१० असार २०८३, बुधबार
,
Latest
रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने



अ+ अ-

काठमाडौँ । रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एकपछि अर्को गर्दै निर्माण सम्पन्न हुन थालेका छन् । प्राधिकरण नेतृत्वको नियमित अनुमगन र आवश्यक निर्देशनका कारण ऊर्जाका पूर्वाधारको विकास र विस्तारले गति लिएको छ ।

प्राधिकरणले कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेशन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेशनमा लगिएको छ । सबस्टेशनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरलाई चार्ज गरी सञ्चालनमा ल्याइएको हो । सबस्टेशनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि चार वटा फिडर निकालिएको छ । यसमध्ये तीन वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ ।

मोतीपुर सबस्टेशनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा  विद्युत् आपूर्तिका लागि क्रमशः ३३ केभी र ११ केभी  फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत् आपूर्ति भइरहेको थियो । लामो लाइनबाट विद्युत् आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्पझ्याप्प बत्ती जानेलगायत समस्या थियो । अब मोतीपुर सबस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने र प्राविधिक चुहावट पनि घट्ने छ । सालझण्डीमा ३३-११ केभी क्षमताको सबस्टेशन निर्माणाधीन छ । सबस्टेशनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुनेछ ।

बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर सबस्टेशन निर्माण गरिएको हो । आयोजनाअन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा  १३२/३३/११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ । सन्धिखर्क सबस्टेशन आगामी १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क खण्ड प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको निर्माण सम्पन्न भएको छ । यस खण्डमा पर्ने ३८ किलोमिटर प्रसारण लाइनमध्ये १३ किलोमिटर तार टांगिएको छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङका विद्युत् आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि आयोजनाको निर्माण गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
 
आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेशन निर्माणाधीन छन् । नेपाल सरकारको लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत करिब रु ३ अर्ब छ । आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । (रासस)