२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित गाउँका पहिलो शिक्षक



अ+ अ-

गलकोट । बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । दुई सय परिवारले दुई धाराको खानेपानी प्रयोग गर्दै आएका छन् ।

बागलुङ नगरपालिका–८ सिगानास्थित लामिचौरको दलित बस्तीमा २०० घरपरिवार बस्दै आएका छन् । शैक्षिक क्षेत्रमा पछि परेको गाउँबाट २२ वर्षका विशाल परियार पहिलो शिक्षक बन्नुभएको छ । यहाँको शैक्षिक गुणस्तर बढाउँदै पढाइप्रति जागरुक बनाउनका लागि आफूले शिक्षक पेसा रोजेको परियारको भनाइ छ ।

परियारले २०७८ मा खुलेको शिक्षक सेवामा प्रावि र निमाविमा एकैपटक लिखित परीक्षा पास गर्नुभएको थियो । अन्तर्वार्तामार्फत प्राविमा नाम निकाल्न सफल परियार अहिले गाउँमै रहेको सिगाना मावि लामिचौरमा अध्यापन गराइराख्नुभएको छ ।

उहाँले आफ्नो सपना नै शिक्षक बन्ने रहेको सुनाउनुभयो । “घर नजिकै माध्यमिक विद्यालय छ, त्यहाँ अधिकांश दलित समुदायकै विद्यार्थी छन्, तर बीचमै पढाइ छाड्ने र रोजगारीका लागि विदेश जाने परम्परा व्याप्त छ, लोकसेवा आयोग, शिक्षक सेवा आयोगमा परीक्षा दिने चलनै छैन”, परियारले भन्नुभयो, “यहाँको पढाइ छाड्ने परम्परा तोड्न र आफूले गाउँमै बसेर सेवा गर्न इच्छा आयो, त्यसैले शिक्षक सेवाको परीक्षा दिए, पहिलो वर्षमै नाम निस्क्यो, अहिले आफ्नै गाउँका विद्यार्थी पढाउन पाउँदा खुसी छु ।”

पहिलोपटक दिइएको शिक्षक सेवा आयोगको परीक्षामा लिखिततर्फ प्रावि र निमावि दुवैमा नाम निकाल्न सफल भएको बताउँदै परियारले अन्तर्वार्तामा गएर प्राविमा सफल भएको जानकारी दिनुभयो । मैले यही सिगाना मावि लामिचौरमै पढेर शिक्षक भएर आए भने अन्य भाइबहिनीहरुले समेत सक्नुहुन्छ भन्ने हेतुले हौसला दिइराखेको परियारको भनाइ छ ।

उहाँले अधिकांश दलित विद्यार्थीलाई पढाउन शिक्षक बाहिरबाट आउने गरेको जनाउँदै यहाँबाट शिक्षक उत्पादन नहुँनु दु:खद रहेको बताउनुभयो । अङ्ग्रेजी विषयमा स्नातक अध्ययन गरिसक्नुभएका परियारले आफू गाउँकै पहिलो शिक्षक भएको बताउनुभयो । गाउँबाट पहिलो शिक्षक भएपछि समाजले हेर्ने दृष्टिकोणसमेत परिवर्तन भइसकेको बताउँदै परियारले गाउँलाई शैक्षिक क्षेत्रमा उकास्न आफूले शिक्षक पेसा रोजेको सुनाउनुभयो ।

“आयोग पास गर्ने, नेपालकै जागिर खाने चलन दलित बस्तीमा थिएन, भर्ती हुन नसके विदेश जाने चलनलाई चिर्न आवश्यक छ, कम्तीमा उच्च शिक्षा हासिल गर्दा गाउँकै विकासमा सहयोग पुग्छ भन्ने लाग्छ”, उहाँले भन्नुभयो, “दुई सय घरपरिवार भएको दलित गाउँबाट पहिलो शिक्षकका रुपमा आफ्नै गाउँमा सेवा गर्ने मौका पाएको छु, आगमी दिनमा भाइबहिनीहरुलाई समेत ऊर्जा र प्रेरणा मिल्नेछ ।”

सिगानाभरमा धेरै शिक्षक उत्पादन भए पनि दलित बस्तीबाट विशाल पहिलोपटक शिक्षकका रुपमा विद्यालयमा अध्यापनरत रहेको सिगाना माविका शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोविन्दप्रसाद गौतमले जानकारी दिनुभयो । गौतमले पढाइमा अब्बल परियारले अन्य क्षेत्रसमेत रोज्नसक्ने भन्दै शिक्षक बनेर गाउँकै विद्यालयमा पढाउने उद्देश्य राख्नुले समग्र गाउँकै प्रेरणा बनेको बताउनुभयो । रासस