७ आश्विन २०८१, सोमबार
,
Latest
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको… गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो चिरञ्जीवीको नाम गिनिज बुकमा संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेकपोस्ट खण्ड अलपत्र, धुलो र खाल्डाले सास्ती



अ+ अ-

काठमाडौं । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत थानकोटस्थित चेकपोस्ट चोकमा सडक निर्माणकोे काम अलपत्र छाडिएपछि स्थानीय धुलोबाट आक्रान्त बनेका छन्। समयमा सडक पिच हुन नसक्दा स्थानीयसँगै यात्रु धुलोको मारमा परेका हुन्।

ठेकेदार र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीका कारण काम अलपत्र परेको हो। चेकपोस्ट चोकमा फुटपाथको काम नसक्दा सर्वसाधारण खाल्डोमा पर्ने उच्च जोखिम छ। ढलको राम्रो व्यवस्थापनसमेत हुन सकेको छैन। केही स्थानीयले घर नभत्काउँदा काम अघि बढ्न सकेको छैन। समयमा ठेकेदारले काम नगर्दा धुलोबाट सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ। सतुंगलमा पनि सडकको पिच उप्केको छ। त्यहाँ उड्ने धुलोले पनि यात्रु र स्थानीय आक्रान्त छन्।

चेकपोस्टका गोपाल त्रिपाठीले ठेकेदार र उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणमा बेवास्ता गर्दा समस्या भएको बताए। ‘ठेकेदार र आयोजनाले काम अलपत्र छोड्दा धुलो खाएर बस्नुपरेको छ,’ उनले भने, ‘धुलोले स्वास्थ्यमा गम्भीर असर गरेको छ। घाम लागेका बेला उड्ने धुलोले दिउँसै अन्धकार देखिन्छ। पानी पर्दा सडक हिलाम्ये हुन्छ। सडक पेटीको काम नहुँदा खाल्डा परेका छन्। बालबालिका त्यहीं लड्छन्। धुलोबाट बच्न माक्स लगाएर हिँड्नुपर्ने बाध्यता छ।’

चन्द्रगिरि नगरपालिका, वडा कार्यालय, सडक विभागलगायत निकायमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कसैले चासो नदेखाएको उनको गुनासो छ। उनले भने, ‘स्थानीय मिलेर सबै निकायमा गए पनि हाम्रो मागलाई बेवास्ता गरियो। २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ निरीक्षणमा आएर ४० दिनमा पिच गर्ने आश्वासन दिए पनि काम अझै भएन।’

उनका अनुसार बाटोले सहज रुपमा गाडी चल्न नसक्दा जामको समस्या पनि उस्तै छ। काम गरे पनि अहिले चेकपोस्टको दाउरा डिपोदेखि एनसिसी बैंकसम्मको करिब दुई सय मिटर सडक पिच भएको छैन। ‘धुलो खानलाई हामीले सरकारलाई कर तिरेको हो ?’ उनले भने, ‘समयमा काम नसक्ने ठेकेदारलाई सरकारले किन कारबाही गर्न सकेन रु काम नगर्ने ठेकेदारलाई हटाई नयाँ ठेकेदार ल्याएर भए पनि तत्काल सडक पिच हुनुपर्छ।’

सोही ठाउँका अर्का स्थानीय तीर्थ केसी निर्माण व्यवसायी र कर्मचारीकै मिलेमतोमा समयमा काम हुन नसकेको बताउँछन्। धुलोले सास्ती दिएको बताउँदै उनले भने, ‘पिचको काम समयमा हुन नसक्दा धुलोले स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको छ। दिउँसोमा उड्ने धुलोले नजिकैको मान्छे देखिँदैन। घरका कोठाभरि धुलैधुलो हुन्छ। खानामा पनि धुलो बस्छ।’

उनले त्यहाँका घरधनीले सडक निर्माणमा अवरोध गरेकाले चलनचल्तीअनुसार जग्गाको क्षतिपूर्ति दिएर तत्काल सडक पिच गर्नुपर्ने माग गरे। ‘केही स्थानीयले मुआब्जा नपाएकाले घर भत्काएका छैनन्,’ उनले भने, ‘सरकारको घर भत्काउने पहुँच छ। क्षतिपूर्ति दिएर भए पनि सडक पिच हुनुपर्छ। ट्यांकरको पानी ल्याएर सडकमा छर्केर छारो हाल्ने कामले हुँदैन। जनप्रतिनिधिले पनि सडक निर्माणमा चासो देखाउनुपर्छ।’

सडक निर्माण २०७६ असारमा सक्नेगरी २०७२ सालमा बज्रगुरु-बिरुवा-सि.एम. जे.भी., शर्मा-शैलुङ-कान्छाराम जे.भी., लुम्बिनीरशैलुङरसाप जे.भी, शर्मारशैलुङरकान्छाराम जे.भी. गरी चार निर्माण व्यवसायीसँग क्रमशः ३९ करोड २९ लाख ६४ हजार, २९ करोड ५५ लाख ३२ हजार, २८ करोड ७९ लाख ९७ हजार र ५४ करोड ६७ लाख ५८ हजारमा ठेक्का सम्झौता भएको थियो। म्याद सकिए पनि अझै काम पूरा हुन सकेको छैन।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्व विजयलाल श्रेष्ठले त्यहाँकै स्थानीयले घर नभत्काएकाले सडक निर्माण हुन नसकेको बताए। ‘धेरैजसो काम सकिसकेको छ,’ उनले भने, ‘चेकपोस्टका स्थानीयले मुआब्जा नपाएको भन्दै घर भत्काउन मानेका छैनन्। ढलको पाइप हाल्न सकेका छैनौं। ठेकेदार र विस्तार आयोजनालाई मात्र दोष दिएर हुँदैन।’

जति चौडा हुन्छ, त्यति नै फुटपाथ निकालेर तीन महिनाभित्रमा सडक पिच गर्ने उनले बताए। उनका अनुसार पुरानै ठेकेदारले काम गर्नेछन्। चन्द्रगिरि नगरपालिका वडा नं। ६ का अध्यक्ष सञ्जय सिग्देलले वर्षाका कारणले उक्त सडक बन्न नसकेको बताउँछन्। ‘पानी परेकाले सडक पिच गर्दा धेरै टिक्दैन,’ उनले भने, ‘पानी परेका बेला काम गर्ने मेसिन छैन। चेकपोस्टमा मात्रै सडक निर्माणको काम बाँकी रहेकाले भदौसम्ममा पिच गर्छौं। त्यहाँका स्थानीयको पनि अवरोध देखिएको छ।’ उनले काम नहुन्जेल निरन्तर फलोअपमा रहने बताएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।