काठमाण्डौ । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदानमा कांग्रेस नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकोमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिँदै छ । जसअनुसार दोस्रो चरणमा शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।
दोस्रो चरणको चुनाव हुने भए पछि देउवा आज बिहान सिंहलाई भेट्न उनकै निवास चाक्सीबारी पुगेका थिए ।
छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताउनु भएको हो ।
पहिलो चरणको मतदानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका थिए भने विमलेन्द्र निधिले २४९ मत तथा कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए ।











