काठमाडौं । यतिबेला सबैतिर जाडो बढेको छ । जाडोमा चिसोका कारण शरीरको तापक्रम कम हुने भएकाले रगतमा पोषणको मात्रा पर्याप्त नहुँदा शरीरले चिसो महसुस गर्छ । त्यसैले भोक धेरै लाग्छ तर, जाडोको समयमा खानेकुरामा हामी प्रायः कम ध्यान दिन्छौँ । जाडोमा बच्नका लागि कपडा लगाएर मात्र हुँदैन, मौसम अनुसार तातो खालका खानेकुरा समेत खानु पर्छ ।
सुन्तला
जाडोयाम सुन्तलाको मौसम हो । जाडोमा सुन्तला खानु अत्यावश्यक छ तर कतिपयले भने चिसो लाग्ला भनेर सुन्तला खाँदैनन् । यो गलत हो । सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ । यस्तै सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । सुन्तला खाँदा मिर्गौला सम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हटाउँछ । यसमा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ । त्यस्तै सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ । सुन्तलामा पोलिफेनोल्स जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकी जस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।
दही
जाडोमा प्रायः चिसो खाने कुराहरु खान बन्द नै गर्छौ । धेरै मानिसले दहीलाई पनि खान रोक लगाउने गरेका छन् । तर जाडोमा दही खाँदाको फाइदा नै फाइदा छन् । दहीमा पाईने लैक्टोबैसिलसले जाडो मौसममा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउँछ । त्यस्तै श्वासको रोग अर्थात अस्थमा जस्तो रोग हुनेलाई पनि दही सेवनले फाइदा पुर्याउनेछ । जाडोमा चिसो दहीको सट्टा तातो दही खानुपर्छ । जाडोमा दही खाँदा चिसो हुने हुँदा घाममा बसेर पनि सेवन गर्न सकिन्छ । यस्तै दहिमा भिटामिन र प्रोटिन पनि भरपुर हुने हुँदा अरु धेरै फाइदाहरु छन् ।
दहीमा लैक्टोबैसिलस नामको निकै स्वस्थ ब्याक्टेरिया हुन्छ, जसले शरीरमा भएको खराब ब्याक्टेरियालाई नष्ट गर्न सहयोग पुर्याउँछ । त्यस्तै दहीलाई भिटामिन, पोटासियम, मैग्नीशियम र प्रोटिनको भरपुर श्रोत मानिन्छ । त्यस्तै दही सेवन गर्दा इम्यून सिस्टमलाई दह्रो बनाउन सहयोग गर्छ जसले गर्दा रुघाखोकीमा बच्न मद्दत पुर्याउँछ । दहीमा क्याल्सियम भरपुर हुने गर्दा शरीरको हड्डी मजबुत बनाउन सहयोग पुर्याउँछ । यस्तै दहीले स्क्रिनमा चमक आउनुका साथै स्वच्छ रहन पनि मद्दत गर्छ ।
माछा
जाडो अथवा गर्मी, जुनसुकै मौसममा माछा खान सकिन्छ । तर, जाडोमा खान अझै उपयुक्त हुन्छ । यसलाई फ्राई गरेर वा सुप बनाएर खान सकिन्छ । माछामा पाइने न्युट्रोन्स, प्रोटिन, आयोडिन, मिनरल्स र भिटामिन डी मानव शरीरलाई नभई नहुने तत्व हुन् । शरीरमा यी तत्वको कमी भयो भने विभिन्न रोग लाग्न सक्छ । त्यसैले माछा खानु राम्रो हुन्छ ।
माछामा ‘ओमेगा ३’ बोसोयुक्त एसिड हुन्छ । यो मानव स्वास्थ्यका लागि निकै महत्वपूर्ण तत्व हो । यसले मस्तिष्क र आँखाको रेटिना निर्माण, वृद्धि र विकासमा ठूलो भूमिका खेल्छ । नियमित माछा खाने मानिसमा मुटुको समस्या समेत कम हुन्छ । यसले मानसिक तनावबाट मुक्त हुनसमेत सहयोग गर्छ । जाडोमा माछाको सुप बनाएर खाँदा भाइरस रुघाखोकीबाट बच्न सकिन्छ ।
दालचिनी, मरिच
दालचिनी र मरिच क्यालसियम र आइरनको राम्रो स्रोत हो । यिनीहरुले ‘रेड ब्लड सेल’ उत्पादन र रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत पुर्याउँछ । दालचिनीले मधुमेहको स्तर घटाउन पनि मद्दत गर्छ । यसलाई चिया वा कफीमा हालेर पनि सेवन गर्न सकिन्छ । यस्तै मरिच चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि उपयोगी हुन्छ । त्यसैले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।
सखरखण्ड
सखरखण्ड भिटामीन ए को महत्वपूर्ण स्रोत हो । यसमा भिटामीन इ पनि रहेको पाइन्छ । यसले रक्तकोषहरु मर्नबाट समेत जोगाउँछ । सखरखण्डको भिटामीन इ ले प्रतिरक्षात्मक प्रणालीलाई एकदमै राम्रो बनाउँछ । त्यसैले नेपाली माटो र बजारमा पर्याप्त पाइने सखरखण्ड खाएर सर्दीबाट बचौं ।
बाँसको तामा
जाडोमा तामाको सुप स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसको तरकारी, अचारसँगै सुप पनि बनाएर खान सकिन्छ । बाँसको तामाका परिकार खाँदा उच्च रक्तचाप, मुटुरोग, कोलेस्ट्रोल बढ्ने जस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ । बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा कम हुने भएकाले मधुमेह र मोटोपनका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।
रायोको साग
रायोको साग हिउँदमा सजिलै उपलब्ध हुने स्वादिष्ट तथा पौष्टिक आहार तरकारी हो । जुन हामी सधैं खान सक्छौँ । यो जाडो मौसमका लागि स्वास्थ्यका दृष्टिकोणले समेत एकदमै लाभदायी मानिन्छ । रायोको सागमा पाइने भिटामिन ए ले चिसोयाममा बढी देखिने बाथ, कफ जस्ता रोग नियन्त्रण गर्छ । बाथका रोगीका लागि हुने हड्डी दुख्ने समस्याबाट राहत समेत मिल्छ । रायो भिटामिन सी को पनि राम्रो स्रोत भएकाले यो नियमित खाँदा रुघाखोकी लाग्दैन । साथै यसले क्यान्सर लाग्नबाट बचाउँछ । रायो फाइबरयुक्त भएकाले कलेजो र रगत दुवैलाई ‘डिटक्सिफाइ’ गर्छ र कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ ।
मेथीको साग
मेथीको दाना स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, दाना मात्र नभएर मेथीको साग पनि उत्तिकै उपयोगी छ । मेथीको साग खाएमा चिसो मौसममा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ । मेथीको सागमा पाइने एमिनो एसिडले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यस्तै, यो नियमित खाँदा रक्तचापसमेत नियन्त्रण गर्छ । त्यसैगरी, मेथीको सागमा पाइने गेलोप्टोमाइनन् नामक तत्वले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्छ ।
च्याउ
च्याउ सेलेनियमको राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई बलियो बनाएर शरीरमा रक्तचाप बढ्न दिँदैन र रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्न मद्दत गर्छ । चिसो मौसममा विशेषगरी च्याउको सुप बनाएर खान सकिन्छ । यसमा प्रशस्त मात्रामा पाइने खनिज पदार्थले चिसोका कारण हुने मांसपेशी दुखाइ नियन्त्रण गर्छ । तसर्थ, च्याउ बाथका रोगीका लागि फाइदाजनक हुन्छ । त्यस्तै, यसमा पाइने बिटा ग्लुकनले रगतमा सेतो रक्तकोषिका निर्माण गरि प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुर्याउँछ ।
गाँजर
उज्यालो रातो रङ भएको तरकारी, गाँजरमा धेरै मात्रामा ‘बेटा क्यारोटिन’ हुन्छ । यसबाहेक गाँजर फाइबरयुक्त हुन्छ, जसले शरीरको तौल घटाउन पनि मद्दत पुर्याउँछ । गाँजरमा अधिक मात्रामा एन्टिअक्सिडेन्ट, भिटामिन ‘के’ र कोलेस्ट्रोलको मात्रा कम हुन्छ । यसले आँखा पनि स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले चिसो मौसममा गाँजरलाई आफ्नो खानामा समावेश गर्नु उपयुक्त हुन्छ । यसले शरीरमा जन्मने भाइरसलाई समेत नष्ट गर्ने काम गर्छ ।










