म्यान्चेस्टरः इङलिस प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा लिग लिडर म्यान्चेस्टर सिटीले लिड्स युनाइटेड विरुद्ध गोलको वर्षा गरेको छ ।
समग्रमा सात गोल गरेको म्यान्चेस्टरले पहिलो हाफमा तीन गोल गरेको थियो भने दोस्रो हाफमा चार गोल गरेको छ ।
म्यान्चेस्टरका लागि पहिलो गोल आठौं मिनेटमा फिल फोडेनले गरेका थिए । त्यसपछि लगातार अन्तरालमा सिटीले गोल गरेको थियो । ज्याक ग्रिलिसले १३औं, केभिन ब्रुएनले ३२ र ६२ औं मिनेटमा दुई गोल, रियाद महारेजले ४९औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै, जोन स्टोन्सले ७४औं तथा नाथन एकेले ७८औं मिनेटमा गोल थपेका थिए ।
यो जितसँगै म्यान्चेस्टर सिटीले १७ खेलबाट ४१ अंक बनाएको छ, र पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १६ खेलबाट ३७ अंक छ भने तेस्रो स्थानमा रहेको चेल्सीको ३६ अंक छ ।
यस्तै बुधबार नै भएको अर्को खेलमा एस्टन भिल्लाले नर्वीचलाई २–० गोल अन्तरले पराजित गरेको छ । एस्टन भिल्लाका लागि ज्याकोब राम्से र ओल्ली वाटकिन्सले गोल गरेका थिए ।
यो जितसँगै एस्टन भिल्ला १७ खेलबाट २२ अंक सहित सातौं स्थानमा उक्लेको छ भने नर्वीच लिगको अन्तिम स्थानमा रहँदै रेलिगेसन जोनमा छ । एजेन्सी