७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिरञ्जीवीको नाम गिनिज बुकमा



अ+ अ-

एजेन्सी । मेगास्टार चिरञ्जीवीको नाम गिनिज वल्र्ड रेकर्डमा परेको छ । ४५ वर्षको करियरमा १५६ चलचित्रका ५३७ गीतमा २४ हजार डान्स मूव प्रस्तुत गरेबापत उनले यो सम्मान पाएका हुन् ।

उनलाई अभिनेता आमिर खानले यो अवार्डबाट सम्मान गरेका थिए । अवार्ड दिएपछि आमिर खानले चिरञ्जीवीलाई अंगालो मारे ।

यस अवसरमा आमिर खानले चिरञ्जीवीको तारिफ गर्दै भने, ‘यहाँ आउन पाउनु मेरो लागि खुशी र सम्मानको कुरा हो । चिरञ्जीवी गारुका फ्यानहरू देखेर म खुसी छु । मलाई तपाईहरु माझ समावेश गर्नुभएकोमा म तपाईहरु सबैलाई धन्यवाद दिन्छु । म उहाँको (चिरञ्जीवी)को ठूलो फ्यान हुँ ।’

चिरञ्जीवीले आफ्नो फिल्मी करियर १९७९ मा फिल्म पुनाधिरल्लुबाट सुरु गरेका थिए । यद्यपि, बापूद्वारा निर्देशित मन वुरी पाण्डाभुलु उनको पहिलो रिलिज थियो । उनले सन् १९८२ मा रिलिज भएको हिट फिल्म ‘अन्तलो रामय्या भिडिलो कृष्णय्या’ बाट मुख्य भूमिका निभाउन थालेका थिए ।

सन् १९८३ मा रिलिज भएको फिल्म कैदीले चिरञ्जीवीलाई रातारात ठूलो सुपरस्टार बनायो । त्यसबेलादेखि चिरञ्जीवीलाई मेगास्टार चिरञ्जीवीको नाम दिइएको थियो ।

चिरञ्जीवीको राजनीतिक यात्रा
फिल्मका अलावा चिरञ्जीवीले राजनीतिमा पनि हात हालेका थिए । उनले सन् २००८ मा आन्ध्र प्रदेशको राजनीतिक पार्टी प्रजा राज्यम पार्टी खोलेका थिए । पार्टी स्थापनाका क्रममा उनले सामाजिक न्याय आफ्नो पार्टीको मुख्य एजेण्डा रहेको बताए ।

२००९ को आम चुनावमा, पार्टीले आन्ध्र प्रदेश विधान सभामा १८ सिट जित्यो । ६ फेब्रुअरी २०११ मा, चिरञ्जीवीको प्रजा राज्यम पार्टी भारतीय राष्ट्रिय कांग्रेसमा विलय भयो । यस विलय पछि, उनले २८ अक्टोबर २०१२ मा राज्यसभा सदस्यको रूपमा शपथ लिए । उनलाई पर्यटनमन्त्री बनाइयो ।

२०१४ मा, उनले आन्ध्र प्रदेशको संसदीय र विधानसभा चुनावमा पार्टीको तर्फबाट प्रचार गरे । तर, उनले चुनाव लड्न अस्वीकार गरे । यस निर्वाचनमा उनको पार्टीका सबै उम्मेदवार पराजित भएका थिए । यस चुनावपछि चिरञ्जीवीले कुनै पनि संसदीय बैठकमा भाग लिएनन् ।

राज्यसभा सदस्यको रूपमा उनको कार्यकाल अप्रिल २०१८ मा समाप्त भयो । त्यसयता उनी राजनीतिमा सक्रिय छैनन् ।