२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्वन्द्वका बेपत्ता १८ वर्षपछि घर



अ+ अ-

रुकुम पश्चिम । १२ वर्षमा खोलो फर्कन्छ भन्छन् । सानीभेरी ११ ठारीखोर्याकी मनकुमारी विकलाई भने महासागरै फर्किएको अनुभूति भएको छ । १८ वर्षपछि छोरा फर्किएर आएका छन् । मरिसकेको ठानेको सन्तानलाई फेरि देख्न पाउँदा उनको हर्षको सीमा छैन । ‘मेरो छोरो दुईचोटि जन्मियो, ३४ वर्षअघि र १८ वर्षपछि,’ ८२ वर्षीया उनले भनिन् ।

द्वन्द्वकालमा माओवादीमा लागेका छोरा उमेश खारा ब्यारेक आक्रमणदेखि बेपत्ता थिए । फर्किएको व्यक्ति आफ्नै छोरा हो भन्ने खुट्ट्याउन मनकुमारीलाई एक दिन लाग्यो । गाउँलेले भन्दा समेत पत्याइनन् । उमेशले खुट्टामा गोलीको खत देखाएपछि भने उनलाई विश्वास भयो ।

‘लडाइँमा मर्‍यो होला भन्ठानेर घरपरिवार, इष्टमित्र, आफन्त तथा गाउँलेले मेरो माया मारिसकेका रहेछन्,’ उमेशले भने, ‘म आउँदा घरगाउँमा अर्कै तरंग उत्पन्न भयो ।’ १३ वर्षको उमेरमा माओवादीमा लागेका उनी खारा आक्रमण गर्दा १६ वर्षका थिए । त्यसअघि रोल्पाको लिस्ने गाम तथा अन्य स–साना लडाइँमा सहभागी भइसकेका थिए ।

खारा आक्रमण २०५९ चैतमा भएको थियो । ब्यारेक कब्जा गर्न उनी थ्री नट थ्री राइफल बोकेर नाका ब्लकमा खटाइएका थिए । लडाइँ भइरहेको क्षेत्रमा बाहिरबाट आउने र भित्रबाट बाहिर भाग्ने ‘दुस्मन’ लाई रोक्नु उनको जिम्मेवारी थियो । तर भइदियो उल्टो । उनैलाई बमको छर्राले भेट्यो । विस्फोटको आवाजले कान बन्द भए । लडाइँकै क्रममा होस हरायो । त्यही अवस्थामा हिँडेका उनी जंगल छिचोल्दै दिल्ली पुगेछन् । त्यहीँ होटलमा भाँडा माझेर गुजारा चलाउन थाले ।

‘लडाइँकै बेला खुट्टा र शरीरका अन्य भागसँगै कानसमेत नसुन्ने गरी घाइते भएँ, चेत, अचेत गर्दै भारत पुगेछु,’ उमेशले भने । त्यहाँ काम गर्दै झन्डै सात लाख खर्चेर उपचार गराएको उनको भनाइ छ । सीप सिकिसकेपछि राम्रो होटलमा काम पाए । अब घरपरिवारको यादले सताउन थाल्यो । काठमाडौं आए पनि । तर रुकुम पत्ता लाउन नसकेपछि फेरि भारततिरै फर्केको उनको भनाइ छ । उमेश अहिले राजस्थानको जयपुरमा नोकरी गर्छन् । उतै बिहे गरे । ११ र ७ वर्षका दुई छोरा छन् ।

पछिल्लो पटक पनि उनी दिल्लीबाट जहाजमा काठमाडौं उत्रिए । त्यसपछि नेपालगन्ज हुँदै मुस्किलले घर पुगेको उनले जनाए । गाउँलेले बनाइदिएको छाप्रामा वृद्ध आमा, भाउजू र दाइका २ छोरा मात्रै थिए । ‘घर घरजस्तो रहेनछ, हेर्ने मान्छे नभएपछि घर कहाँ घरजस्तो हुने रहेछ र ?’ उमेशले भने, ‘गाउँलेको सहयोगले आमा, भाउजू र २ भतिजाको सास अल्झेको रहेछ ।’

मनकुमारीका ५ सन्तान हुन् । दुई छोरा, तीन छोरी । उमेश कान्छा हुन् । धनबहादुरको उमेश हराएको केही वर्षमै भारत, गौरीकुण्डमा बाढीले बगाएर मृत्यु भयो । कान्छी छोरीे पनि हैजाले बितिन् । शोकमा डुबेकी मनकुमारीले २०४५ सालमै पति पनि गुमाइसकेकी थिइन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।