काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्नुभएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गर्नुभएको हो । पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताउनु भयो ।
उहाँले अहिले देशमा वैचारिक बहस शुन्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकोले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताउनु भयो । पूर्वमन्त्री त्रिपाठीले अन्य दलको आलोचना नगरी काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने पनि दाबी गर्नुभयो । उहाँले संविधान कार्यान्वयनको क्रममा देखिएका जटिलताको पहिचान गरी आगामी निर्वाचन पूर्व सहमति प्राप्त बुँदाहरुमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै आफ्नो पार्टीले संविधान संशोधनका लागि काम गर्ने बताउनु भयो ।
पूर्वमन्त्री त्रिपाठीले भन्नुभयो, ‘देशमा पार्टीको अभाव भएर यो नयाँ दलको गठन भएको होइन, अपितु वैचारिक बहस,प्रायः शुन्य भएको वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावविहीन तथान गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्वयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिक भन्दा बाहिर गइरहेको देखिन्छ ।अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वास्थ प्रतिष्पर्धामा हाम्रो रुचि रहने छैन । वर्तमान परिदृश्यमा दलहरुबीच न्युनतम साझा विषयहरुमा राष्ट्रिय सहमतिको नितान्त आवश्यक्ता छ । यसले नै लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउनेछ र संविधानलाई चलायमान बनाउने छ ।’
पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण,स्थानीय तहको सीमांकन,मुलुकको अर्थतन्त्र,मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरुको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरुमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताउनु भयो ।
उहाँले प्रतिनिधिसभा सदस्य रेशम चौधरी हालसम्म जेलमा रहनु बिडम्बना भएको पनि बताउनु भयो । पूर्वमन्त्री त्रिपाठीले एमसीसी लगायत कतिपय विषयहरुमा राष्ट्रिय सहमति खोज्नुपर्ने पनि बताउनु भयो ।











