१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध सडक सञ्चालनमा



अ+ अ-

काठमाडौं । बिहीबारदेखिको अविरल वर्षा र बाढीका कारण अवरुद्ध भएका अधिकांश सडकमा यातायात सञ्चालनामा आएका छन् ।
खासगरी मकवानपुर, सिन्धुली, रामेछाप, भोजपुर, धनकुटा, ओखलढुङ्गा, रौतहट महोत्तरीलगायत जिल्लाका विभिन्न सडक अवरुद्ध भएका थिए । त्यस्तै मुस्ताङ, मनाङ, पाल्पा, कालीकोटमा पनि सडकहरू अवरुद्ध भएका थिए ।

पूर्व–पश्चिम राजमार्गको महोत्तरीमा पर्ने भप्सी खोलाको पुल बग्दा सोमबार यातायात अवरुद्ध भएको थियो । त्यहाँ अहिले नयाँ डाइभर्सनमार्पmत सडक सञ्चालन गरिएको छ । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार त्यहाँ तत्काल बेलीब्रिजसमेत जडान गर्ने तयारी भइरहेको छ ।

“विभागले बर्खा लाग्नुपहिले नै आवश्यक तयारी गरेको थियो । विभाग मातहत देशैभरका विभिन्न कार्यालयका एक्सक्याभेटर, डोजरजस्ता उपकरण तयारी अवस्थामा राखिएको थियो,” सापकोटाले थप्नुभयो ।
मुस्ताङको थासाङ घोप्टेभीरमा कालीगण्डकी नदीले सडक बगाउँदा शुक्रबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा पनि यातायात सञ्चालनमा आएको छ । त्यहाँ अहिले एकतर्फी रुट मात्र सञ्चालनमा ल्याइएको छ । पृथ्वी राजमार्गमा पनि यातायात सञ्चालनमा अब कुनै अवरोध छैन । त्रिभुवन राजपथको यातायात पनि निर्वाध चलिरहेको छ तर निर्माणाधीन हेटौँडा–कुलेखानी–काठमाडौँ सडकमा भने समस्या देखिएको छ ।
तराईको रौतहट र महोत्तरीका सडक पानीको मात्रा घट्दै गएपछि सञ्चालनमा आउन थालेको विभागले जनाएको छ । खासगरी सडक नहुँदा राहत र उद्धारमा समस्या परेको गृह मन्त्रालयले सूचित गरेपछि सडकको तत्काल मर्मतका लागि तीव्रता दिइएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । अवरुद्ध बीपी राजमार्गमा पनि यातायात सञ्चालनमा आएको जनाइएको छ ।

मध्यपहाडी राजमार्गको सिन्धुली क्षेत्रमा बहादुरे खोला, सोलु खोला र खाङसाङ खोलामा आएको पहिरोले सो राजमार्ग पनि शुक्रबारदेखि अवरुद्ध थियो तर अधिकांश स्थानमा सिङ्गल ट्र्याक खोलेर सुचारु बनाइएको उहाँले बताउनुभयो ।

ओखलढुङ्गाको सिद्धिचरण राजमार्गमा पनि अवरोध हटाउने कार्य जारी रहेको विभागले जानकारी दिएको छ । त्यस्तै बुटवल–पाल्पा जोड्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड भने अझै चुनौतीपूर्ण छ । विगतका वर्षमा समेत संवेदनशील बन्ने गरेको सो क्षेत्रमा एकतर्फी यातायात चलाउने प्रयास भइरहेको छ तर पहिरो आउने क्रम जारी रहँदा यातायात कुनै बेला बन्द कुनै बेला खुला रहने अस्थिर अवस्था रहेको जनाइएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।