४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

राम्रो काम खोजेर विदेश पठाइदिने भन्दै ठग्ने यी को हुन् ? यसरी किन ठग्छन् !

राम्रो काम खोजेर विदेश पठाइदिने भन्दै ठग्ने यी को हुन् ? यसरी किन ठग्छन् !
अ+ अ-

काठमाडौं । सतेन्द्रकुमार यादव र सुरेश महतो छिमेकीमात्र नभई बाल्यकालदेखि सँगै हुर्केबढेका साथी हुन्। सर्लाही, कविलास–८ घर भएका यादव र महतोको सम्बन्ध सामान्य साथी र छिमेकीभन्दा ‘मर्दा र पर्दा’ मा काम लाग्ने भइसकेकाले माझिनुपर्ने विषय सायदै बाँकी थिए। अनेक दुःखसुख उनीहरू र आफन्तले सल्टाएका कैयौं उदाहरण छन्।

तर अहिले त्यस्तो सम्बन्धमा दरार आएको छ। एकले अर्कोलाई बदनामीको दाग लगाउँदै अड्डाअदालत चहार्दै हिँडिरहेका छन्। उनीहरु एकले अर्कोलाई गलत साबित गर्ने प्रयासमा छन्। यसको कारण हो- वैदेशिक रोजगारी।

घटना साढे चार महिनाअघिको हो। गाउँमा जति मेहनत गर्दा पनि कमाएको रकमले गुजारा गर्न नसकेपछि सतेन्द्रले सहपाठी सुरेशलाई वैदेशिक रोजगारीमा जाने योजना सुनाए। अनि सुरेशले काठमाडौंमा आफ्ना भिनाजुले म्यानपावर कम्पनी चलाइरहेको उल्लेख गर्दै तुरुन्तै वैदेशिक रोजगारीमा पठाइदिने प्रतिबद्धता जनाए।

आफ्नै साथीले राम्रो काम खोजेर विदेश पठाइदिने बताएपछि सतेन्द्र ढुक्क भए। यस्तो कुरा भएको एक सातापछि सुरेशले कतारबाट राम्रो पारिश्रमिक पाइने कामको माग आएको बताउँदै पाँच दिनमा एक लाख ५० हजार रुपैयाँ तयार गर्न भने। १० हजार रुपैयाँ खर्च गरेर वैदेशिक रोजगारीमा जान पाइन्छ भन्ने चर्चा सुनेका सतेन्द्रले त्यो रकम धेरै भएको बताए।

सतेन्द्रले राम्रो काम पाइएकाले लगानी अलि बढी लाग्ने उल्लेख गर्दै साथी भएकाले सुरेशलाई एक लाख ४० हजार रुपैयाँसम्म लिएर कतार पठाउन सकिने जवाफ दिए। ‘त्यति कुरा भएपछि सानैदेखिको साथीले पक्कै पनि झुटो बोलेको छैन होला भन्ने लाग्यो,’ सतेन्द्र भन्छन्, ‘त्यस्तो अनुमान अहिले गलत साबित भएको छ।’

आफ्नै साथीमार्फत हेभन ओभरसिजलाई एक लाख ४० हजार रुपैयाँ बुझाएर कतार उडेका सतेन्द्र दुई महिनामै घर फर्कन बाध्य भए। उनका अनुसार कतारमा गर्नुपर्ने काम आफूले जानेको भन्दा फरक मात्र नभई रोजगारदाता पारिश्रमिक दिने अवस्थामा समेत थिएन। ‘जाने बेला इलेक्ट्रिकल भनिएको थियो। कतार गएपछि पानी फ्याक्ट्रीमा लेबरको काम गर्नुपर्यो,’ उनी भन्छन्, ‘काम गरेको दुई महिना बित्दा समेत पारिश्रमिक पाइएन।’

रोजगारदाताले पारिश्रमिक नदिएपछि सतेन्द्र घर फर्केका छन्। घर फर्केपछि उनले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने आफ्नै साथी सुरेशविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्। ‘मेरो डुबेको रकम असुली र ठगी गर्नेलाई कारबाही होस् भनेर उजुरी दिएको छु,’ उनले नागरिकसँग भने, ‘पैसाको नाममा आफ्नै साथीभाइ ठग्नेलाई सामान्य कारबाहीमात्र गरेर हुँदैन।’

वैदेशिक रोजगार ऐन २०६४ ले सम्झौताअनुसार पारिश्रमिक र काम नपाएको खण्डमा पीडितलाई बिगोको साढे एक गुनासम्म क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। सतेन्द्र कानुनले व्यवस्था गरेअनुसार सुविधा पाउनुपर्ने बताउँछन्। ‘साथीमार्फत म्यानपावरले एक लाख ४० हजार रुपैयाँ असुल गरे पनि काठमाडौं आउँदा, जाँदा र अन्यमा गरी करिब दुई लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ। म्यानपावरसँगको सम्झौतामा खानासहित मासिक एक हजार तीन सय रियाल पारिश्रमिक पाउने उल्लेख भए पनि दुई महिना काम गर्दा एक सुको नपाएको उनले गुनासो गरे।

‘घरबाट जाँदा ५० रियाल बोकेको थिएँ,’ उनले भने, ‘त्यही रकम र कतारमै रहेका काकासँग ऋण लिएर जसोतसो दुई महिनाको खर्चको जोहो गरें। अन्तिममा काम गर्ने वातावरण नबनेपछि घर फर्कन बाध्य भएँ।’ उनले काकासँग ऋण लिएर हवाई टिकटको व्यवस्था गरेको बताए।

वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईं रोजगारीको नाममा युवालाई ठगी गर्नेको सञ्जाल व्यापक रहेको बताउँछन्। ‘कतै आफन्त त कतै साथीभाइबाट ठगीको सुरुआत् हुने गरेको पाइन्छ,’ उनले भने, ‘ठगी गर्ने संयन्त्रमा सक्रिय ठूलो गिरोहलाई न्यूनीकरण र नियन्त्रण गर्नु अहिलेको चुनौती हो।’ विगतमा ऐनले व्यवस्था गरेको एजेन्ट अबदेखि राख्न नपाइने व्यवस्था सरकारले गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको पहलमा केही महिनाअघि ऐन संशोधन गरी एजेन्ट खारेज गरिएको हो। एजेन्ट खारेज भइसकेकाले वैदेशिक रोजगारीमा जान चाहने युवाले अबदेखि कुनै पनि एजेन्टसँग सम्पर्क गर्न हुँदैन। वैदेशिक रोजगारीमा जान चाहने युवाले सोझै म्यानपावर कम्पनीमा सम्पर्क गर्नुपर्ने व्यवस्था गरिए पनि अझै एजेन्टको भर पर्ने युवाको संख्या ठूलो छ। जसले गर्दा ठगीमा पर्ने क्रम रोकिएको छैन।

विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीको क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्। ती उजुरीमा पीडितले ८० करोड रुपैयाँ बढी असुल गर्न माग गरेका छन्। पीडितले दिएकोे उजुरीका आधारमा युवा ठग्नेमा म्यानपावरभन्दा एजेन्ट अगाडि देखिएका छन्।

सोही आर्थिक वर्ष विभागमा एजेन्टले ठगी गरेको भन्दै सात सय ७६ उजुरीमार्फत पीडितद्वारा ५३ करोड ६७ लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ। त्यस्तै म्यानपावरले (संस्थागत) ठगी गरेको भन्दै विभागमा एक हजार दुई सय ६३ उजुरी दर्ता गरिएका छन्। ती उजुरीमा म्यानपावरसँग २९ करोड ६३ लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ।

विभागका कर्मचारी म्यानपावरद्वारा हुने ठगीमा कारबाही चलाउन र क्षतिपूर्ति तिराउन सहज भए पनि व्यक्तिगत तबरले हुने ठगीमा पीडितलाई न्याय दिन कठिन हुने बताउँछन्। म्यानपावरले विभागमा धरौटी राखेका हुँदा पीडितलाई सोही धरौटीबाट क्षतिपूर्ति दिने गरिन्छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।