४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक शौचालयमा किराना पसल



अ+ अ-

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ । दिपायलकी स्थानीय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक शौचालयमा वर्षौंदेखि आफ्नो निजी किराना पसल सञ्चालन गर्नुभएको छ ।

सार्वजनिक शौचालयमा किराना पसल खोल्दै शौचालय निजी बनाएपछि अहिले बटुवा तथा स्थानीयलाई शौच गर्नलाई निकै सास्ती भएको पिपल्लाका स्थानीय भरत खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक शौचालयमा पसल खोलिएको छ, शौचालय व्यक्तिगत बनाउँदा अन्य बटुवा तथा यात्रुलाई समस्या भएको छ ।”

विसं २०७४ मा डोटी उद्योग वाणिज्य सङ्घको पहलमा निर्माण भएको उक्त सार्वजनिक शौचालय अहिले निजी बनाएपछि स्थानीय आक्रोशित बनेका छन् । करीब रु छ लाख ३१ हजारको लागतमा उक्त सार्वजनिक शौचालय निर्माण गरिएको स्थानीयवासी तथा डोटी उद्योग वाणिज्य सङ्घका पूर्वसदस्य गणेशबहादुर साउदले जानकारी दिनुभयो । उक्त सार्वजनिक शौचालयमा तत्कालीन सुदूरपश्चिम खानेपानी तथा सुपरिवेक्षण कार्यालय दिपायल, राजपुरले रु तीन लाख ६९ हजार सहयोग गरेको थियो भने बाँकी रकम डोटी उद्योग वाणिज्य सङ्घले बेहोर्ने गरी निर्माण गरिएको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “म अध्यक्ष भएको बेलामा शौचालय निर्माण भएको हो, पछि कसले कसलाई जिम्मेवारी दिए मलाई थाहा भएन ।” उक्त सार्वजनिक शौचालयमा शौच गरेको रु पाँच तथा दिशा गरेको रु १० लिने नियम राखिएको भए पनि अहिले शौचालय व्यक्तिले आफ्नो निजी काममा मात्रै प्रयोगमा ल्याउन थालेपछि शौचालय प्रयोग गर्न कोही पनि आउँदैनन् ।

सार्वजनिक रुपमा आम नागरिकका लागि निर्माण गरिएको उक्त शौचालयमा खानेपानी कार्यालयले चौबीसै घण्टा पानी निःशुल्क दिँदै आएको छ । उक्त शौचालयको एक कोठामा खन्टी केसीले आफ्ना बाख्रा तथा कुखुरा राख्नुभएको छ भने अर्को कोठामा भएको शौचालय आफूले प्रयोग गर्दै आउनुभएको स्थानीयको आरोप छ । सार्वजनिक ठाउँमा नागरिकका लागि निर्माण गरिएका शौचालय व्यक्तिले आफ्ना निजी बनाउन थालेपछि अहिले बटुवा तथा यात्रुले पिपल्ला बजारका सार्वजनिक ठाउँको प्रयोग गर्दै शौच गर्न बाध्य भएको स्थानीय हर्क बोहराले बताउनुभयो ।
उता दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्र शाहले आफ्नो वडामा निर्माण भएका सार्वजनिक शौचालयमा कर्मचारी राख्ने तथा सरसफाइ गर्नका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शौचालयमा रेखदेख गर्ने कर्मचारी राख्ने तयारीमा छौँ, अब शौचालय चाँडै नै सबैको प्रयोगमा आउने बनाउँदैछौँ ।”