• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड

खडेरीका कारण धान रोपाइँमा समस्या



उदयपुर । खडेरीका कारण असार महीनाको धान रोप्ने मौसममा उदयपुर जिल्लामा धान रोपाइँमा समस्या भएको छ ।

आकाशे पानी नपरेका कारण धान रोपाइँमा समस्या भइरहेको बेला खडेरीले साना–साना खोलानालाको पानी समेत सुक्न थालेको छ । कुलोबाट सिँचाइ गरेर धान रोपाइँ गर्न समेत समस्या हुन थालेको सम्बन्धित किसान बताउँछन् ।

त्रियुगा नगरपालिका–७ असारीका स्थानीय किसान जनक रेग्मी भन्नुहुन्छ,“यस पटक धान रोपाइँ गर्ने समय भइसक्यो, आकाशे पानी पनि पर्दैन, स्थानीय बरुवा खोलाको कुलोबाट सिँचाइ गरेर धान रोप्ने गर्दै आएको भए तापनि पानी सुकेर कमिला हिँड्न थाल्यो, अब यस पटक धान रोपाइँमा ठूलै समस्या भोग्नुपर्ने भयो ।”

चौदण्डी गढी नगरपालिका– ३ हँडियाका किसान देवराम चौधरीको पनि गुनासो उस्तै छ । चौधरी भन्नुहुन्छ,“आकाशे पानी अहिलेसम्म पनि आउनै सकेन, झनै खडेरी बढ्दै गइरहेको छ, देबधार तथा त्रियुगा खोलाको पानी सुकेर कुलो नै नचल्ने अवस्था आयो, यस पटक धान रोपाइँ हुने अवस्था छैन ।”

विगतका वर्षमा चौदण्डीको हँडिया तथा सुन्दरपुर क्षेत्रमा असारको तेस्रो हप्ता सम्ममा ४० प्रतिशत धान रोपाइँ भइसक्थ्यो । यस पटक खडेरीका कारण ५ प्रतिशत पनि धान रोपाइँ नभएको समेत चौधरीले बताउनुभयो ।

यस्तै कटारी नगरपालिका मरुवाका किसान दोदराज थापा समेत यस पटक खडेरीको कारण खोलानालामा पानी सुकेर कमिला हिँड्ने भएको कारण खोलाको कूलोबाट समेत धान रोपाइँ हुने आस हराएको थापा बताउनुहुन्छ ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिलेसम्म उदयपुरमा– ७ प्रतिशत पनि धान रोपाइँ हु्नसकेको छैन । उदयपुरमा वर्षेनी करीब १४ हजार हेक्टरमा धानखेती हुँदै आएको छ ।

अहिलेसम्म एक दुई पटक आकाशे पानी परेको भए खोलानाला रसाएर पानीको स्रोत बढ्ने थियो । आकाशे पानी कम परेपनि धान रोप्ने सम्भाव हुने थियो, तर सामान्य रुपमा पनि आकाशे पानी नपर्दा खोलानालाको कूलोसमेत सञ्चालन गरेर धान रोप्ने अवस्था असम्भव भएको किसानको गुनासो छ ।

त्रियुगा नगरपालिका– ४ बगाहाका शिवराम चौधरीका अनुसार विगतमा आकाशे पानी कम परेपनि खोला नालामा पानी नसुक्नाले गर्दा कूलोबाट धान रोपाइँ हुनेगरेको थियो । “तर, यस पटकको खडेरीको कारण खोलानालाको पानीको स्रोत नै सुकेकोले धान रोपाइँलाई समस्या हुने भो”, चौधरीको गुनासो छ ।

जिल्लाको बेलका नगरपालिकाको सेतीखोला, कालीखोला, लालखोला, सिसुवा खोलामा समेत पानीको स्रोत सुक्न थालेका कारण अहिले यसक्षेत्रमा कूलोबाट समेत धान रोपाइँ हुन नसकेको बेलका– ३ का धनबहादुर कार्की बताउनुहुन्छ ।

खडेरीले मकैबाली नष्ट भए पनि धान रोप्न सहज हुनसक्ने अनुमान गरेका किसान झनै खडेरीले खोलानाला सुक्न थालेपछि यस पटक धान रोप्न नपाइने समस्याले चिन्तित बन्न थालेका हुन् ।