५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आप्रवासीका विषयमा मेक्सिको, ग्वाटेमालाबीच छलफलको तयारी



अ+ अ-

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुअल लोपेज ओब्राडोरले ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपति अलेजान्द्रो जियामाटीसँग चाँडै आप्रवासन र विकासका विषयमा छलफल गरिने बताएका छन् । मेक्सिकोका अधिकारीहरुले आप्रवासीका विषयमा एल साल्भाडोर र होन्डुरसका नेताहरुसँग वार्ता गरिसकेका छन् ।

राष्ट्रपति ओब्राडोरले क्षेत्रीय विकास र मध्य अमेरिकी मुलुकहरुबाट अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीका विषयमा मध्य अमेरिकी मुलुकका नेताहरुसँग परामर्श गरिरहेको पनि जानकारी दिए। मेक्सिकोको दक्षिण प्रान्त ओक्सानाको भ्रमणका क्रममा राष्ट्रपति ओब्राडोरले उक्त धारणा राखेका हुन ।

आगामी जनवरीमा सत्ताको बागडोर सम्हाल्न लाग्नुभएका ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपति जियामाटीलाई ओब्राडोरले ओक्सानामा भेट्ने कार्यक्रम समेत रहेको छ । “हामी एल साल्भाडोर र होन्डुरसलाई विकासका कार्यहरुमा मद्दत गरिरहेका छौं र ग्वाटेमालालाई पनि सहयोग गर्नेछौं । म ग्वाटेमालाका नवनिर्वाचित राष्ट्रपतिलाई एक दुई दिनभित्रै भेट्दैछु,” ओब्राडोरले संवाददाताहरुलाई बताए ।

गरिबीको चपेटामा परेका दक्षिणी मेक्सिको र मध्य अमेरिकी राष्ट्रका जनता पछिल्ला वर्षहरुमा अमेरिकातर्फ पलायन हुनेक्रम बढेको छ । राष्ट्रपति ओब्राडोरले भने, “हामीले दक्षिण, दक्षिणपूर्वी मेक्सिको र छिमेकी मुलुकहरुको विकासका लागि गरिबी निवारण कार्यक्रमहरु सञ्चालन गर्न लागेका छौं ।

जनताले रोजगारी भएको खण्डमा उनीहरु अन्यत्र पलायन हुन पक्कै चाहँदैनन् ।” ग्वाटेमाला र मेक्सिकोबीच झण्डै ९६३ किलोमिटर सीमा छ । ग्वाटेमालाका लागि मेक्सिको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो ।