४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

बस्तीमा गैंडा छिरेपछि….

बस्तीमा गैंडा छिरेपछि….
अ+ अ-

काठमाडौं । भरतपुरको बसपार्क आडैको टोलमा शनिबार बिहानै ठूलो हल्लाखल्ला मच्चियो । वनमा देखिने गैंडा अचानक बसपार्क आडैमा भेटिएपछि मान्छे त्रस्त मात्रै भएनन्, फोटो खिच्न पनि लालायित देखिए । होहल्ला बढ्दै गएपछि गैंडा जोडसँग दौडिन थाल्यो ।

बसपार्क आडैमा प्लटिङ भएको जमिन छ । त्यहाँ न घर बनेका छन्, न खेती नै हुन्छ । ठूलो झाडी भएको प्लटिङभित्रै गएर गैंडा लुक्यो ।

लुकेको गैंडा जुनसुकै बेला निस्कन सक्थ्यो । दिउँसो भीडभाड बढेका बेला निस्किए झनै खतरा थियो । त्यसैले भरतपुरको डिभिजन वन कार्यालयमा खबर पुग्यो । स्थानीयले बरन्डाभार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटालाई गैंडा डुलेको खबर सुनाए । सापकोटाले त्यो खबर चितवन निकुञ्ज कार्यालयमा पुर्‍याए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले छिट्टै उद्धार टोली खटाए ।

आठ बज्दा नबज्दै वन्यजन्तु उद्धारमा खट्ने सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली आइपुग्यो । कोषका संरक्षण अधिकृत अनिल प्रसाईंले उद्धारको चाँजोपाँजो मिलाउन थाले । ६ वटा हात्ती र प्राविधिक जुटाउँदा मध्याह्न मात्रै टोली गैंडा भएतर्फ लम्कियो । ६ वटा हात्ती गैंडा लुकेको प्लटिङको झाडीतर्फ छिर्‍यो । त्यसमध्येको ठूलो हात्तीमा गैंडालाई डार्ट गरेर बेहोस बनाउन तीर्थ लामा चढेका थिए ।

लामाले डार्ट हानेर बेहोस बनाएपछि गैंडालाई खोरसम्म राख्ने काम छिटोछिटो गर्नु थियो । बसपार्क नजिकको बस्ती भएका कारण हेर्नेहरूको ठूलो भीड थियो । ‘बेहोस बनाउने औषधि दिएपछि जंगल र शान्त ठाउँमा ४५ मिनेटसम्म काम गर्न सकिन्छ । तर भीड भएको ठाउँमा आवाज र अन्य गतिविधि सुनेर गैंडा चाँडै जाग्छ । त्यसैले छिटो काम सक्नुपर्छ,’ कोषका पशु चिकित्सक डा. अमिर सडौलाले भने ।

बेहोस बनाएर नियन्त्रणमा लिएपछि गैंडालाई ट्रकमा लोड गरी भरतपुरबाट २५ किमि दक्षिणपश्चिम चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिक तमोर तालमा लगिएको छ । बसपार्कदेखि दक्षिण र पूर्वतर्फ निकै पर बरन्डाभार जंगल छ । वन छाडेर त्यो ठाउँ पुग्न चार–पाँच किलो मिटर दूरी पार गर्नुपर्छ ।

‘गैंडा चर्दाचर्दै बाहिर निस्कने गर्छन् । मीठो घाँसको खोजीमा बस्ती पस्छन् । यो पनि खेतमा चर्दाचर्दै यहाँसम्म आयो,’ भरतपुरको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलले भने । वनदेखि यति टाढाको बस्तीसम्म यसअघि गैंडा त्यति नआएको सापकोटाले बताए ।

१०र१२ वर्षअघि बसपार्कभन्दा पनि तल घना बजार क्षेत्र हाकिम चोकमै गैंडाले ‘आतंक’ मच्चाएको थियो । तर गैंडा उद्धार सामान्य काम भने हैन । एउटा गैंडा उद्धार गर्न ४० जना खट्नुपर्छ । पशु चिकित्सक डा. सडौलाका अनुसार बेहोस पार्ने औषधि एक पटक प्रयोग गर्दा नै २० हजार रुपैयाँ खर्च हुन्छ । एउटा गैंडा उद्धारमा लगभग एक लाख रुपैयाँ खर्च हुन्छ । अघिल्लो वर्ष बस्तीमा आएका पाँच गैंडाको उद्धार भएको थियो ।

जोगाउन स्मार्ट पेट्रोल
बर्दिया राष्ट्रिय निकुञ्जले गैंडा संरक्षणका लागि मोबाइल एप्स प्रयोग थालेको छ । स्मार्टफोनमा एप्स प्रयोग गरी गैंडाको अवस्थाबारे फोटोसहितको जानकारी लिन सकिन्छ । यसलाई स्मार्ट पेट्रोलको नाम दिइएको छ । यसअघि निकुञ्जको बबई भ्यालीमा छाडिएका गैंडाको घाँटीमा रेडियो कलर जडान गरेको थियो ।

यसको फ्रिक्वेन्सीले गैंडा रहेको स्थान र उसले गर्ने गतिविधिको सूचना दिन्थ्यो । तर यो प्रविधिले अहिले काम गर्न छाडेको छ । बर्दिया निकुञ्जको ठाकुरद्वारा र मन्त्रालयबाट हेर्न सकिन्थ्यो । स्याटेलाइट रेडियो कलरले काम गर्न छाडेपछि अर्को नयाँ प्रविधि भित्र्याइएको हो ।

बबई भ्याली क्षेत्रमा छाडिएका गैंडामा जडित रेडियो कलरले काम गर्न छाडेको निकुन्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । गैंडा गणनाको काम गर्न बाँकी रहेकाले रेडियोकलर पुनः जडान गर्न नसकिएको हो । ‘रेडियोकलरले सूचना दिन छाडेको छ । बिग्रिएको हुन सक्छ । चुँडिएर घाँटीबाट हराएको पनि हुन सक्छ,’ उनले भने, ‘गणनाको काम सुरु भएपछि विस्तृत जानकारी आउनेछ ।’ यही वर्ष गैंडा गणनाको काम सुरु हुनेछ ।

सशस्त्र द्वन्द्वका क्रममा बबई भ्यालीमा रहेका सबै गैंडा चोरी सिकारीले मारेका थिए । सन् २०१६ र २०१७ मा पुनः स्थापनाका लागि चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका आठ गैंडामा रेडियोकलर जोडिएको थियो । फेरि पनि चोरीसिकारी हुन सक्ने भन्दै त्यो बेलाको नयाँ प्रविधि प्रयोग गरिएको हो ।

बबई भ्यालीमा हाल ६ गैंडा रहेको निकुञ्ज प्रशासनले जनाएको छ । त्यसमध्ये एउटा गैंडा कालगतिले मर्‍यो । मर्ने र जन्मिने भइरहेका कारण गैंडाको संख्यामा घटबढ हुने गरेको छ । गैंडा संरक्षणका लागि आधुनिक प्रविधि भित्रिँदै गरेको राष्ट्रिय प्राकृतिक संरक्षण कोष कार्यक्रमका सहायक संरक्षण अधिकृत लक्ष्मीराम जोशीले बताए ।

रेडियो कलरले दुई वर्षसम्म काम गर्नेछ । ‘मेसिन हो, बिग्रिन सक्छ । दुई वर्षमा आफैं पनि बिग्रिन्छ,’ उनले भने, ‘रेडयो कलर निश्चित समयका लागि मात्रै काम लाग्छ ।’ संरक्षणका लागि विभिन्न आधुनिक प्रविधि निकुञ्जमा ल्याइरहेको उनले बताए ।

कर्णाली क्षेत्रमा यसअघि गैंडा सुरक्षाका लागि भिडियो क्यामेरा जडान गरिएको थियो । एक दशकयता गैंडाको संख्या ३७ पुगेको छ । सन् २००८ मा यो संख्या २२ मा झरेको थियो । बबई उपत्यकामा छाडिएका डेढ दर्जनभन्दा बढी गैंडा चोरी सिकारी भएपछि संख्या एकाएक घटेको हो ।

सन् १९८६ मा पहिलोपल्ट चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा ल्याइएको थियो । सन् २००० मा गैंडाको संख्या ६३ पुगेको थियो । सन् २००५ मा बढेर ६७ पुग्यो । तर त्यसको दुई वर्षपछि आधाभन्दा बढी संख्या घट्यो । सन् २००७ मा गैंडाको संख्या घटेर ३१ मा झरेको तथ्यांक छ । त्यसयता सन् २००८ मा अझै घटेर २२ मा झर्‍यो । हाल गैंडाको संख्या ३७ पुगेको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।