४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

शिक्षक बनेर आइन् नर्स

शिक्षक बनेर आइन् नर्स
अ+ अ-

काठमाडौं । विद्यालयमा को को हुन्छन्  ? विद्यार्थी, शिक्षक र विद्यालयका कर्मचारी । अब प्रदेश ३ का १३ जिल्लाका विद्यालयहरूमा पुगियो भने एकजना ‘नर्स’ लाई पनि पढाउँदै गरेको भेटिए अचम्म नमाने हुन्छ ।

उनले विद्यार्थीको प्राथमिक उपचार मात्रै गर्दिनन्, स्वास्थ्यका शिक्षक अनुपस्थित भएका दिन सरसफाइ, महिनावारी, प्रजनन स्वास्थ्य र स्वस्थ खानपिनका बारेमा चेतनामूलक कक्षा पनि लिन्छिन् । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले नमुनाका रूपमा १३ जिल्लाका २० विद्यालयमा लागू गरेको कार्यक्रम विस्तारको तयारीमा छ ।

आफ्नो विद्यालयमा परेको नर्स थपिने कार्यक्रम सुनेर सुरुमा छक्क परेका प्रधानाध्यापकहरू यतिबेला प्रभावबारे बयान गर्न सक्ने भएका छन् । महिनावारी हुँदा कक्षा छाड्ने छात्राहरू अब नियमित रहेको अवस्थाले स्वास्थ्य चेतना क्रमिक बढिरहेको उनीहरू बताउँछन् ।

‘छात्राहरूले आफ्ना समस्या नर्सलाई खुलस्त भन्न सक्ने र उनले पनि काउन्सिलिङ गर्न सक्ने हुनेरहेछ,’ चितवनको नारायणी नमुना माविका प्रधानाध्यापक पूर्णप्रसाद दुवाडीले भने, ‘हाम्रो स्कुलमा नर्स भएका कारणले १० छात्राहरू आत्महत्या गर्नबाट जोगिएको अलि पछि थाहा भयो ।’ हालै हेटौंडामा आयोजित भेलामा उनले विभिन्न प्रकारका तनावमा रहने विद्यार्थीलाई शिक्षकले एकोहोरो पढाइका बारेमा मात्रै भनिरहँदा नर्सले अवस्थाअनुसार सम्झाउने गर्नु निकै प्रभावकारी भएको पाइएको बताए ।

‘घर र स्कुलको वातावरणका विभिन्न कारणले ५० जना छात्रछात्राहरू डिप्रेसनका सिकार भएका थिए,’ उनले भने, ‘नर्स भएका कारणले तिनीहरूको पनि बेलैमा उपचार हुन सक्यो ।’ हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय मावि मकवानपुरमै सर्वाधिक संख्यामा विद्यार्थी भएको विद्यालय हो । ‘विद्यार्थी संख्या १९ सय ७८ छ, हामी शिक्षक–कर्मचारी ५० जना छौं,’ प्रधानाध्यापक वीरसिंह बैठा भन्छन्, ‘दिनको २०/२५ जना बिरामी नपरेको कहिल्यै नहुने । अहिले नर्स आउनु भएपछि धेरै सजिलो भएको छ ।’

प्राथमिक उपचार जसोतसो चलिरहेका अवस्था भए पनि नर्सले स्वस्थ रहन सिकाउनु विद्यार्थीका हकमा लाभकारी देखिएको उनले बताए । ‘क्यान्टिनको खानेकुराको मेन्यु फेर्ने र सरसफाइबाट सुरु भएको स्वस्थ रहने अभ्यासका कुरा हामीले अहिले मज्जाले बुझेका छौं,’ उनले भने । त्यहाँ कार्यरत नर्स सोनु श्रेष्ठ पनि खुसी छिन् । भन्छिन्, ‘औषधि र प्राइमरी हेल्थ केयर बुझाउने सबै पूर्वाधार स्कुलले व्यवस्था गरिदिएकाले काम गर्न सजिलो छ ।’

मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने छतिवनको महेन्द्र माविका प्रधानाध्यपक नारायणप्रसाद चापागाईं नर्स राखिएपछि मात्रै कामको महत्त्व बुझेको बताउँछन् । ‘नर्सको सल्लाहले हाम्रा खानेकुरा र व्यक्तिगत सरसफाइदेखि सुरु भएको स्वस्थ रहने अभ्यासले अहिले धेरै सजिलो छ,’ उनले भने, ‘सुरुमा यो कार्यक्रम सुनेर के अनौठो प्रस्ताव होला भन्ने लागेको थियो ।’

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकहरूलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले गत वर्ष परीक्षणका रूपमा ‘एक विद्यालय एक नर्स’ ल्याएको हो । कार्यक्रमअन्तर्गत काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नुवाकोट र धादिङका २/२ र सिन्धुली, दोलखा, रसुवा, रामेछाप, काभ्रे तथा भक्तपुर जिल्लाका एकरएक विद्यालयमा २० जना नर्स खटाइएको छ ।

छनोटमा परेका विद्यालयमा एकजना नर्स, बिरामीका लागि एउटा बेड, प्राथमिक उपचार उपकरण र औषधिहरू उपलब्ध गराइएको कार्यक्रमको नतिजा सकारात्मक आउँदा विस्तारको माग बढेको मन्त्री युवराज दुलालले बताए । १३ जिल्ला समेटिएको प्रदेश ३ मा १ सय १९ वटा स्थानीय तह र १ हजार ३ सय ५० सामुदायिक विद्यालय छन् । ‘दुई वर्षभित्र प्रदेशका सबै विद्यालयमा यस्तो कार्यक्रम लैजानुपर्छ भन्नेमा हामी पुगेका छौं,’ उनले भने, ‘अब कार्यक्रम १ सय २१ विद्यालयमा विस्तारको तयारी भइरहेको छ ।’

जनस्वास्थ्य ऐन २०७५ ले स्थानीय तह र प्रदेश सरकारले शैक्षिक संस्थासँग सहकार्य गरी स्वास्थ्य सेवा प्रदान गर्ने सक्ने व्यवस्था छ । त्यसलाई कार्यान्वयन गर्न लागू गरिएको नमुना कार्यक्रम रोग लागेपछिको उपचारमा भन्दा रोग लाग्नै नदिने नीतिबाट प्रेरित रहेको उनले बताए । नर्सिङ जनशक्ति नियुक्ति, तालिम, औषधि खरिद र पूर्वाधारका लागि चालु वर्ष ६ करोड ६५ लाखको बजेट रहेको जानकारी उनले दिए । यस्तै कार्यक्रम प्रदेश १ ले १ सय ६५ विद्यालयमा लागू गर्ने तयारी गरिरहेको छ ।

यही कार्यक्रमलाई पछ्याउँदै केन्द्र सरकारले स्थानीय तहसँग समन्वय गरेर ३० विद्यालयमा नर्स राख्ने तयारी गरिरहेको छ । यसका लागि कार्यविधि बनिसकेको स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी तुइतुइले बताइन् । ‘बच्चाहरूले धेरै समय स्कुलमै बिताउँछन् । स्वास्थ्य शिक्षा व्यावहारिक बनाउन स्कुलमा नर्स राख्ने अभ्यास अघि सारिएको हो,’ उनले भनिन्, ‘रोग लाग्नै नदिने विषयलाई व्यावहारिक बनाउन पनि विद्यालय नर्स कार्यक्रम प्रभावकारी हुन्छ ।’

स्वास्थ्य नीति २०७६ ले विद्यालय स्वास्थ्य कार्यक्रमलाई शिक्षासँग समन्वय गर्न प्रत्येक उच्च माविमा न्यूनतम एकजना स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गर्ने उल्लेख छ । स्थायी दरबन्दी कार्यान्वयन भइनसकेकाले अहिले करारमा लिएर विद्यालयहरूलाई नर्स उपलब्ध गराइएको छ । २०१६ को स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणले १५ वर्षमुनिका ३४ प्रतिशत किशोरकिशोरीले विद्यालयमा छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।