८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा



अ+ अ-

विराटनगर । तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर–१ स्थित परोपकार घाटका छेउछाउका ५० भन्दा वढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण विराटनगर–१२ को केही क्षेत्रसमेत डुवानमा परेको छ । उक्त स्थानमा रहेका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको कारण कुनै मानवीय क्षति भएको छैन । कटहरी गाउँपालिका–१ झझौरा टोल र बख्खु टोलमा ५० भन्दा बढी घर डुबानमा परेको छ ।

विराटनगरका सडक निर्माणाधीन अवस्थामा रहेकाले अविरल वर्षाका कारण नगरवासीलाई हिँड्डुल गर्न पनि सकस परेको छ । केही महीना अगाडि सडक तथा नाली निर्माण गर्न भत्काइएको र निर्माण कार्य सम्पन्न नभएकाले सडक हिलाम्य भएकाले यो समस्या देखिएको हो ।

विराटनगर महेन्द्र चोकदेखि पूर्व ट्राफिक चोकसम्म, ट्राफिक चोकदेखि उत्तर तीनपैनीसम्म, प्रादेशिक अस्पताल (कोशी अस्पताल) चोकदेखि उत्तर तीनपैनी चोक, ट्राफिक चोकदेखि पूर्व न्यूरो अस्पताल जाने सडक, देवकोटा चोक छेउछाउका सडक, जनपथ सडक, सरौचियाबाट राजमार्ग जोड्ने केही सडक कच्ची भएकाले मानिस तथा यातायातका साधनलाई ओहोरदोहोर कठिनाइ भएको छ ।

कच्ची सडक, निर्माणाधीन नाला, हिलाम्य र खाल्डाखुल्डी पार गर्दै सवारीसाधन चल्दा दुुर्घटना हुने सम्भावना बढेको छ । हिलाम्य र खाल्डाखुल्डीले गर्दा निजी तथा आवासीय विद्यालयबाट सञ्चालित हुने सवारीसाधन र सामुदायिक विद्यालय विद्यार्थीलाई पनि निकै समस्या भएको छ । झरीले गर्दा बजारमा तरकारीको आयात कम भएको छ भने भएका उपलब्ध हरियो सागसब्जी महँगो भएको छ ।

झरी केही समय रहने हो भने जिल्लाका बक्राहा, केसलिया, सिंगियाजस्ता ठूला नदीमा बाढी आउने सम्भावना बढेकाले त्यस क्षेत्रका सशस्त्र, जनपद प्रहरीलाई सर्तक रहन प्रशासनले निर्देशन दिएको छ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा हुने वर्षाबाट उत्पन्न हुने समस्या समाधानका लागि तत्काल उद्धार टोली परिचालन गरेको छ । लगातारको वर्षाले प्रादेशिक अस्पताल (कोशी)को परिसरमा पानी जम्ने समस्यालाई समाधान गर्न मोटरबाट पानी निकासको व्यवस्था गरिएको छ ।