• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   दुग्ध किसानहरुले सरकारसँग पसिनाको मूल्य माग गरेका हुन्: सांसद बाँस्कोटा ★   साउदी अरबका लागि राजदूतमा सिफरिस गरिएका अबुसुफ्यान खान बिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी ★   कोशेढुङ्गा बन्यो तालिम ★   असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस्: सांसद पौडेल ★   टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम ★   एकीकृत समाजवादीद्वारा महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल ★   सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ: सांसद साउद ★   मापसे गरी झगडा गरेपछि उड्नै लागेको जहाजबाट फर्काइए राजेशपायल ★   सहज बन्दै बेनीका सडक ★   विपद्मा परेका नागरिकको उद्धार र पुन:स्थापना गर्न सांसदहरुको माग

जति म्याद थपे पनि बन्दैनन् सडक



काठमाडौं । लगनखेलबाट सातदोबाटोसम्मको दूरी ०.८ किलोमिटर छ। अर्थात् एक किलोमिटर पनि छैन। त्यही टुक्रे खण्डको सडक विस्तार गर्न २०७३ जेठ २६ गते ठेक्का लगाइयो। म्याद दिइयो १६ महिना (३०७४ असोज २७ सम्म)। म्याद सकिँदा कामको मेलै सरेन। फेरि म्याद थपियो। सरकारकै आँकलनअनुसार ३ वर्ष २ महिनामा बल्ल त्यहाँ ५० प्रतिशत काम सकिएको छ।

सरकार ठेक्का लगाउँछ। ठेकेदार समयमा काम सक्दैनन्। सरकार म्याद थपिदिन्छ। ठेकेदार फेरि पनि काम सक्दैनन्। सरकार फेरि पनि म्याद थपिन्छ। तर निर्माण कार्य अझै अघि बढ्दैन।

यस्तै प्रवृत्तिले चार वर्षअघि काम सुरु भएका उपत्यकाका कुनै पनि सडकको काम पूरा भएको छैन। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चार वर्षअघि ९ वटा सडक खण्ड विस्तार थालेको थियो। अहिलेसम्म सडकमा प्रगति न्यून छ।

आयोजनाले काम थालेको सडक खण्डमा जोरपाटी(सुन्दरीजल, नख्खु(भैंसीपाटी(बुङ्मती, ढोलाहिटी(सुनाकोठी(चापागाउँ(लेले(तिलेश्वर( सरस्वतीकुण्ड, पेप्सीकोला(काँडाघारी, कर्मनासा(हरिसिद्धि(गोदावरी, इमाडोल(गोदावरी, लगनखेल(सातदोबाटो, चाबहिल(जोरपाटी(साँखु, त्रिपुरेश्वर(कलंकी(नागढुंगा छन्। यीमध्ये अहिलेसम्म एउटा सडकको पनि काम सकिएको छैन।

ढोलाहिटी-सुनाकोठी-चापागाउँ-लेले-तिलेश्वर-सरस्वतीकुण्ड, पेप्सीकोला-काँडाघारी, कर्मनासा-हरिसिद्धि-गोदावरी र जोरपाटी-सुन्दरीजल सडकको २० प्रतिशतभन्दा काम हुन सकेको छैन।

चारवटै सडकको काम मुआब्जा विवादले नसकिएको आयोजनका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले बताए। ‘सबै सडकमा स्थानीयले मुआब्जा माग गरेर विरोध जनाएका छन्,’ उनले भने, ‘स्थानीयको अवरोधका कारण काममा प्रगति कम देखिएको हो।’

जोरपाटी(सुन्दरीजल सडकको काम १० प्रतिशत सकिएको छ। यो सडकको विस्तार सम्झौता २०७३ असारमा भएको थियो। सम्झौताअनुसार एक वर्षमा काम सक्ने गरी आशिष, सीएमजेभी निर्माण कम्पनीले ठेक्का लिएको थियो। तर काम नसकिएकाले ठेकेदारले अहिलेसम्ममा तीनपटक म्याद थपेका छन्।

ढोलाहिटी-सरस्वतीकुण्ड सडकमा तीन खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। यो सडकको पनि १८ प्रतिशत मात्र काम भएको छ। यसको आधा खण्डको निर्माण ठेक्का लिएको दिवा, शैलुङ जेभी र कन्टेक प्रालिले तीनपटक र अर्को आधा खण्डमा पप्पु महालक्ष्मी वल्डवाइड जेभीले दुईपटक म्याद थपेका छन्।

कर्मनासा(हरिसिद्धि(गोदावरी सडक विस्तार पनि तीन वर्षमा १८ प्रतिशत मात्र सकिएको छ। आठ किमिको यो सडक दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। एउटा खण्डको ठेक्का आशिष र सीएमजेभी निर्माण कम्पनीले लिएको थियो। अर्को खण्डमा भने लामा र समानान्तर जेभीले ठेक्का लिएका छन्। ठेकेदारले दुईपटक म्याद थपेका छन्। विभिन्न अवरोधले काम गर्न नपाएको भन्दै ठेकेदारहरू म्याद थप्न आउने गरेको प्रवक्ता श्रेष्ठले बताए।

पेप्सिकोला(सल्लाघारी सडकको १२ प्रतिशत काम सकिएको छ। यो सडकको ठेक्का कान्छाराम, पीआर, उमा एन्ड कम्पनी जेभीले २०७४ सालमा लिएको थियो। तर सम्झौता भएको दुई वर्षमा पनि यसले १२ प्रतिशतभन्दा बढी काम गर्न सकेको छैन। यो सडकमा १३ करोड २४ लाख ४३ हजार खर्च भइसकेको छ।

जोरपाटी-सुन्दरीजल सडक खण्डको मुआब्जा विवाद अदालतमा विचाराधीन रहेकाले तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको प्रवक्ता श्रेष्ठले बताए।

ढोलाहिटी-सरस्वतीकुण्ड सडकमा चौडाइ २० मिटर बनाउने विषयमा स्थानीयबीच विवाद छ। नगरपालिकाले पनि साबिककै १७.२० कायम गर्न पत्राचार गरेको थियो। ‘अदालतले कारण देखाऊ आदेश दिएको हुँदा काम भएको छैन,’ उनले भने।

नख्खु-भैंसीपाटी-बुङ्मती सडकमा पनि तीन वर्षमा ५० प्रतिशतभन्दा बढी काम भएको छैन। उपत्यका विकास प्राधिकरणले सीमा नतोकेका कारण काममा प्रगति नभएको आयोजनाले जनाएको छ।

प्राधिकरण भने यसमा सहमत छैन। काम नसकेपछि दोषमात्र प्राधिकरणलाई दिएको आयुक्त भाइकाजी तिवारीले बताए। ‘सबै सडकमा मुआब्जा विवाद छ,’ उनले भने, ‘मुआब्जा राज्यले उपलब्ध गराएको छैन। हामीले मुआब्जाबापतको रकम दिने अवस्था छैन।’

आयोजनाले त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक खण्डमा सबैभन्दा धेरै काम गरेको छ। चार वर्ष अवधिमा ८० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। चाबहिल-जोरपाटी सडक विस्तार कार्य पनि स्थानीयको अवरोधले लामो समय रोकिएको छ।

लगनखेल-सातदोबाटो सडकको काम ५० प्रतिशत सकिएको छ। इमाडोल-गोदावरी सडक पनि ५० प्रतिशतभन्दा माथि जान सकेको देखिएन। यसको काम पनि स्थानीयका मुआब्जा विवादका साथै बिजुलीका खम्बा नहटेका कारणले काम नभएको आयोजनाले जनाएको छ। ००

बेहाल कलंकी-नागढुंगा

उपत्यकाको मुख्य प्रवेशमार्ग कंलकी-नागढुंगा सडक लामो समयदेखि पुनर्निर्माण कार्य पूरा हुन सकेको छैन। पटकपटक म्याद थप भए पनि समयमा काम नसकिँदा सर्वसाधारणले सास्ती बेहोरिरहेका छन्।

घन्टौं जाम, हिलो र धुलोको समस्या छ। चेकपोस्टका हरिबहादुर केसी सडक अधुरै हुँदा कंलकी पुग्दा पूरै धुलाम्मै हुने गरेको बताए। ‘पानी आएको बेला हिलाम्मै हुन्छ। लुगा सबै काम नलाग्ने हुन्छ,’ उनले भने, ‘अरु बेला धुलो त्यस्तै हुन्छ।’ उनले लामो समयसम्म सडक नबन्दा धेरै दुःख पाएको बताए।

त्यो सडकमा हिँड्ने यात्रुले प्रत्येक पटक यात्रा गर्दा लुगा फेर्नुपर्छ। ‘एक दिनभन्दा बढी लुगा लगाउनै सकिँदैन,’ थानकोटबाट नियमित असन आउने सञ्जय बानियाँले भने, ‘वर्षामा हिलो हुन्छ, घाम लागेका बेला धुलैधुलो हुन्छ। स्वस्थ व्यक्ति पनि बिरामी हुनुपर्ने अवस्था छ। चन्द्रागिरी क्षेत्रका बासिन्दामा धुलो र धुवाँका कारण रुघाखोकी र छालाको समस्या देखा परेको छ।

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले उपत्यका प्रवेशको मुख्य राजमार्ग समयै निर्माण हुन नसक्नु दुर्भाग्य भएको बताए। पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ।

त्रिपुरेश्वरदेखि नागढुंगासम्मको १२.३ किलोमिटर सडक काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चारवटा प्याकेजमा विभाजन गरेर विस्तार प्रक्रिया अघि बढाएको थियो। पृथ्वी राजमार्गअन्तर्गतको दुई लेन सडक विस्तार गरेर चार लेन बनाइँदै छ। सडकको क्षेत्रफल २२ मिटर हुने गरी डिजाइन गरी ठेक्का लगाइएको थियो। १८ मिटर कालोपत्रे र सडकको दायाँबायाँ दुई-दुई मिटरको फुटपाथ रहने डिजाइनमा उल्लेख छ।

सडक विभागका अनुसार सोल्टीमोडमा स्थानीयले ढल हाल्न दिएका छैनन्। कंलकी चोकदेखि खडकुलेको पुलसम्म त्यही अवस्था छ। सतुंगल, चेक पोस्ट, गुर्जुधारामा सडक पूरा भएको छैन। आर्थिक वर्ष सकिएपछि काम रोकिएको छ।

वर्षाका कारण बनेको सडक धेरै ठाउँमा भत्किएको छ। आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले ८० प्रतिशत काम भएको दाबी गरे। उनका अनुसार दुईपत्रे सडक विस्तार भइरहेको छ। एक पत्रेको नौ किलोमिटर पिच भइसकेको छ। दुई किलोमिटर पिच हुन बाँकी छ। स्थानीयले सडक विस्तार गर्दा सुकुम्बासी हुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले सडक विस्तारका क्रममा अधिग्रहण गर्नुपर्ने जग्गा र भत्किने भौतिक संरचनाको उचित मूल्य दिन आदेश दिएको थियो।

स्थानीयको अवरोधका कारण समयमा सडक पिच हुन नसकेको उनले बताए। सत्तारूढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन लगायत ब्रजगुरु, बिरुवा, सिएम, शर्मा, कान्छाराम, लुम्बिनी, सापले सडकको ठेक्का लिएका छन्। सडक निर्माण कार्य तीन वर्षमा सक्ने गरी २०७२ असार ३१ गते ठेक्का लागेको हो। दुई पटक म्याद थपिएको छ तर पनि पूरा हुन सकेको छैन। तेस्रो पटक २०७७ जेठ २२ सम्मका लागि थप्ने प्रस्ताव सडक विभागमा पठाइएको छ।

उक्त सडक एक अर्ब ५२ करोड ३२ लाख १५ हजार रुपैयाँमा ठेक्का लगाइएको थियो। हालसम्म एक अर्ब १८ करोड २७ लाख ४६ हजार रुपैयाँ भुक्तानी भएको छ। सडक विस्तारको जिम्मा आयोजनाको भए पनि सडक आसपास भौतिक संरचना भत्काउनुपर्ने दायित्व उपत्यका विकास प्राधिकरणको छ।

दयनीय चाबहिल-साँखु

चाबहिल(जोरपाटी(साँखु सडकको अवस्था झन् दयनीय छ। ठेक्का लागेको चार वर्षमा बितिसक्दा साढे तीन किलोमिटर मात्रै पिच भएको छ। स्थानीयले पटकपटक आन्दोलन गरे पनि काम अघि बढ्न सकेको छैन। चाबहिलमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन बिच्छ्याउन बाँकी रहेकाले निर्माण अवरुद्ध छ। सडक हिलाम्मे छ। त्यसले गर्दा अत्यधिक ट्राफिक जाम हुने गरेको छ।

काठमाडौं महानगरपालिका ६ का वडाध्यक्ष दीपेन्द्र लामा स्थानीयले आन्दोलन गरेको बेला मात्रै काम हुने गरेको बताए। ‘स्थानीयले आन्दोलन गरेपछि काम थालिन्छ, अरू बेला कामै हुँदैन,’ उनले भने। यस क्षेत्रमा साढे ३ किलोमिटर खण्ड मात्र पिच भएको सूचना अधिकारी श्रेष्ठले बताए।

साढे १२ किलोमिटर सडक खण्ड पाँचवटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको छ। यो सडक निर्माणको जिम्मेवारी युनाइटेड बिल्डर्स, वज्रगुरु, च्याङमिला, खानी, बिरुवा, बिटी, सुनकोसी, वल्डवाइड, लामा, समानान्तरले लिएका छन्। ०७२ असोज १३ गते लागेको ठेक्काको म्याद दुई पटक थप भइसकेको छ। आयोजनाले अहिलेसम्म ५१ प्रतिशत मात्रै भौतिक प्रगति भएको जनाएको छ। एक अर्ब ७३ करोड ५४ लाख १५ हजार रुपैयाँमा ठेक्का लगाइएकोमा ९५ करोड ४६ लाख ८६ हजार रुपैयाँ ठेकेदारले प्राप्त गरेका छन्।

बिरुवा कन्स्ट्रक्सनका बालकृष्ण थापाका अनुसार स्थानीयको अवरोधका कारण समयमै पिच गर्न नसकिएको हो। सडक विभागले मुआब्जा रकम वितरण गर्न सम्भव नभएकाले उपलब्ध जग्गामा सडक विस्तार गर्ने निर्णय गरेको थियो। ठेकेदार पनि उपलब्ध जग्गामा पिच गर्न तयार भएको थापाको भनाइ छ। ‘पिच गर्न उपकरण कार्य क्षेत्रमा लग्दा स्थानीयको विरोध हुन्छ। मुआब्जा रकम नदिएसम्म पिच गर्न नदिने उनीहरूको अडान छ,’ थापाले भने, ‘स्थानीयको सहयोग बिना पिच गर्न सम्भव छैन।’ समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।