१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बालबालिकालाई घर फर्काउनै गाह्रो’



अ+ अ-

काठमाडौं । काठमाडौँमा पछिल्लो ६ महीनाको अवधिमा १० पटक रात्रिकालीन अभियान चलाएर सडकमा पुगेका बालबालिकाको खोजी भयो ।

उक्त अभियानमा उद्धार गरिएका १५६ बालबालिकामध्ये १५ जना मात्रै परिवारमा फर्किन चाहे । घर जान नमान्ने १४१ बालबालिका उपत्यकाका विभिन्न पुनःस्थापनगृहमा राखिएको छ ।

काठमाडौँको ठमेलमा भेटिएका १५ वर्षीय एक बालकको सडकमा हिँड्न एउटा समूह नै छ । तर कोही पनि घर जाने मनस्थितिमा छैनन् । उनले भने, “सडक नै रमाइलो छ, घरमा यस्तो हुँदैन, त्यही भएर जान्न ।”

केही वर्षदेखि सडकको फोहरमा रमाउने अनि ‘डेन्ड्राइट–ग्लू’ सुँघेर नशामा बानी परेका बालबालिका भने झन् घरको नामै सुन्न चाहँदैनन् । डेन्ड्राइटलाई प्लास्टिकको थैलोमा राखेर सुँघ्ने अनि नशामा लठ भएर बस्ने, सडकमा मागेर हिँड्ने, चोरी गर्ने, फोहरको थुप्रोबाट खानेकुरा टिपेर खाने, कवाडीका सामग्रीहरु खोजेर बिक्री गर्ने उनीहरुको दैनिकी हो ।

यस्ता बालबालिका घर जानै मान्दैनन् । घर जानुपर्ने कहरले कतिले आफ्नो ठेगाना बताउँदैनन् । घरमा बुबाआमाको कुटाइ खानुपर्ने कारणले पनि घर नजाने अवस्था रहेको र बाबुआमा नै नभएका बालबालिका पनि घर जान मान्दैनन् । केन्द्रीय बालकल्याण समितिका सूचना अधिकारी रामबहादुर चन्द भन्नुहुन्छ, “त्यस्ता बालबालिकालाई घर फर्काउन गाह्रो छ, पुनःस्थापन गरिएका बालबालिकासमेत पुनः सडकमै फर्किएका छन्, हाम्रो प्रयास चाहिँ जारी छ ।”

बालबालिका खोजतलास समन्वय केन्द्रले काठमाडौँ उपत्यकामा भेटिएका घर जान नमान्ने बालबालिकालाई कुलतबाट छुटाउन पुनःस्थापन केन्द्रमा राख्ने गरेको छ । “कुलतबाट निस्किएपछि ठाउँ ठेगाना बताउने अवस्थामा पुग्न सक्छन्, अनि परिवार खोजेर जिम्मा लगाइन्छ, नभए उनीहरुलाई बाल संरक्षण केन्द्रमा राखेर शिक्षादीक्षाको कार्यक्रम सञ्चालन हुन्छ”, केन्द्रका प्रमुख प्रहरी निरीक्षक मोहनविक्रम दाहालले भन्नुभयो ।

परिवार भएका ६० प्रतिशतभन्दा बढी बालबालिका सडकमा पुगेको बालकल्याण समितिको अध्ययनले देखाएको छ । कतिपय लहलहैमा लागेर सडकमा पुग्छन्् । सडकमा पुग्ने र बालश्रममा पर्ने करीब ६० प्रतिशत बालबालिकाको परिवार विखण्डनमा परेको पाइएको छ । 

बाबु विदेशमा भएको र आमाको दोस्रो बिहे भएपछि कतिपय सडकमा पुगेका छन् । बाबुले अर्को बिहे गरेपछि बालबालिका घर छाड्न बाध्य भएका पनि छन् । बाबुआमा भएकाहरु देखासिकीमा राम्रो खाने, घुम्ने र रमाइलो गर्ने चाहनामा घर छाड्ने पनि छन् ।

मुख्यतः आर्थिक अवस्था कमजोर, पारिवारिक बेमेल, मदिरा सेवन, घरेलु हिंसा, आमा अर्कैसँग गएपछिको समस्या, अशिक्षा तथा वैदेशिक रोजगारीलगायतका कारणले बालबालिकाहरु सडकमा पुग्ने गरेका छन् । अघिल्लो वर्ष काठमाडौँबाट ८७३ बालबालिकालाई सडकबाट उद्धार गरिएको थियो । तर सडकमा बालबालिका आउने क्रम भने नरोकिँदा समस्या कायमै छ ।

नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था छ । धारा २९ मा शोषणविरुद्धको हक तथा धारा ३९ मा शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारको हकको व्यवस्था छ ।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७ मा जोखिममा परेका र सडक बालबालिकाको सुनिश्चित भविष्यका लागि राज्यबाट विशेष संरक्षण पाउने हक हुने उल्लेख छ । सडकबालबालिका उद्धार संरक्षण तथा व्यवस्थापन मार्गदर्शन २०७२ ले सडक बालबालिका उद्धार संरक्षण र पुनः एकीकरणलगायतमा सरकारलाई जिम्मेवार बनाएको छ । तर पनि बालबालिका जोखिममा पर्ने क्रम भने रोकिएको छैन । बालबालिका सडकमा आउन नदिने कार्यक्रमका विषय भने गौण छ ।