४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

कर्मचारी रिझाउँदै सामुदायिक वन पदाधिकारी

कर्मचारी रिझाउँदै सामुदायिक वन पदाधिकारी
अ+ अ-

मोरङ । चारकोसे जंगलसँगै जोडिएको मोरङको उर्लाबारी मंगलबारेस्थित साबिकको सेक्टर र हालको सबडिभिजन वन कार्यालय सरकारी हो तर यो कार्यालयको मूल गेट व्यक्तिले सौजन्य गरेका छन् ।

गेट दिने पथरी बजारका काठ मिल सञ्चालक हुन् । फलामे गेटमा लेखिएको छ, ‘सेक्टर वन कार्यालय, मंगलबारे मोरङ, सौजन्य तेजबहादुरबुढाथोकी, पथरी शनिश्चरे ९ ।’

‘गेट बनाउन करिब ३० हजार रुपैयाँ लाग्यो,’ बुढाथोकीले भने, ‘गेट मैले आफ्नै मनले बनाइदिएको हुँ ।’ सेक्टर वन कार्यालयअन्तर्गत आठवटा सामुदायिक वन छन् । कार्यालयलाई आवश्यक पर्ने भौतिक सामग्रीको गर्जो तिनै सामुदायिक वन र काठ व्यवसायीले टार्दै आएको स्रोतको दाबी छ ।

कार्यालय प्रमुख तारणीप्रसाद चौधरी काठव्यवसायी बुढाथोकीले आफ्नै खुसीले गेट लगाइदिएको दाबी गर्छन् । कार्यालयलाई रहेको गेटको खाँचो बुढाथोकीले पूरा गरिदिँदा खर्च जोगिएको चौधरीको प्रतिक्रिया छ । मातहतका सामुदायिक वन उपभोक्ता समितिले कहिलेकाहीँ कार्यालयलाई आवश्यक पर्ने भौतिक सामग्री उपलब्ध गराउँदै आएको उनले स्विकारे ।

जाँते सबडिभिजन कार्यालयको मूल गेट पनि सिंहदेवी र वडारा सामुदायिक वन उपभोक्ता समितिले दिएका छन् । उक्त कार्यालयअन्तर्गत १६ वटा सामुदायिक वन उपभोक्ता समिति छन् । ती उपभोक्ता समितिले कार्यालयलाई दराज र फर्निचर पनि सहयोग गरेको कार्यालय प्रमुख दीपेश मिश्रले बताए । ‘समितिको आम्दानीले वन कार्यालयलाई भौतिक सामग्री सहयोग गर्नु अनौठो होइन,’ उनले भने, ‘भौतिक सामग्री सहयोग लिँदैमा समितिप्रति कार्यालय प्रभावित हुने सवाल हुँदैन ।’

बेलबारी सबडिभिजन कार्यालयलाई त्यहीँका सामुदायिक वन समूहले दराज, कुर्सी र पंखा उपलब्ध गराएका छन् । ‘कार्यालयको बजेटले किन्न पुग्दैन, त्यसैले सामुदायिक वनसँग मागेर गर्जो टार्दै आएका छौं,’ कार्यालय प्रमुख शत्रुघ्नप्रसाद देवले भने, ‘हाम्रो मातहत ६ वटा सामुदायिक वन छन् । तिनैले कार्यालयलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छन् ।’

सबडिभिजन कार्यालय लेटाङले पनि कार्यालयका लागि आवश्यक एउटा कम्प्युटर सामुदायिक वनसँग माग्ने तयारी गरेको कार्यालय प्रमुख सत्यनारायण झाले बताए । यो कार्यालयअन्तर्गत २३ वटा सामुदायिक वन समूह छन् । झाले भने, ‘कार्यालयलाई आवश्यक पर्दा तिनै वनले सहयोग गर्दै आएका छन् । कार्यालयसँग कहिलेकाहीँ कलमसमेत किन्ने बजेट हुँदैन ।’ चारकोसे जंगल संरक्षण जिम्मा लिएका वन समूहले आफूखुसी सखाप पार्दै आएको खबर सार्वजनिक भइरहेका बेला स्वयं कार्यालय नै वन समूहसँग प्रभावित हुँदै आएका यी उदाहरण हुन् ।

काठ व्यवसायीले सरकारी कार्यालयलाई फलामको गेट उपहार दिनु र सामुदायिक वनले कार्यालयको गर्जो टार्दै आउनुले चारकोसे जंगल अहिलेको स्वरूपमा आइपुग्नु हो । एक सामुदायिक वनका निवर्तमान अध्यक्षले भने, ‘यो प्रभावले वन समूहले निर्बाध रूपमा कटान आदेशभन्दा बढी रूख काट्ने र तस्करी गर्दै अएका छन् ।’

वन समूहले चारकोसे जंगलमा पर्ने वन कार्यालयलाई मात्र नभएर त्यहाँका सुरक्षा निकायलाई पनि काठ र आर्थिक सहयोग गरेर प्रभावमा पार्दै आएको पाइएको छ । जंगलसँगै जोडिएका बेलबारी, लेटाङ, केराबारी र पथरीलगायत प्रहरी कार्यालय परिसरमा निर्माण भएका हावा महल र फलैंचामा विभिन्न सामुदायिक वनको नाम सौजन्यमा उल्लेख छ ।

आफ्नो वन समूहले यसैपालि इप्रका बेलबारीको हावामहल निर्माणका लागि २८ हजार ४ सय २६ रुपैयाँ र बेलबारीमै ट्राफिक प्रहरी भवन निर्माणका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको बेलबारी–२ को वागदेवी सामुदायिक वन उपाध्यक्ष भोला नेपालले बताए । स्रोतका अनुसार बेलबारी क्षेत्रमा रहेका प्रायः सबै वन समूहले त्यसका लागि प्रहरीलाई काठ र आर्थिक सहयोग पुर्‍याएका छन् ।

स्रोतले भन्यो, ‘प्रहरीलाई वन समूहले आर्थिक र भौतिक सहयोग गर्नु भनेको जंगलमा प्रहरीको आँखा कम पुग्नु हो ।’ मोरङका प्रायः सबै सबडिभिजन वन कार्यालय स्रोतसाधन सम्पन्न भएको डिभिजन वन प्रमुख विशाल घिमिरे बताउँछन् । ‘सबै कार्यालयमा आवश्यक फर्निचर र उपकरण पठाइएको छ,’ उनले भने, ‘बजेट धेरै हुँदैन तर जति भए पनि ती कार्यालयलाई सञ्चालन बजेट समानुपातिक रूपमा पठाइएको छ ।’

न्यून बजेट भएकाले अपुग हुँदा वन समूहसँग सहयोग लिनुलाई अनौठो मान्न नहुने उनको तर्क छ । ‘पर्याप्त बजेट उपलब्ध भए वन समूहसँग भिख माग्नुपर्ने अवस्था आउँदैन,’ उनले भने । वन समूहले कार्यालयलाई गेट, फर्निचर र आर्थिक सहयोग उपलब्ध गराउनु अपराध नभएको उनको भनाइ छ । ‘जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा विभिन्न उद्योगी व्यवसायीले सौजन्य गरेका सीसीटीभी, टेलिभिजन र फर्निचर राख्न हुने,’ घिमिरेले भने, ‘तर वन समूहले उपलब्ध गराएका भौतिकसामग्री वन कार्यालयले राख्न नहुने रु’

कागजी रूपमा अझै पनि ५५ हजार ५ सय हेक्टर जमिनमा रहेको चारकोसे जंगल अतिक्रमणमा परी ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको तथ्यांक छ । भूसूचना प्रणाली (जीआईएस) ले दुई वर्षअघि सार्वजनिक गरेको नापी सर्वे प्रतिवेदनमा उक्त क्षेत्रफल उल्लेख छ ।

बाँकी रहेको चारकोसे जंगल पनि सरकारले संरक्षणका लागि २०५५ सालदेखि चारकोसे वन सामुदायिक र साझेदारी समूहलाई हस्तान्तरण सुरु गरेको हो । अहिले सम्म १ सय ३४ वटा सामुदायिक र चारवटा साझेदारी समूहलाई २७ हजार ७ सय ९० हेक्टर चारकोसे जंगल हस्तान्तरण गरिसकेको छ ।

हस्तान्तरण गरिएको जंगलका रूख अनधिकृत रूपमा कटान गरेर वन क्षेत्र सखाप बनाएको, वितरण प्रणाली र आर्थिक कारोबार पारदर्शी नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले ४६ वटा सामुदायिक वनविरुद्धका उजुरीको अनुसन्धान गरिहेको छ । सामुदायिक वन उपभोक्ता समितिले रेखदेख गरेबापत त्यहाँका काठ–दाउरा बेच्छन् ।

समितिले बिक्रीबाट हुने आम्दानीको १५ प्रतिशत मात्र सरकारलाई राजस्व बुझाए पुग्छ । त्यसैगरी साझेदारी वन समूहले आम्दानीको ५० प्रतिशत राज्यलाई बुझाउँछ । बाँकीमा उपभोक्ता समितिको हालीमुहाली हुँदै आएको छ । चारकोसे जंगलका सामुदायिक र साझेदारी वनले गत वर्ष ११ करोड २२ लाख ४ हजार ३ सय रुपैयाँ राजस्व बुझाएका छन् ।

गत वर्ष वैज्ञानिक वन कार्यक्रम सुरु भएका २५ सामुदायिकबाट १ लाख ५४ हजार ७ सय ४५ क्युबिक फिट, नभएका ६३ वटाबाट ८२ हजार १ सय ६५ क्युबिक फिट, विभिन्न ८७ वटा समूहबाट २ लाख ३६ हजार ९ सय १० क्युबिक फिट, साझेदारी वनबाट १ लाख ६९ हजार ३ सय ६५ क्युबिक फिट काठ र ४ सय ६ चट्टा दाउरा निकालिएको तथ्यांक छ ।

राष्ट्रिय वनबाट १८ हजार ४ सय ५१ क्युफिट काठ र १५ चट्टा दाउरा निकालिएको थियो भने धार्मिक वनबाट १ हजार १ सय ५० क्युफिट काठ र डेढ चट्टा दाउरा निस्किँदा सरकारलाई प्राप्त राजस्व बजारभाउका तुलनामा थोरै हो । राजस्वमा जम्मा गरेको भन्दा तीन गुणा बढी आम्दानीमा उपभोक्ता समितिका पदाधिकारीले हालीमुहाली गरेको स्रोतको दाबी छ ।

वन कर्मचारी अब प्राविधिक सहयोगी मात्र
नयाँ संरचनाअनुसार सेक्टर वन कार्यालयहरू सबडिभिजनमा परिणत भएसँगै कर्मचारीको जिम्मेवारी पनि कटौती भएको सम्बद्ध अधिकारीहरूको भनाइ छ ।

पहिला काठ तस्कर र वन फँडानी गर्नेलाई पक्राउ गरेर मुद्दा चलाउनेसम्मको अधिकार थियो । सबडिभिजन मंगलबारेका प्रमुख तारणी चौधरीले भने अहिले नयाँ संरचनामा ती दुवै अधिकार कटौती भएर वन समूहलाई प्राविधिक सहयोग मात्र गर्ने जिम्मेवारी छ ।

अघिल्लो संरचना हुँदा यो कार्यालयले हरेक दिनझै तस्करीको काठ, संलग्न मानिस र प्रयोग गरिएका ढुवानीका साधन पक्राउ गर्दै आएको थियो । चौधरीले भने नयाँ संरचनापछि कार्यालयमा एउटा पनि वनसम्बन्धी मुद्दा छैनन् । यो कार्यालयले अघिल्लो संरचनामा नियन्त्रणमा लिएका काठ तस्करीमा प्रयोग गरिएका यात्रुबस, ट्रक र ट्र्याक्टर अझै पनि लिलाम गर्न नसकेको चौधरीको भनाइ छ ।

सबडिभिजन कार्यालय लेटाङले भने नयाँ संरचनाअनुसार एउटा मुद्दा जिल्ला अदालतमा दर्ता गरेको कार्यालय प्रमुख सत्यनारायण झाले बताए । कटान आदेशभन्दा बढी रूख काटेको आरोपमा लेटाङ २ स्थित सामुदायिक वन समूहविरुद्ध मुद्दा दर्ता भएको हो ।

समूहलाई ४४ वटा रूख कटान गर्ने अधिकार थियो तर ५५ वटा काटेको थियो । झाले भने, ‘अहिले कर्मचारीलाई वनको निरीक्षण, अनुगमन गरेर समूहलाई प्राविधिक सहयोग गर्न मात्र जिम्मेवारी दिइएकाले तस्करी र फँडानी भए पनिरोक्न सक्ने अवस्था छैन ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।