४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

फस्टाउँदै अवैध स्वास्थ्य क्लिनिक, शिशुको ज्यान गयो, आमा आइसियुमा

फस्टाउँदै अवैध स्वास्थ्य क्लिनिक, शिशुको ज्यान गयो, आमा आइसियुमा
अ+ अ-

लहान । मिर्चैया नगरपालिका–३ राघोपुरकी शोभादेवी चौधरीलोरी व्यथा लागेपछि परिवारका सदस्यले एम्बुलेन्समा लहान–३ अस्पताल चोकस्थित सुनिता श्रेष्ठको निजी क्लिनिकमा लगे। तीन छोरीकी आमा शोभा मिर्चैयामा अस्पताल भए पनि लहानमा भरपर्दो उपचारको आसमा आएकी थिइन्। उनले पहिला पनि नर्सिङ निरीक्षक श्रेष्ठसँग जाँच गराएकी थिइन्। त्यसैले उनी श्रेष्ठकै क्लिनिकमा आएकी हुन्।

त्यहाँ आएपछि श्रेष्ठले मेरीगोल्ड हेल्थ पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा पठाएको शोभाकी आफन्त लिल्सा चौधरीले बताइन्। रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) स्मारक अस्पताल (सरकारी) सँगै मेरीगोल्ड हेल्थ पोलिक्लिनिक छ। ‘त्यहाँ हिँड्नुस, जाँचयन्त्र राम्रो छ, राम्रोसँग जाँचिदिन्छु भने’ श्रेष्ठलाई उद्धृत गर्दै लिल्साले भनिन्। शोभालाई लिएर गएकी आफन्त लिल्साका अनुसार बच्चा जन्मिन ढिला हुँदै गएपछि डर लाग्न थाल्यो। कतै बाहिर लग्नुपर्छ भनेर सोध्दा डाक्टर र दिदी (नर्स) हरूले ‘पैसा बढी भएको छ, किन लग्नेबाहिर यहीं भैहाल्छ,’ भनेर ढाड्स दिएपछि उनी चुप लागिन्।

‘राति शोभालाई अर्को कक्षतिर लगेपछि म पनि पछिपछि दौडिँदै गएँ,’ उनले भनिन्, ‘डाक्टर र दिदीहरूले हप्काएर फर्काइदिनुभयो। ’ केहीबेरमै डाक्टर र दिदीहरू दौडादौड गर्न थालेपछि उनले नर्सलाई सोधिन, ‘के भयो ?’ जबाफ आयो, ‘किन अत्तालिनुभएको। हामीले बच्चालाई बचाउन सकेनौं, आमाको हालत पनि नाजुक छ। ’ यो खबरले परिवार शोकमा पर्यो। छोराको आसमा शोभा चौथो पटक गर्भवती भएकी थिइन्।

बच्चाको घाँटीमा बेरिएको साल निकाल्न ‘सक्सन मेसिन’ प्रयोग गर्दा थिँचिएर मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै लिल्साले बताइन्। साल चुँडिएको तथा पाठेघरमा समेत धक्का पुगेर उच्च रक्तश्रावले शोभाको अवस्था पनि नाजुक बनेको उनले बताइन्। घटनाबारे तत्काल इलाका प्रहरी कार्यालय लहानमा फोन गरी जानकारी गराएको लिल्साले बताइन्। जानकारी पाएपछि आएको डिएसपी भेषराज रिजालसहितको प्रहरी टोलीले शोभालाई उद्धार गरेर थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लग्यो। शोभालाई नोबेल अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ।

मेरिगोल्ड हेल्थ पोलिक्लिनिक एन्ड डाइगनोस्टिक सेन्टरलाई सुत्केरी सेवा दिने अनुमति नभएको जिल्ला स्वास्थ्य प्रमुख डा. नागेन्द्रप्रसाद यादवले बताए। यो पोलिक्लिनिकले गैरकानुनी रूपमा प्रसूति सेवा सञ्चालन गरेको पाइएको छ। निजी स्वास्थ्य संस्थाले उपचारमा लापरबाही गर्दा शिशुको ज्यान गएको यो पहिलो घटना भने होइन। जिल्लामा नियामक निकायको मौनताका कारण फस्टाउँदै गएका निजी स्वास्थ्य संस्थाबाट उपचारमा भएको लापरबाहीका घटना धेरै छन्।

गत माघ ११ मा भगवानपुर गाउँपालिका–७ की मनिषा यादवलाई तल्लो पेट दुख्ने व्यथाले च्यापेपछि परिवारले राउ अस्पताल लहान लगे। मनिषा पहिलोपटक आमा बन्दै थिइन्। अस्पताल पुगेपछि उनलाई डा. सुशीला सिंहले अस्पतालसँगै रहेको श्रेया पोलिक्लिनिकमा जान सुझाइन्। ‘डा. सिंहले त्यहाँ हिँड्नुस, जाँचयन्त्र त्यहाँ छ, राम्रोसँग जाँचिदिन्छुु भन्नुभयो’, मनिषाले भनिन्। मनिषालाई लिएर गएकी उनकी दिदी रेखाका अनुसार श्रेया पोलिक्लिनिकमा डा. सिंहले भिडियो एक्सरे गरेर बच्चाको अवस्था ठीक छ भनिन्। राउ अस्पतालको ओपिडी पुर्जामै उनले आफ्नो निजी क्लिनिकमा किन्न भन्दै औषधि लेखिदिइन्। ‘नौ सय २० रुपैयाँको औषधि र ६ सय रुपैयाँको भिडियो एक्सरे खर्च बुझाएर डा। सिंहको सल्लाहअनुसार हामी घर फर्कियौं,’ रेखाले भनिन्, ‘औषधि खाँदा पनि दुखाइ बिसेक नभएपछि भोलिपल्ट राउ अस्पताल गयौं। मनिषालाई भर्ना गर्यौ। तर उपचारमा लापरबाही भयो। डाक्टरले राम्ररी हेरेनन्। ’

नर्सले मनिषालाई प्रसूति कक्षमा लगेको केहीबेरमै पेटभित्रै बच्चा मरिसकेको जानकारी गराएको रेखाले बताइन्। ‘एक दिनअघि जाँच गराएर घर फर्केकी थिएँ। बच्चाको अवस्था ठिक छ भनेका थिए,’ मनिषा सम्झन्छिन्, ‘भोलिपल्ट जाँदा पेटभित्रै बच्चा मरेको भन्दा विश्वासै लागेन। ’ डाक्टरको लापरबाहीका कारण आफ्नो सन्तान खेर गएको उनको गुनासो छ। मनिषाका पति वीरेन्द्रले माघ ११ गतै नै रितपूर्वक जाहेरी लेखाएर इलाका प्रहरी कार्यालय लहानमा दर्ता गराउन जाँदा तत्कालीन डिएसपी राजेश थापाले दर्ता गर्न नमानेको बताए। कमसेकम जाहेरी लिएर घटनाको तथ्य अनुसन्धान गरिदिनुस्, हामीलाई निसाफ दिलाउन पहल गरिदिनुस् भन्दा ‘बबाल गर्न आएको,’ भन्दै झपारेको उनले सुनाए।

प्रहरीले घटना दर्ता गरी कानुनी कारबाही गर्नुको साटो मिलापत्र गराइदियो। लहानका तत्कालीन सई डेकेन्द्र कार्कीले २०७५ माघ ११ गते यस घटनाका पीडित र डाक्टरबीच मिलापत्रको लिखित सम्झौता गराइदिएका थिए। स्वास्थ्य क्षेत्रमा बढ्दो बेथितिका कारण जोखिममा पर्दै गएको मानव जीवनका यी दुई घटना प्रतिनिधि मात्र हुन्। नियामक निकायको फितलो नियमनको फाइदा उठाउँदै यहाँका निजी स्वास्थ्य संस्थाबाट यस्ता घटना पटकपटक दोहोरिएका छन्।

ज्यानै जाने घटनापछि निजी स्वास्थ्य संस्थाले पीडितपक्षलाई कानुनी कारबाहीबाट रोक्न आर्थिक लेनदेन गरेर मिलाउने गरेको स्रोतको दाबी छ। आर्थिक लेनदेनका कारण निजी स्वास्थ्य संस्थाको लापरबाही ढाकछोप हुँदै आएको छ। आफ्नो गल्ती लुकाउन निजी स्वास्थ्य संस्थाले घटनालगत्तै पीडित र उजुरी सुन्ने निकायलाई आर्थिक प्रलोभनमा पारेर मिलापत्र गराउने स्रोत बताउँछ। मिर्चैया बजारमा सञ्चालित मिर्चैया नर्सिङ होममा कार्यरत डा. शम्भुकुमार यादव असारमा पक्राउ परे। डा. यादवलाई इलाजसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलमार्फत जिल्ला अदालतमा अभियोजन दर्ता गरायो।

असार १८ गते जाँचका लागि मिर्चैया नर्सिङ होम पुगेकी सिरहा नगरपालिका–१०, गुलरियाकी एक महिलासँग १२ हजार रुपैयाँ लिएर २३ गते लिंग परीक्षणपछि गर्भपतन गराएको आरोप यादवमाथि थियो। गर्भपतनपछि महिलाको रक्तश्राव नरोकिएका कारण घटना बाहिर आएको थियो। त्यसपछि प्रहरीले अनुसन्धानका लागि डा. यादवलाई नियन्त्रणमा लिएको थियो। मुद्दाका प्रतिवादी डा. यादव र डा. वीरेन्द्र चौधरी भर्खरै जिल्ला अदालत सिरहाको आदेशमा धरौटीमा छुटेका छन्।

मेरिगोल्ड हेल्थ पोलिक्लिनिकबाट पीडित पक्षले कानुनी कारबाहीमार्फत निसाफ खोज्ने बताएका छन्। लिल्साले भनिन्, ‘चिकित्सकले लापरबाही गर्दा बच्चाको ज्यान गयो, आमा जीवनमरणको दोसाँधमा छिन्। उपचारका नाममा खोलिएका ज्यानमारा संस्थामाथि कारबाही हुनुपर्छ। हामी कानुनी कारबाहीका पक्षमा छौं। ’ घटनापछि मेरिगोल्ड हेल्थपोक्लिनिक सोमबारबाट बन्द छ। यसका सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग बयान लिने काम भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक रिजालले बताए। पीडित पक्षबाट जाहेरी आए दर्ता गरेर कानुनबमोजिमको कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।