काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’को उपस्थितिमा गृह मन्त्रालयमा सोमबार आयोजित समारोहमा गृह सचिव प्रेम कुमार राईबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग कार्यसम्पादन सम्झौता, २०७६ मा हस्ताक्षर सम्पन्न भएको छ ।
गृह मन्त्री थापाले सम्झौताले आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकोले उत्कृष्ट नतिजा ल्याउन खरो रुपमा उत्रिन संकल्प गर्नुपर्ने बताए । राज्यले लक्ष्य राखेको विकास र समृद्धि हासिल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे ।
राज्यको लक्ष्य प्राप्ति र सुशासनलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । गृह मन्त्री थापाले सम्झौता हामीले गर्ने कामको एक विधिको साथै क्षमताको मूल्याङ्कनको आधार भएकोले राम्रो काम गरे राम्रो मूल्याङकन, बृत्तिविकास र नेतृत्व विकास हुने बताए ।