९ आश्विन २०८१, बुधबार
,
Latest
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक श्रीलंकाका नयाँ राष्ट्रपतिले संसद भंग गरे निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमकिता: कार्यवाहक प्रधानमन्त्री सिंह सरकारको प्राथमिकता निर्माण व्यवसायीहरुको भुक्तानी परेन: महासंघ विश्वकप जितेपछि पहिलो पटक अस्ट्रेलिया पराजित राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’: कार्यकारी निर्देशक कार्की  विश्वका पाँच अनौठो जेलः कुनैमा कैदी राजाजस्तै बस्छन्, कतिपयमा कोठा किन्नु पर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैज्ञानिक वन व्यवस्थापनले जङ्गलबाट पशुपक्षी हराउँदै



अ+ अ-

घोराही । दाङ देउखुरीका विभिन्न सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत धमाधम पुराना रूख काटिए । अझै कतिपय सामुदायिक वनमा त झाडी सफाइको नाममा साना रुख पनि बाँकी छैनन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले एकातिर फाइदा पु¥याए पनि अर्कोतर्फ नोक्सान भइरहेको स्थानीय बताउँछन् ।

लमही नगरपालिका–७ निवासी प्रकाश चौधरीले वैज्ञानिक वन व्यवस्थापनले नोक्सानसँगै थप समस्या सिर्जना गरेको बताए । “हाम्रो रोजीरोटी यही जङ्गल हो, गाई बाख्रा चराउनु पर्छ पाइँदैन ।” चौधरीले भने, “जङ्गलमा चरण रोक्काले गरिएको छ भने बूढा र साना रुख काटिएका छन् ।” उनको भनाइमा गाईबस्तुको आहाराको रुपमा प्रयोग हुने साना जातका रुख पनि सबै सखाप भइसके । जसको कारण पहिले प्रशस्त देखिने जङ्गली जनावर र पशुपक्षी पनि अचेल देखिन छाडेका छन् ।

पुराना र धोन्द्रे रूखमा पशुपक्षीको बासस्थान हुने भएकाले उनीहरूको बासस्थान सङ्कटमा पर्न थालेको जानकार बताउँछन् । पुराना र धोन्द्रे रुखमा बसोबास गर्ने पक्षी लोप हुने खतरामा छन् । दाङ देउखुरीका सामुदायिक वनमा वन व्यवस्थापनको नाममा पुराना रुख काट्न थालेपछि वन्यजन्तुको अस्तित्व हराउन थालेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङका अध्यक्ष उमाकान्त पन्त बताए । वैज्ञानिक वन व्यवस्थापनको नाममा पुराना रूख काट्नाले जैविक विविधतामा असर परेको उनको बुझाइ छ ।

सामुदायिक वनका पुराना रुखमा बसोबास गर्ने लाटोकोसेरो, लासे, धनेस, सर्प, छेपारोलगायतका प्रजातिका जनावर लोप हुने खतरा बढेको उनले बताए । “अहिले जङ्गली गोँहोरो, टोँड्कामा बस्ने सर्प, धनेसलगायतका प्रजाति पाइनै छाडे ।” पछिल्लो समय जङ्गलमा पाइने घस्रने र ठूलाठूला रुखमा बस्ने विभिन्न प्रजाति लोप हुने अवस्थामा रहेकाले यस विषयमा गम्भीर हुनुपर्ने संरक्षणकर्मी चिरञ्जीवी खनालले बताए । टोँड्को र धोन्द्रे रुखमा धमिरा, किरासँगै चरा बस्छन् । तिनै रुख हटाउँदा त्यहाँ बसिरहेका र बासस्थान बनाउने प्रजाति अन्यत्रै बसाई सर्ने अवस्था आएको उनको धारणा छ । भालु, निरबिरालो, गोह्रा, उड्ने लोखर्केलगायतका वन्यजन्तु रुखमा बस्ने गर्दछन् । वैज्ञानिक वनअन्तर्गत ठूलाठूला रुख मासिँदा वन्यजन्तुलाई प्रत्यक्ष असर पुगेको अनुसन्धानकर्ता खनालले बताए ।

सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले पनि सामुदायिक वनको दिगो व्यवस्थापनको पक्षमा सोच्नुपर्ने बताए । पुरानो कार्ययोजनामा प्रशस्त उपभोक्तालाई अधिकार भएकाले वन मास्ने गरी आएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू हुन नहुने तर्क गरे । विविधतामा असर गर्ने र उपभोक्तामैत्री नभएको कारण वैज्ञानिक वन व्यवस्थापन लागू हुन नहुने उनको बुझाइ छ ।

वैज्ञानिक वन व्यवस्थापन भनेको ठूला र बूढा रुख हटाउँदै नयाँ बिरुवा हुर्काउनु हो । देउखुरी क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये २० वटा वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम स्वीकृत भएको छ । जसमध्ये १५ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत काम शुरु भइसकेका छन् । बाँकी पाँच वटा वनमा तत्काल शुरु हुने डिभिजन वन कार्यालय लमहीले जानकारी दिएको छ ।