काठमाडौं । चाबहिलको पशुपति मावि छेउ चिया खाने ठाउँमा दुवै समूहका युवाबीच ‘आँखा तरातर’ हुँदा ‘ग्याङ फाइट’ परेको छ । उक्त फाइटमा दुई जना घाइते भएका छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनामा संग्लग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राई छन् ।
शुक्रबार दिउँसो उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त, गौशालामा राखिएको डीएसपी बोगटी बताए । घाइतेमध्ये विजय बानियाँको अवस्था गम्भीर छ । हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत बायिनाँको पेटमा छुरी प्रहार भएको थियो ।
हाल उनलाई भेन्टिलेटरमा राखिएको छ । अर्का घाइते सुदीप घिमिरेको छातीमा चक्कु प्रहार भएको थियो । उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् ।