२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जो निद्रामा घरसँगै बगे



अ+ अ-

गुल्मी । आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान् तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तर्खरमा लागिन् ।

दुई कोठाको सानो घर । माथिल्लो तलामा सुत्न नमिल्ने भएकाले सामान मात्र राखिन्थ्यो । तल भान्सामै एउटा र अर्को कोठामा दुई बिस्तारा थिए । सधैं पल्लो कोठामा सबै सँगै सुत्थे । तर सोमबार उनले दुई छोरीलाई भान्सामै सुताइन् । आफू ९ वर्षीय छोरासँग अर्को कोठामा सुतिन् । ५–७ घण्टा उनी राम्रै निदाइन् होला तर त्यसपछि ब्युँझने अवसर नै पाइनन् । आमाको न्यानोमा निदाएका बालक पनि पहिरोले बगाएको घरसँगै बिदा भए ।

पल्लो कोठामा सुतेका दुई छोरीहरूको भने कथा अर्कै भयो । उनीहरू पनि अरूहरूझैं मस्त निद्रामै थिए । अचानक पत्तो पाए– घर घरक्क गर्‍यो, अनि गर्ल्यामगुर्लुम भत्कियो । ‘एकैचोटि च्यापिएपछि थाहा पायौं,’ १३ वर्षीया छोरी धनी तरामुले भनिन्, ‘त्यसपछि केही थाहा पाएनौं ।’

छिमेकी भोजकुमारी तरामुका अनुसार बिहान ५ बजे पहिरो गएको थियो । घरको संकेतसमेत नरहने गरी बगेको छ । दुई छोरी तल्लो बारीमा काठले च्यापिएको अवस्थामा फेला परेका थिए । तिलकुमारी र छोरा दर्शनको भने अझ तल पुरिएको अवस्थामा शव भेटिएको थियो ।

घाइते दुवै बालिकालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको छ । उनीहरूलाई आमा र भाइको अवस्था जानकारी गराइएको छैन ।

बहिनी ११ वर्षीया करिश्माको टाउकामा बढी चोट छ । उनको दायाँ हात र ढाडमा पनि समस्या देखिएको छ ।

पहिरोको घेराबन्दीमा परेको सत्यवती–३ लुम्पेकमा खाद्यान्न संकट भएको छ । ढुवानी व्यवसायीको पाँच दिनदेखिको आन्दोलनले खाद्यान्न पुग्न नसकेका बेला पहिरोले थप अवरोध गरेको हो । कालीगण्डकी करिडोरदेखि गाउँसम्म पुग्ने १० किलोमिटर सडकमा ५० भन्दा बढी पहिरा छन् । नजिकको बजारबाट समेत खाद्यान्न पुर्‍याउन सकिएको छैन ।

पहिरोले विस्थापित भएर विद्यालयमा बसेका गर्भवती, सुत्केरी, बालबालिकासहित वृद्धवृद्धा मर्कामा छन् । सिङी, मुरुङी, पल्लोखोला, कुतडाँडा, रितडाँडालगायत बस्तीसँग सम्पर्क टुटेको छ । मंगलबार र बुधबार दिउँसो वर्षा केहीबेर रोकिए पनि फेरि सुरु भएको छ । गाउँलेले घर छोडेर स्थानीय धर्मपुर माविमा आश्रय लिएका छन् । पहिरो खस्ने डरमा उनीहरूले घरमा भएको खानेकुरा र लत्ताकपडा पनि बाहिर निकाल्न सकेका छैनन् ।

‘सामूहिक मेसमा दैनिक झन्डै ४ सयलाई खाना खुवाइरहेका छौं,’ स्थानीय टोल विकास संस्थाका संयोजक गिरबहादुर परियारले भने, ‘बुधबार बिहानसम्म जेनतेन खाद्यान्न पुगे पनि साँझदेखि समस्या छ ।’

वडाध्यक्ष रुकबहादुर कुँवरका अनुसार पहिरोले २२ घर भत्किएका छन् । ५० भन्दा बढी घर जोखिममा छन् । उनले भने,
‘चट्याङसहितको वर्षा नरोकिएकाले थप जोखिम र क्षतिबाट जोगाउन सामूहिक रूपमा राखिएको छ ।’ आश्रय लिनेमा ७ गर्भवती र त्यत्तिकै संख्यामा सुत्केरी छन् ।

बिरामी र वृद्धवृद्धाका लागि गाउँपालिकाले मेडिकल अधिकृत डाक्टर शिला ढकालको नेतृत्वमा गाउँमै स्वास्थ्यकर्मी परिचालन गरेको छ । तर, औषधि अभाव छ । ‘स्वास्थ्यमा ठूलो समस्या छैन्,’ डा। ढकालले भनिन्, ‘तर, खाद्यान्न अभावले गर्भवती, सुत्केरी र बालबालिका प्रभावित छन् ।’ प्रदेशको सामाजिक विकास मन्त्रालयले पठाएको औषधि सडक थुनिँदा अस्लेवामै थन्किएको छ ।

खाद्यान्न संकट बढदै गएपछि परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार नै सेनाको हेलिकप्टरमार्फत २० क्विन्टल चामल, २ क्विन्टल दाल, १ क्विन्टल चिउरा पठाएका छन् । मंगलबार नै दुवै स्थान अवलोकन गरेर फर्केका उनले २४ घण्टाको प्रयासपछि घाइतेको उद्धार र केही खाद्यान्न पुर्‍याउन सकिएको बताए । ‘मौसमकै कारण चाहेर पनि तत्काल उद्धार गर्न सकिएन्,’ उनले भने, ‘जसोतसो आज सफल भइयो ।’ उनले विस्थापितको व्यवस्थापन तत्काल सुरु गर्न सुरक्षाकर्मी र जनप्रतिनिधि परिचालन गरिएको बताए । सुरक्षित जग्गा खोजीपछि सरकारले नै आवासका लागि पहल गरिदिने उनको भनाइ छ ।

भूकम्पले चर्केका गाउँमा पहिरो
स्थानीय गिरबहादुर परियारका अनुसार २०७२ को भूकम्पले जोखिममा पारेका बस्तीमा अहिले पहिरो गएको हो । ढुंगा चाल्ने र सिङी गाउँमा जमिन चर्किएको थियो ।

लुम्पेकका अधिकांश बस्ती डाँडामा छन् । सत्यवती ४ लिम्घाको भिरकुना पनि पहिल्यैदेखि पहिरोको जोखिम क्षेत्र हो । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले दुवै बस्ती डाँडामा रहेकाले पनि भूकम्प र पहिरोको जोखिममा रहेको बताए । ‘पहिला भूकम्पको जोखिम थियो,’ स्थलगत अवलोकनमा पुगेका उनले भने, ‘अहिले तिनै बस्ती पहिरोको जोखिममा परे ।’ डाँडाका बस्ती स्थानान्तरणको विकल्प नरहेको उनले बताए ।

मृतक १२ पुगे
लुम्पेक र लिम्घामा गरी पहिरोमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । लुम्पेकमा ५ र लिम्घामा ७ जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता लुम्पेक, सिङीकी ४० वर्षीया माया विक र उनका छोरा १५ वर्षीय बबी विकको शव बुधबार भेटिएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घर्तीले बताए । त्यस्तै सत्यवती, भिरकुनाको पहिरोमा हराइरहेका २ मध्ये ६ वर्षीय सुमन विकको शव फेला परेको सइ खोमबहादुर कुँवरले जानकारी दिए । लिम्घामा ८ वर्षीय तारा विक अझै बेपत्ता छिन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।