११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध
अ अ+ अ-

– पूर्णप्रसाद मिश्र

काठमाडौँ । जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन् ।

सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको चार वर्ष बित्दा समेत काम शुरु नगरी माटो हालेर थप समस्या ल्याउन खोजिएको स्थानीयवासीको आरोप छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी नन्दलाल श्रेष्ठको गुनासो छ ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार एवं कालोपत्रका लागि पहिलो पटकको म्याद सकिएर थपेको समय पनि भदौमा सकिँदैछ । तर सडकको अवस्थामा कुनै परिवर्तन भएको छैन । सार्वजनिक जग्गा भएका स्थानमा विस्तार गर्न पर्खाल लगाए पनि अन्यत्र काम शुरु हुन सकेको छैन । काम शुरु हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन । सार्वजनिक जग्गामा पर्खाल लगाएको ठाउँमा समेत खाडल नपुर्दा सवारी आवागमनमा समस्या छ ।

गोकर्णेश्वर महादेव मन्दिरबाट भगवतीस्थानतिर आउने मूल सडकमा पर्खाल लगाए पनि बीचमा पर्ने रुख अझै काटिएको छैन । यसले गर्दा यातायात सञ्चालनमा अप्ठ्यारो भइरहेको छ । धेरै सवारी साधन फस्ने गरेको यात्रु श्याम पुडासैनीले बताउनुभयो ।

सडकको विभिन्न स्थानमा बनेका खाडलमा ताल र पोखरी छन् । करीब सात किमीको यो सडक विस्तार एवं निर्माणका लागि दुई चरणमा ठेक्का गरिएको थियो । दुवैतर्फको अधिकांश भागमा काम शुरु हुनसकेको छैन । काम शुरु गरेको स्थानमा पनि पूरा नगरी झुलाएर राखिएको छ ।

विसं २०७२ मा गरिएको ठेक्काको पहिलो पटकको म्याद गत भदौमा सकिएपछि एक वर्षका लागि समय थप गरियो । थप गरिएको समय सकिन एक महीनामात्र बाँकी हुँदा काम भने शुरु हुनसकेको छैन । सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । सङ्घीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दा कुमार श्रेष्ठको गुनासो छ ।

सडकको केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक विस्तार गर्न काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो । दुई खण्डमा गरी करीब रु ५५ करोडको ठेक्का गरियो । मुआब्जा पाउनुपर्ने माग गर्दै स्थानीयवासीले विरोध जनाएपछि काम हुनसकेन । विसं २०७४ असोजमा सर्वोच्च अदालतले स्थानीयवासीको घरजग्गा लिएर सडक विस्तार गर्दा मुआब्जा दिनुपर्ने फैसला गरेको थियो ।

फैसलालाई पुनरावलोकन गर्न सडक विभागले गरेको पुनरावेदनमा पनि मुआब्जा दिएरै विस्तार गर्न आदेश जारी भइसकेको छ । यो सडकको सबै भाग गोकर्णेश्वर नगरपालिकामा पर्छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना स्थानीयवासीको समस्या, सर्वोच्चको फैसलालाई ध्यान दिएर केन्द्रविन्दुबाट दायाँबायाँ सात÷सात मिटर कायम गर्ने प्रस्ताव गरिएको बताउनुहुन्छ ।

समस्या समाधानका लागि आजै आयोजनाको कार्यालय नयाँ बानेश्वरमा तीनै तहका जनप्रतिनिधिसहित सडक विभागका अधिकारीको बैठक भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यो प्रस्तावमा प्रदेश र सङ्घीय संसद्मा निर्वाचित जनप्रतिनिधिको सहमति नजुट्दा समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो । करीब सात किमीको यो दूरीमा नौ सय घर छन् । स्थानीयवासीको सहमतिअनुसार सात÷सात मिटर बढाउँदा कसैलाई चित्त नबुझे सर्वोच्च अदालतको फैसला बमोजिम मुआब्जा तिरेर बढाउन सकिने जोरपाटी–सुन्दरीजल सडक विस्तार सरोकार समितिका संयोजक सरोजकुमार श्रेष्ठ बताउनुहुन्छ ।

“चावहिल–बोद्ध–जोरपाटी–थली–साँखुको जस्तो मापदण्ड जोरपाटी–सुन्दरीजलको तोकिएको छैन, ठेक्का गर्दा नै बिनाआधार केन्द्रविन्दुबाट ११÷११ मिटर विस्तार गर्ने भनी सूचना जारी गर्दा अहिले समस्या आएको हो”,उहाँले भन्नुभयो । अन्य सडकमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले विसं २०३३ र २०४५ मा तयार पारेको मापदण्ड छ । जुन मापदण्ड तत्कालीन नगर विकासले तयार पारेको थियो । जोरपाटी–सुन्दरीजल सडकको मापदण्ड छ भनी लेखेको कागजात देखाए पनि अन्य सडकको जस्तो प्रमाणित दस्तावेज हालसम्म नभेटिएको विस्तार सरोकार समितिले जनाएको छ ।

यो खण्डको सडकको दूरावस्थाले दैनिकजसो सार्वजनिक यातायात दुर्घटनामापर्ने गरेको विस्तार सरोकार समिति सचिव सुशील सिम्खडाले सुनाउनुभयो । मुआब्जा तिरेर केन्द्रविन्दुबाट ११÷११ मिटर सडक बढाउन तयार नभए सहमतिमा सात मिटर वा त्यसमा समेत सहमति नभए अहिलेकै अवस्थामा कालोपत्र गरी सडकलाई ताल एवं पोखरीबाटमुक्त गरिनुपर्ने उहाँले बताउनुभयो ।

एक महीनाअघि जीर्ण सडकमा पुरानो सवारी गुडाएका कारण बा २ ख ८७४४ नं को सार्वजनिक यातायात दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको थियो । दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका थिए । तीमध्ये आधादर्जन गम्भीर घाइत भई अझै उपचाररत छन् ।

चावहिल–बौद्ध–जोरपाटी–थली–साँखु सडक विस्तार समेत पूरा नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । यो मार्गको बीचबीचमा १००÷२०० मिटर कालोपत्र गरिए पनि अधिकांश भाग हिलाम्य छ ।

ठाउँ ठाउँमा बनेका खाडलमा वर्षाद्मा परेको पानी जमेर गाडी हिँड्दा छप्ल्याङ् छप्ल्याङ गरी सडक किनारमा हिँडेका यात्रुको जीउभरी हिलो छ्यापिने गर्छ । घाम लागेका बेला भने धुलोले सडक नदेखिने समस्या रहेको इन्द्रायणीका रामचन्द्र श्रेष्ठले बताउनुभयो । जीर्ण यो सडक छिटो कालोपत्र हुनुपर्ने माग गरी डेढमहीना अघि बन्द गरेर विरोध जनाए पनि समस्या समाधान नभएको उहाँको गुनासो छ ।

जति तहका सरकार भए पनि जन सरोकारका विषयमा काम हुननसकेको उहाँले बताउनुभयो । राजधानीका विभिन्न स्थानका सडक लामो समयदेखि बन्न नसकेपछि स्थानीयवासी जनप्रतिनिधिसँग रुष्ट छन् । जनसरोकारका विषयमा जनप्रतिनिधिको ध्यान जान नसकेको पीडित उपभोक्ताको भनाइ छ ।

सडक बनाउने निर्माण व्यवसायीसँग आर्थिक लाभ लिन साँठगाठमा जनप्रतिनिधि संलग्न हुँदा यस्ता मुद्दा ओझेलमा पर्ने गरेको नारायणटारवासी ज्ञानेन्द्र खतिवडाले बताउनुभयो ।