कैलाली । प्रहरीले अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सहितका तीनजनालाई पक्राउ गरेको विरोधमा व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका छन् ।
बुधबार बिहान अत्तरियामा रहेको उद्योग वाणिज्य संघको सभाकक्षमा पत्रकार सम्मेलन गरिरहेका बेला इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्ट नेतृत्वमा गएको प्रहरी टोलीले अध्यक्ष देवकोटा, कार्यसमिति सदस्य विपिन साउदसहित तीनजनालाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीले देवकोटासहितका ८ जनाविरुद्ध सार्वजनिक हित विपरितको क्रियाकलाप गरेको किटानी जाहेरी परेकाले पक्राउ गरेपछि व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका हुन ।
व्यवसायीहरुको समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा विरोध गर्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विरोध स्वरुप अत्तरियाका बजार वन्द गराइएको अत्तरिया उद्योग वाणिज्य संघका सचिव शंकर खड्काले जानकारी दिए ।
गोदावरी नगरपालिकाले असार १० आयोजना गरेको नगर परिषद्को उद्घाटन समारोहमा माइक तोडफोड गरेको, माइकको तार काटेको र कार्यक्रम विथोल्ने प्रयास गरेको भन्दै नगरपालिकाले देवकोटासहितका ८ जनाविरुद्ध किटानी दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए। पक्राउ गरिएका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।