काठमाडौं । गएरातिको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चाकु ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।
भोटेकोसी गाउँपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने मार्मिङ खोलामा बगेर साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।
घाइते भोटेकोशी गाउँपालिका–५ का कामी तामाङ र भोटेकोशी–४ का तेम्वा चोक्याल शेर्पालाई आज बिहान हेलिकप्टरबाट काठमाडाँै लगिएको छ ।घाइते दुवैको ललितपुरस्थित बिएण्डवी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
गएराति भोटेकोशी नदीमा आएको बाढीले नदी नजिकका चारवटा हाइड्रो पावरमा क्षति पुगेको छ । बाढीले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी, शुभश्री र चाकुखोला हाइड्रोपावरमा क्षति पुगेको छ । क्षतिको पूर्णविवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।