोत कार्यालयमै रहनु अर्को आश्चर्यको विषय छ ।’

डिएफओ प्रह्लाद धितालः काभ्रेमा सहायक डिएफओ छँदा रंगेहात समातिए, अदालतबाट सफाइ पाएपछि मकवानपुरको डिएफओ बनेर पुनः भ्रष्टाचार
प्रह्लादप्रसाद धिताल चार वर्षअघि काभ्रेमा सहायक वन अधिकृत छँदा २० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । व्यक्तिगत जमिनको रूख कटानको अनुमतिका लागि उनले घुस लिएका थिए । अख्तियार टोलीले बबरमहलबाट उनलाई रंगेहात पक्राउ गरेको थियो । तर, काभ्रेको कर्मचारी काठमाडौंमा पक्राउ परेको भन्दै विशेष र सर्वोच्च अदालतले सफाइ दियो ।

सफाइपछि धिताल मकवानपुरको डिएफओ बने । त्यहाँ रहँदा ब्रह्म सामुदायिक वनका रूख अवैध रूपमा काटेर बिक्री गरी भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध गत १ जेठमा एक करोड ५८ लाख बिगो दाबी गरी पुनः भ्रष्टाचार मुद्दा दायर भएको छ । ‘एकातर्फ कर्मचारीमा घुसको लत बसिसकेको छ, अर्कोतर्फ रंगेहात पक्राउ पर्दा पनि अदालतले सफाइ दिन थालेपछि उनीहरूको हौसला बढेको छ,’ अख्तियारका एक अधिकारीले बताएको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।