१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकाका लागि किनिएको पिठोमा ‘भिटामिन ए’ नै छैन



अ+ अ-

काठमाडौं । सरकारले कर्णालीका पाँच जिल्लामा वितरण गर्न किनेको पोसिलो पिठो गुणस्तरहीन पाइएको छ । दुई वर्षसम्मका बालबालिका र गर्भवतीलाई वितरण गरिने पिठोमा भिटामिन ए नभएको परीक्षणबाट पुष्टि भएको छ । पोसिलो पिठोमा अत्यावश्यक तत्व नै नभएपछि अहिले वितरणमा रोक लगाइएको परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले बताए ।

विश्व खाद्य कार्यक्रमले गुणस्तर मापन गर्दा भिटामिन ए नपाइएको उनले जानकारी दिए । यसैकारण केही महिनाका लागि पौष्टिक पिठो वितरण कार्यक्रम स्थगित हुन सक्ने अधिकारीहरूको भनाइ छ ।

सरकारले कुपोषण उच्च रहेको कर्णालीका पाँच जिल्ला हुम्ला, जुम्ला, मुगु, कालिकोट र डोल्पामा २० तथा सोलुखुम्बुमा १० वर्षदेखि पोसिलो पिठो वितरण गर्दै आएको छ । यसका लागि सरकारले गत वर्ष आठ करोड बजेट विनियोजन गरेको थियो । ६ जिल्लाका लागि विनियोजित बजेट अर्थ मन्त्रालयले ७७ वटै जिल्लामा पठाएको थियो । पछि त्यो रकम परिवार कल्याण महाशाखाले फिर्ता गराएको थियो ।

शारदा ग्रुपले बनाएको पिठो गुणस्तरहीन
प्रदेश सरकारले पिठो किनिदिन आग्रह गरेपछि तत्कालीन आपूर्ति महाशाखा (हाल व्यवस्थापन महाशाखा)ले कर्णालीका लागि पिठो खरिद गरेको थियोे । उसले थापाथलीस्थित शारदा ग्रुपले बनाएको पिठो तीन करोड रुपैयाँमा खरिद गरेको थियो । त्यही पिठो परीक्षण गर्दा अत्यावश्यक भिटामिन ए तत्व नभेटिएको हो ।

सोलुखुम्बुका लागि भने सरकारले एक करोड बजेट विनियोजन गरेको थियो । तर, बजेटभन्दा बढीको टेन्डर परेपछि खरिद पक्रिया अघि बढ्न सकेन । सरकारले खरिद गर्ने पोसिलो पिठोको वितरण र गुणस्तर मापनको काम भने विश्व खाद्य कार्यक्रमले गर्छ ।

कुपोषणबाट हुने बाल मृत्युदर कम गर्न सरकारले कर्णाली र सोलुखुम्बुमा दुई दशकदेखि दुई वर्षसम्मका बालबालिका र गर्भवती महिलालाई पौष्टिक तत्वयुक्त पिठो वितरण गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यो कार्यक्रम प्रभावकारी देखिएको छैन । कर्णाली क्षेत्रमा कुपोषण अझै व्यापक छ । कुपोषणका कारण बाल मृत्युदर पनि उच्च छ । फापर, कोदो, जौ, मार्सी धान, रातो दाल उत्पादन हुने हिमाली र पहाडी जिल्लामा स्थानीय उत्पादनको विविधतायुक्त उपभोगलाई प्रोत्साहन गर्न नसक्दा कुपोषण बढेको विज्ञहरू बताउँछन् ।

किन खाने पोसिलो पिठो
भिटामिन ए, पोलिक मिसिन, आइरन, आयोडिन, भिटामिन बी कम्प्लेक्स, क्याल्सियम मिसाएर पिठो तयार गरिन्छ । वितरण गर्नुअघि विश्व खाद्य कार्यक्रमले विदेशमा लगेर यसको परीक्षण गर्छ । पिठोको म्याद एक वर्षको हुन्छ । यसको सेवनबाट कुपोषण, एनिमिया, भिटामिन एको कमीबाट हुने समस्या, रतन्धोजस्ता समस्या कम हुँदै जान्छन् ।

पराजुलीका अनुसार ६ जिल्लाका २१ हजार जनाले यस्तो पिठो प्रयोग गर्ने गरेको तथ्यांक छ । पौष्टिक पिठो दिनको सय ग्राम अर्थात् महिनामा तीन किलो खान सुझाइएको छ । पानी, दूध वा जसरी खाए पनि हुन्छ । पोषिलो पिठो पाउन गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगेर जाँच गराउनुपर्छ । स्वास्थ्य जाँचकै क्रममा पिठोका लागि फारम पनि भराइन्छ ।

कार्यक्रम नै स्थगित हुने सम्भावना

वितरणपूर्व गरिएको परीक्षणमा पिठो गुणस्तरहीन पाइएपछि कार्यक्रम स्थगित हुने सम्भावना बढेको छ । ‘गुणस्तरहीन पिठो खरिद गरिएकाले यस वर्ष कार्यक्रम रोकिने अवस्थामा पुगेको छ,’ परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले भने, ‘अहिलेसम्म पुरानो स्टकले धानेको छ । अभाव हुन नदिने प्रयास गरिरहेका छौँ ।’ कार्यक्रम रोकिन नदिन तत्काल खरिद प्रक्रिया अगाडि बढाउने तयारी गरिएको उनले बताए । ‘आगामी चार महिनामा खरिद गरी सम्बन्धित स्थानमा पुर्याउने कोसिस गर्दै छौँ,’ उनले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ  ।