४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

छाडा गाईगोरु : राजनीतिक लाभ लिने दाउ

छाडा गाईगोरु : राजनीतिक लाभ लिने दाउ
अ+ अ-

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २१ मा निर्माण गरेको कान्जी हाउसभित्र अहिले चार सयदेखि पाँच सयको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन्। उपमहानगरको मुख्य र भित्री सडकमा गरी अझै एक हजार पाँच सयको संख्यामा छाडा गाईबस्तु रहेको अनुमान गरिएको छ।

भारतबाट उल्लेख्य मात्रामा भित्रिएका यस्ता गाईगोरु तथा बाच्छाबाच्छीको व्यवस्थापन गर्न उपमहानगरपालिकालाई हम्मेहम्मे परिरहेको छ। छाडा गाईबस्तु व्यवस्थापन गर्नु उपमहानगरका लागि चुनौतीको विषय बनेको छ। छाडा गाईबस्तु व्यवस्थापनको समस्याका कारण नगर प्रमुख डा। धवलशम्शेर राणा यतिखेर दोहोरो चपेटामा परेका छन्। नगरभित्र छाडा गाईबस्तुलाई त्यसै छाड्ने हो भने दिनहुँ सडक दुर्घटना हुन्छन्। नियन्त्रणमा लिने हो भने गाईबस्तुको संख्याभन्दा कान्जी हाउसको क्षमता सानो छ।

उपमहानगरपालिकालाई कान्जी हाउसभित्र राखिएका गाईबस्तुलाई घाँस र पानी खुवाउने खर्च व्यवस्थापन गर्नै कठिन छ। उपमहानगरपालिका कार्यालयका अनुसार कान्जी हाउसको क्षमताभन्दा १० गुणा बढी गाईलगायत चौपाया थुनेर राख्नुपरेको छ। क्षमताभन्दा बढी राख्दा गाईले नियमित रूपमा घाँस, पानी खान पाएका छैनन्। घाँस र पानी नपाउँदा गाईबस्तु मर्ने क्रम पनि चलिरहेको छ।

कान्जी हाउसका गाईबस्तुले उचित स्याहार नपाएको भन्दै पशु अधिकारकर्मी तथा अभियन्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत उपमहानगरपालिकाको आलोचना गर्दै केही समयसम्म गाईलाई घाँस र पानीको व्यवस्थापन गरे। अधिकारकर्मी तथा अभियन्ताको व्यंग्यात्मक शैलीको उक्त अभियानपश्चात उपमहानगरपालिकाले दुईजना कर्मचारी खटाएर ट्र्याक्टरमार्फत घाँस ल्याउने व्यवस्था त मिलाएको छ तर यो काम नियमित गर्न कठिनाइ देखिन्छ।

नेपालगन्जमा व्याप्त छाडा गाईबस्तु व्यवस्थापन र संरक्षणको चिन्ता सँगसँगै यो समस्यालाई राजनीतिक मुद्दा बनाउने प्रयास पनि भइरहेको छ। नगर प्रमुख राणा र उनीआबद्ध रहेको दल राप्रपालाई जोडेर नागरिक समाज र राजनीतिक स्तरबाट विभिन्न तर्क गर्न थालिएको छ। ‘हिन्दु धर्मको मुद्दा बोकेको राप्रपाका महामन्त्री रहनु भएका मेयरज्यूले विगतमा गाई र धर्मको कुरा जोडेर चुनाव जित्नु भएको हो, तर उपमहानगरको नेतृत्वमा रहँदा अहिले उहाँले व्यवस्थापन गर्ने नाममा गाईलाई कान्जी हाउसमा लगेर भोकभोकै मार्दै हुनुहुन्छ,’ नेपाली कांग्रेसका नेता रवीन्द्र हमालले भने, ‘यसबाट राप्रपाले बोकेको हिन्दु धर्म र गाईको मुद्दामाथि प्रश्न उठेको छ।’

हिन्दुको हरेक संस्कारमा प्रयोगमा आउने राष्ट्रिय जनावर गाईको व्यवस्थापनप्रति टिप्पणी हुने क्रम चलिरहेको छ। सामाजिक सञ्जालदेखि सडक, चोक तथा चिया पसलमा अचेल ‘गाई राजनीति’ बारे चर्चा हुन थालेको छ। गाईबस्तु संरक्षणको सवालसँगै हिन्दु धर्मसँग प्रत्यक्ष जोडिएको जनावर गाईको मुद्दालाई टेकेर राजनीतिक रूपमा लाभ लिने प्रयास पनि भइरहेको नागरिक समाजका अगुवा बताउँछन्।

छाडा गाई व्यवस्थापनमा देखापरेको समस्यालाई नजिकबाट हेरिरहेका बाँके–२ का प्रतिनिधिसभा सांसद एवम् सहरी विकासमन्त्री गृहनगर आएको बेला यसैसाता गरेको घोषणाले नेपालगन्जको गाई राजनीतिमा ठूलै हलचल ल्यायो। उनले कान्जी हाउसभित्र रहेका गाईलाई बचाउन सामाजिक अभियन्ताले थालेको कामको खुलेर प्रशंसा मात्र गरेनन्, सामाजिक अभियन्तालाई तत्कालै ५० हजार रुपैयाँ हस्तान्तरण गर्दै कान्जी हाउस व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकालाई सांसद् विकास कोषबाट एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरे।

छाडा गाईबस्तु व्यवस्थापनमा राईको घोषणाले नगरप्रमुख राणा र उनीआबद्ध रहेको पार्टी राप्रपा सशंकित भएको छ। समाजवादी पार्टीका नेतासमेत रहेका राईले प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका नेता ओमप्रकाश आजादलाई भारी मतले पराजित गरेका थिए। आजाद कांग्रेस र राप्रपाको साझा उम्मेदवार भए पनि मिश्रित समुदायको बसोबास रहेको उक्त क्षेत्रमा राईलाई हिन्दु समुदायले खुलेरै सहयोग गरेका थिए।

छाडा गाईबस्तु व्यवस्थापनमा राईले गरेको घोषणाले आगामी निर्वाचनमा कतै राजनीतिक रूपमा असर पर्ने त होइन भन्ने अड्कल राप्रपाका नेता, कार्यकर्ताले गरेका छन्। तर मन्त्री राईले आफूले गाईका नाममा राजनीति गरेको नभई राष्ट्रिय जनावर गाईको संरक्षण गर्नु दायित्व र कर्तब्य भएको सम्झेर सहयोग घोषणा गरेको तर्क गरेका छन्। ‘म नेपाल सरकारको मन्त्री भएको र बाँके जिल्लाको सांसद भएको हैसियतले गाईको उचित व्यवस्थापन होस् भन्न चाहन्छु,’ उनले भने।

भारतबाट भित्रिएका छाडा गाईले नेपालगन्जको राजनीतिलाई प्रभाव पार्न सक्ने कतिपयको विश्लेषण छ। नेपालगन्जमा रहेका छाडा चौपायाको करिव ८० प्रतिशत भारतबाट आएको उपमहानगरपालिकाले जनाएको छ। बाँकेमा नेपाल–भारत सीमाको लम्बाइ करिब ६५ किलोमिटर छ। खुला सीमाका कारण छाडा चौपाया जुनसुकै ठाउँबाट पनि सहज रूपमा प्रवेश गर्न सक्ने अवस्था रहेको छ। त्यसरी प्रवेश हुने भारतीय छाडा चौपायालाई सिमा क्षेत्रमा चौविसै घण्टा ड्युटी दिएर रोक्न सक्ने सम्भावना नभएको नगर प्रमुख राणा बताउँछन्।

हिन्दु कट्टरपन्थी नेता योगी आदित्यनाथ भारत उत्तरप्रदेशको मुख्यमन्त्री भएपछि करिब दुई वर्षयता त्यहाँ गौवधमा पूर्ण प्रतिबन्ध लगाइएको छ। यसअघि भारतीय गाईलाई मासुको प्रयोजनका लागि सीधै बंगलादेश पु¥याउने गरिन्थ्यो। भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री आदित्यनाथ आएपछि भने उनले गाईको लगत लिने नीति बनाए। सोही नीतिका कारण अहिले उत्तर प्रदेशका विभिन्न सहरमा गाईको संख्या अत्यधिक रहेको बताइन्छ।

उत्तर प्रदेश सरकारले गाई संरक्षणका लागि भन्दै हरेक ग्राम पञ्चायतमा किसानलाई अनुदानको व्यवस्थासमेत गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर उत्तर प्रदेशसँग जोडिएका बाँकेलगायत विभिन्न जिल्लामा भारतीय गाईको बिगबिगी बढेको छ। खुला सिमानाका कारण भारतीय चौपाया सहजै नेपाल प्रवेश गर्दा सकस भइरहेको नगर प्रमुख राणा बताउँछन्। नेपालगन्जको छाडा चौपायाको समस्यालाई उप- महानगरपालिका एक्लैले समाधान गर्न सक्ने अवस्था अब नरहेको उनको भनाइ छ। ‘छाडा चौपायाको समस्या विकराल भइसकेको छ, अब जिल्ला समन्वय समितिको जिल्ला सभा हुँदै छ, त्यहाँ यो मुद्दा जोडदार रूपले उठ्छ,’ राणाले भने।

नेपालगन्जका वरिष्ठ पत्रकार पूर्णलाल चुके छाडा गाईबस्तु व्यवस्थापनमा जटिलता रहेको बताउँछन्। ‘भारतको उत्तर प्रदेश सरकारले गाईको विषयमा कडा नीति ल्यायो,’ उनले भने, ‘धार्मिक हिसाबले गाईको संरक्षण गर्नु एउटा पाटो हो, अर्को कुरा धर्मसँग जोडिएको गाईलाई केही गर्न नमिल्ने भएकाले पनि भारत र नेपालमा गाईको संख्या वृद्धि भएको हो।’ चुकेका अनुसार छाडा गाईबस्तुको समस्या भारत र नेपाल दुवै देशका सरकारले चासो राखेर समाधान गर्नुपर्ने विषय हो।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।